Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पूर्वी रुकुमः जहाँ फोनमा पनि लोडसेडिङ हुन्छ

   
1205   पटक पढिएको

बिजुलीमा लोडसेडिङ नेपालीका लागि नौलो कुरा होइन तर नेपालको कान्छो जिल्ला भनेर चिनिने पूर्वी रुकुममा फोनमा लोडसेडिङ हुन्छ भनेको सुन्दा तपाईँलाई पत्यार नलाग्न सक्छ। तर, यो वास्तविकता हो।

 पूर्वी रुकुमका गाउँमा बल्लतल्ल मोबाइल फोन पुगेको छ, त्यसमा पनि लोडसेडिङ हुन्छ ।

‘विहान घाम लागेपछि मोबाइलको नेटवर्क आउने र साँझ परेपछि जाने त सामान्य नै हो तर कहिलेकाही त तीन चार दिनसम्म पनि फोन नेटवर्क आउँदैन’, भूमे गाउँपालिका काँक्रीका रजमान पुनले भने, ‘यहाँ त फोनमा पनि लोडसेडिङ हुन्छ।’

पूर्वी रुकुममा राखिएका नेपाल टेलिकमका टावरहरु कम क्षमताका हुनु र टावरसम्म विद्युत नपुग्नु ठूलो समस्याको रुपमा देखिएको छ। विद्युत नपुग्दा सोलारका भरमा चलेका टेलिफोन टावर साँझ परेसँगै विद्युतविहीन हुन्छन् र काम गर्न छाड्छन्। जसले गर्दा टावरमा जडान गरिएका उपकरण बारम्बार बिग्रने समस्याले केही दिनसम्म फोन नै नआउने गरेको नेकपा माओवादी केन्द्र पूर्वी रुकुमका इञ्चार्ज तेजबहादुर ओलीले बताए। सेपेको लेकमा रहेको मुख्य टावरको क्षमता विस्तार गरेपछि पूर्वी रुकुमको धेरै समस्या समाधान हुने उनले बताए।

त्यसो त मंसिर १० गतेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका बेला पूर्वी रुकुमका गाउँ पुग्ने उम्मेदवारसँग प्रायः सबै मतदाताले टेलिफोनकै समस्या राखेका थिए। सबै उम्मेदवारले यो समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। ‘सबै उम्मेवारले चुनाव जितेको छ महिनाभित्र यो समस्या समाधान गर्छौं भनेका छन्’, पुथा उत्तरगंगा गाउँपालिका कोलका राकम बुढाले भने, ‘फोन सुविधा पु¥याएनन् भने अब आन्दोलन गर्ने चेनावनी पनि हामीले दिएका छौं।’

७७ औं जिल्लाका रुपमा परिचित पूर्वी रुकुममा तीन गाउँपलिका रहेका छन्। जसमध्ये सिस्ने गाउँपालिकामा फोन सुविधा केही सहज देखिए पनि भूमे र पुथा उत्तरगंगामा सबैभन्दा बढी समस्या रहेको स्थानीयले बताएका छन्। उनीहरुले यो समस्या तत्काल समाधान गर्न माग समेत गरेका छन्।

भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले आफूहरुले गाउँपालिकाका सबै गाउँमा टेलिफोन सेवा सहज बनाउने र गाउँपालिका तथा वडा कार्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी गरिरहेको बताए। इन्टरनेट सेवाका लागि केही बजेट विनियोजन पनि गरिएको उनले बताए।

कान्छो जिल्ला पूर्वी रुकुममा अहिलेसम्म नेपाल टेलिकमको कार्यालयसमेत स्थापना हुन सकेको छैन। एनसेललगायतका अन्य कम्पनीले पनि यो जिल्लामा सेवा प्रवाहका लागि ध्यान दिन सकेका छैनन्।

२०६८ सालको जनगणनाअनुसार झण्डै ५८ हजार जनसंख्या रहेको जिल्लाको विकासमा अब राज्यको ध्यान जानुपर्ने स्थानीयको माग छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया