Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुखुराको जोडी चल्लालाई ५ हजार

   
145   पटक पढिएको

बागलुङ । दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित ।

सबै गर्दा सङ्ख्या सात सय बढी छ । बागलुङ नगरपालिका ३ रातामाटास्थित फार्मका सञ्चालक बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जाततर्फ साकिनी, उल्टे, घाँटीखुइले र गुजुमुजे कुखुरा छन् । आयातित प्रजातिमा कडकनाथ, बेन्टम, सिल्की र पोलिस कुखुरा छन् । यस्तै चरा प्रजातिका बट्टाइ र टर्की पनि पालिएको छ ।

कडकनाथ भारतीय, बेन्टम जापनीज र सिल्की चिनियाँ प्रजातिको कुखुरा भएको उनी बताउँछन् । “बेन्टम, सिल्की र पोलिस बढीजसो सौखका लागि पाल्ने चलन छ”, उनले भने ।

सापकोटाले व्यावसायिक रुपमा चल्ला उत्पादन गरेर बेच्ने ध्येयले विदेशी प्रजातिका कुखुरा पालेका हुन् । फार्ममा चल्ला निकाल्ने ह्याचरी पनि छ ।

“मासुका लागि भन्दापनि चल्ला बेच्ने उद्देश्य हो”, उनले भने, “काठमाडौँ, पोखरालगायतका ठाउँमा यी कुखुराको बढी माग छ ।” महिनादिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई पाँच हजार पर्ने उनको भनाइ छ ।

यस्तै दुई महिनाका जापनीज बेन्टम कुखुराको जोडीलाई रु. चार हजार पर्छ । उनले भने, “यी कुखुराको चल्ला नै एकदम महँगो छ, हेर्दा पनि आकर्षक हुने हुनाले सौखिन व्यक्तिले घरमा लगेर पाल्छन् ।”

स्थानीय जातका कुखुरासँगै कडकनाथ, बट्टाइ र टर्की भने मासुका लागिसमेत फार्मबाट बिक्री भइरहेको छ । भारतीय जातको कडकनाथ प्रतिकिलो दुई हजारसम्म बेचेको सापकोटाले सुनाए ।

कडकनाथको अण्डासमेत महँगोमा बिक्री हुन्छ । यो कुखुरा स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ । पछिल्लो समय बट्टाइ पनि मासु र अण्डाका लागि व्यावसायिक रुपमा पाल्न थालिएको छ । यसको मासु र अण्डालाई शक्तिबद्र्धक मानिन्छ ।

यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने विश्वास गरिन्छ । “बट्टाइ रु. तीन सय, चल्ला रु। ५० र अण्डा रु. १० मा बिक्री भइरहेको छ”, सापकोटाले भने, “एक दिने टर्कीको चल्लालाई भने तीन सय ५० पर्न जान्छ, मासुका लागि बेच्दा पनि महँगो छ ।”

बट्टाइ पाँच हप्तापछि मासुका लागि प्रयोग गर्न योग्य हुन्छ । दुई वर्षसम्म बाँच्ने बट्टाइले झण्डै तीन सयसम्म अण्डा दिने गर्छ । त्यसपछि भने पोथी बट्टाइलाई पनि मासुका रुपमा बेच्न सकिने उनले बताए ।

उनले शुरुमा काठमाडौँ र पोखराबाट चल्ला ल्याएर पन्छी पालन थालेका हुन् । स्थानीय साकिनी जातको कुखुरापालनबाट छोटो अवधिमा सफलता मिलेपछि नयाँनयाँ जातका कुखुरा र पक्षीपालनमा रुची जागेको व्यवसायि सापकोटाले उल्लेख गरे ।

उनले फाइटर जातको कुखुरा पनि छिट्टै ल्याउन लागेको सुनाए । आफ्नै लगानीमा ह्याचरी सञ्चालनमा ल्याएपछि व्यवसाय थप विस्तार भएको उनको भनाइ छ । यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर चल्ला ल्याउनुपर्ने उहाँको बाध्यता थियो ।

ह्याचरीमा १०५६ अण्डा राख्न मिल्छ । २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ । शुल्क तिरेर अरु कुखुरापालक किसानले पनि ह्याचरीमा चल्ला उत्पादन गर्न थालेका छन् ।ह्याचरीमा रु. तीन लाख लगानी भएको उनले बताए ।

त्यसअघि कुखुराको खोर निर्माणमा भेटेरिनरी अस्पताल तथा पुश विज्ञ सेवा केन्द्रले रु। दुई लाख ३६ हजार अनुदान दिएको थियो । व्यवसाय प्रवद्र्धनमा सापकोटालाई छोरा निशानको दरिलो साथ छ ।

व्यवस्थापकीय कामदेखि अण्डा र चल्लाको बजारीकरणमा उनी बुबासँगै खटिन्छन् । पोखरा, काठमाडौँ, रसुवालगायतका ठाउँबाट स्थानीय जातका चल्लाको माग आउने गरेको निशानले बताए ।

पछिल्लो समय स्थानीय जातका कुखुरापालनतर्फ किसानको आकर्षण बढेको छ । ती कुखुराको मासु, अण्डा स्वादिष्ट र स्वस्थकर हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्थानीय जातको ज्यूँदो कुखुरा प्रतिकिलो रु. आठ सय, अण्डा रु. १५ र एक साताको चल्ला रु. एक सय २५ मा बिक्री हुन्छ । स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच÷छ महिनापछि मात्र बेच्न योग्य हुन्छ ।

उन्नत जातका कुखुरालाई नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने सापकोटाको भनाइ छ । कुखुरापालनबाट मासिक रु. ५० हजारसम्म मुनाफा निकाल्न सापकोटा सफल भएका छन् ।

लगानी बढाएर कुखुरापालन व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने उनको योजना छ । कुखुरापालनसँगै सापकोटाले तीन रोपनी क्षेत्रफलमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका छन् ।source- dharatalonline.com

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया