Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एमसीसी पास गर्ने निर्णय फिर्ता लिन पाँच विद्यार्थी संगठनको संयुक्त माग (बक्तब्य सहित )

   
119   पटक पढिएको

भदौ २९। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) लगायत पाँच विद्यार्थी संगठनले एमसीसी पास गर्ने सत्तारुढ नेकपाको निर्णय फिर्ता लिन माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी विद्यार्थी संगठनहरुले कम्युनिष्टका नाममा साम्राज्यवादको दलाली नगर्नसमेत नेकपालाई चेतावनी दिएका छन् ।

लामो समयदेखि विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन परियोजना (एमसीसी) नेकपाले स्थायी कमिटी बैठकबाट हालै पास गर्ने निर्णय गरेको थियो ।
विद्यार्थी संगठनहरुले ‘हरेक वर्ष खर्च हुने ११ अर्बको लागि देशको सार्वभौमसत्ता, राष्ट्रियतालाई तिलाञ्जली दिने सत्ताधारी दलको निर्णयले देशमा राजनीतिक द्वन्द्व निम्त्याउने, साम्राज्यवादीहरुलाई परेड खेल्ने मैदान उपलब्ध गराउने खतरनाक वातावरणको सिर्जना गरेको’ आरोप लगाएका छन् ।

यस्तो छ विज्ञप्ति

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजना संसदबाट पास गर्ने निर्णय गरेकोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । एमसीसी परियोजना अमेरिकाले अगाडि सारेको सैन्य रणनीतिको अंग हो भन्ने कुरा बारम्बार अमेरिकी अधिकारीहरुले भन्दै आएका छन् । अमेरिकी रणनीतिक स्वार्थलाई नेपालमा लागु गराउने उद्देश्यले एमसीसी परियोजना अगाडि सारिएको हो । सरकारले अमेरिकी साम्राज्यवादको दलाली

गरेको छ र नेपाल र नेपाली जनताप्रति गद्दारी गर्ने बृहत् तयारी गरेको छ ।एमसीसी परियोजनाका विरुद्धमा देशभक्त नेपालीहरुले लामो समयदेखि संघर्ष गर्दै आएका छन् । तर साम्राज्यवादीहरुको स्वार्थ पूरा गर्नको लागि नेकपा र देशभित्रको गिरोह लगातार सक्रिय रहनु आपत्तिजनक विषय हो । एमसीसी नेपालको परराष्ट्रनीतिको विरुद्ध छ ।

देशमा एमसीसीको विरुद्ध यति ठूलो जनमत हुँदाहुँदै जबर्जस्ती पारित गर्न खोजिनु देश र जनताविरुद्धको षड्यन्त्र र धोका हो ।
हरेक वर्ष खर्च हुने ११ अर्बको लागि देशको सार्वभौमसत्ता, राष्ट्रियतालाई तिलाञ्जली दिने सत्ताधारी दलको निर्णयले देशमा राजनीतिक द्वन्द्व निम्त्याउने, साम्राज्यवादीहरुलाई परेड खेल्ने मैदान उपलब्ध गराउने खतरनाक वातावरणको सिर्जना गरेको छ । कम्युनिष्टको नाममा साम्राज्यवादको दलाली गरिनु देशकै कम्युनिष्ट आन्दोलनको लागि ठूलो लज्जाको विषय हो ।

संसदबाट एमसीसी पारित नगर्नको लागि सभामुखलाई ज्ञापनपत्र बुझाउने जानकारी गराउँछौं । सत्ताधारी दलको उक्त निर्णयको विरोधमा एक जुट हुनको लागि सम्पूर्ण देशभक्त जनता, विद्यार्थी र आम जनसमुदायलाई संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट हार्दिक अपील गर्दछौं । एमसीसीका विरुद्ध विभिन्न चरणबद्ध संघर्षका कार्यक्रम गर्ने जानकारी गराउँछौं ।’

विमल पोखरेल, अध्यक्ष, अखिल (छैठौं)
चिरञ्जीवी ढकाल, अध्यक्ष, अखिल (क्रान्तिकारी)
आलोक रायमाझी, अध्यक्ष, अखिल (क्रान्तिकारी)
घनश्याम मिश्र, अध्यक्ष, अखिल (पाँचौं)
मनिष भट्टराई, सचिवालय सदस्य, अनेवियु

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया