Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राजधानीको हावामा तीन मिनेट बाँच्न कठिन !

मानिस खानाविना तीन साता र पानीविना तीन दिन बाँच्न सक्छ, तर हावाविना तीन मिनेट पनि बाँच्न सक्दैन

   
1225   पटक पढिएको

काठमाडौं, मंसिर १७-काठमाडौंमा ४५ लाख, ललितपुर र भक्तपुरमा १५ लाख गरी उपत्यकाको जनसंख्या करिब ६० लाख पुगेको छ । उपत्यकाको जनसंख्या वृद्धिदरलाई एसियामै उच्च मानिन्छ । दिनप्रतिदिन बढिरहेको जनसंख्याकै कारण द्रूत सहरीकरण बढेको छ र त्यसले अनेक खालका वातावरणीय समस्या निम्त्याएका छन् । सहज र उच्च जीवनशैलीका लागि देशभरबाट नागरिक राजधानी आउँछन्, तर तिनले त्यसको सट्टा पाउँछन् धुवाँ, धुलो, दुर्गन्ध, प्रदूषित ढल र खोला ।

वायु प्रदूषणको मुख्य कारक उपत्यकाको भौगोलिक अवस्था पनि हो । चारैतिर डाँडाले घेरिएको र बीचमा कचौराजस्तो आकारमा गहिरो खाल्डो भएकाले उपत्यकामा वायु प्रदूषण हुने वातावरणविद्को भनाइ छ । उनीहरूका अनुसार दिनभरको धुलो र धुवाँ साँझ उत्सर्जन भई प्रदूषित वायु आकाशमा गई रातभर चिसिने र बिहानपख तल झर्ने भएकाले सो समय वायु धेरै प्रदूषित हुने गर्छ ।

प्रदूषण आकाशमा फैलिएर उपत्यका बाहिर जान असमर्थ हुने र प्रदूषित वायु पचाउन पनि नसक्ने अवस्थाले मानिसमा रोगको संक्रमण बढिरहेको हो । त्यस्तै जनसंख्या र सवारी साधनको संख्या उच्च चाप, घनाबस्ती, फोहोरको उचित व्यवस्थापन नहुनु, नदीमा ढल र फोहर मिसाइनु, जथाभावी सडक खन्नु, समयमै मर्मत र कालोपत्रे नहुनु, उपत्यकाभित्र इँट्टाभट्टाजस्ता धुवाँ फाल्ने उद्योग हुनु पनि प्रदूषणका कारक हुन् ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले २०७३ माघ १३ मा सर्वोच्च अदालतमा सरोकारवाला १८ निकायलाई विपक्षी बनाएर वातावरणकै विषयमा मुद्दा दायर गरे । सर्वोच्चले माघ १७ मा उपत्यकामा वायु प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर परेकाले उपत्यकाभित्र मेलम्ची खानेपानी पाइप राख्ने, ढल विस्तार र सडक विस्तारसमेत एकैसाथ भएकाले मापदण्डभन्दा कयौं गुणा बढी प्रदूषण हुँदा भयावह अवस्था सिर्जना भएको भन्दै उक्त काम छिटो सक्नू भनी अन्तरिम आदेश दिएको थियो । आदेशअनुसार सरकारले कार्यान्वयन गर्न व्यवधानसमेत नफुकाएको श्रेष्ठको गुनासो छ । २०७४ पुस ४ गते निर्णय सुनाउने अन्तिम फैसलाका लागि मिति तोकिएको छ ।

उपत्यकाको वायु प्रदूषणको अवस्था विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायु पीएम २.५ पच्चीस माइक्रोग्राम प्रतिघनमिटरभन्दा कम भए वातावरण प्रदूषित हुँदैन । नेपाल सरकारको मापदण्ड फरक छ, पीएम २.५ चालीस माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ, तर पछिल्लो पाँच वर्षमा ९० माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने गरेको छ । वायु प्रदूषणका कारण हुने रोगहरू श्वासप्रश्वास, दम, मुटु रोग, स्ट्रोक आदिबाट प्रत्येक वर्ष १० हजार मानिसले ज्यान गुमाउने गरेका छन्।

त्रिभुवन विश्वविद्यालयको नेसनल एट्मोस्फेयरिक रिसोर्स एन्ड इन्भाइरोमेन्टल रिसर्च ल्याबोरेटोरीका प्रमुख वैज्ञानिक डा. रामप्रसाद रेग्मीले २०५८ सालमा गरेको अध्ययनअनुसार विश्व स्वास्थ्य संगठनको मापदण्ड ४० माइक्रोग्राम पर क्युबिक मिटर हुँदा काठमाडौंमा त्यो ५२ प्रतिशतले बढी भएको देखाएको थियो ।

काठमाडौंमा २००४ सालदेखि सवारी-साधन दर्ता प्रक्रिया सुरु भएको थियो । तर २००७ सालदेखि ट्राफिक व्यवस्थापनका लागि राम दलको स्थापना भएको देखिन्छ ।

जमिनबाट दुई सय ५० मिटर माथिसम्म प्रदूषित हावाको तह भएकाले बनेपा र पनौतीसमेत जोखिममा रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘२०५८ सालमा बनेपासहित १४ लाख जनसंख्या हुँदा वार्षिक ३६ हजार किलोलिटर पेट्रोल, ५४ हजार किलोलिटर डिजेल, ८४ हजार किलोलिटर मट्टीतेल र नौ मेट्रिक टन एलपी ग्याँस खपत हुन्थ्यो ।’

नेपाल आयल निगमको आव २०७३÷७४ को तथ्यांकअनुसार पेट्रोल चार लाख सात हजार दुई सय ७८ किलोलिटर, डिजेल १३ लाख १९ हजार आठ सय ७३ किलोलिटर, मट्टीतेल १९ हजार ६ सय सात किलोलिटर र तीन लाख १२ हजार नौ सय २८ मेट्रिक टन एलपी ग्याँस खपत भएको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया