Arghakhanchi Bulletin : The Fastest News Publisher

वसन्त पर्वपछि सीको ‘सरप्राइज’ नेपाल भ्रमण?

   
1259   पटक पढिएको

चिनियाँ राष्ट्रपति सी चिनफिङको गत वर्ष हुनै आँटेको भ्रमण स्थगित भएपछि नेपालले पनि अब उनको स्वागतको अर्को साइत हेरिरहेको छ। त्यो साइत कतिखेर जुर्छ, यकिन त छैन तर नेपालमा पूर्वानुमान र विश्लेषणहरू हुन थालेबाट छिटै हुन्छ कि भन्ने हुट्हुटी चढ्न थालिसकेको छ।

गत वर्षको भ्रमण किन रोकियो र चिनियाँ राष्ट्रपतिको भ्रमण अब किन हुन्छ? अथवा किन हुँदैन? हुनैपर्छ वा नभएपनि हुन्छ? विशेषज्ञहरूको गणितीय ग्रन्थी सक्रिय हुन थालेको छ। स्रोतलाई उधृत गर्दै संचारमाध्यमहरूले खोतलेका समाचार कति सार्थक हुन्छन् भन्ने त समय आएपछि मात्रै ठोकुवा गर्न सकिन्छ।

सन् २०१८ को मार्चमा चिनियाँ राष्ट्रपति सीले कार्यालय सम्हालेको ठ्याक्कै पाँच वर्ष पूरा हुन्छ। उनको दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले अनुमति दिइसकेको छ। आगामी मार्चमा हुने दुई ठूला अधिवेशनको एउटा काम भनेको सीको दोस्रो कार्यकाललाई अनुमोदन गर्नु पनि हुनेछ।

हरेक वर्ष मार्चमा चिनियाँ दुई ठूला अधिवेशन हुन्छन्। ३ तारिखदेखि चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र मार्च ५ देखि चिनियाँ जनकाङ्ग्रेस (एनपीसी) को अधिवेशन हुन्छ। यी सम्मेलनहरू ११ दिनभन्दा बढी पनि चल्छ सक्छन्।

त्यसकारण चिनियाँ नयाँ वर्ष ‘वसन्त पर्व’ को आरम्भसँगै नेताहरूको व्यस्तता सम्मेलनमा हुने भएकाले त्यसअघि नेपाल यात्रा हुने कुनै संभावना देखिँदैन। त्यसो भए अधिवेशन सकिएपछि दोस्रो कार्यकालको ‘श्रीगणेश’ गर्दा राष्ट्रपति सी चिनफिङले नेपाललाई विदेश भ्रमणको पहिलो गन्तव्य बनाएर ‘सरप्राइज’ देलान् त?

सन् २०१३ मा राष्ट्रपतिमा चयन भएपछि सीले मार्च तेस्रो सातादेखि करीब एक साता लामो विदेश भ्रमण गरेर अन्तर्राष्ट्रिय कूटनीति थालेका थिए। त्यो वर्ष अधिवेशन सकेर मार्च २२ मा रसिया पुगेका सीले मार्च २६–२७ सम्म दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलन र कसैले सहजै कल्पना नगरेका दुई अफ्रिकी मुलुक तान्जानिया र कङ्गो भ्रमण गरेर ती देशको गरिमा बढाइदिए। कार्यकालको शुरूवातमै पहिलो गन्तव्य मस्को हुनुलाई एशियामा अमेरिकी दबदबाको टक्करको रूपमा हेरियो। यसरी दोस्रो कार्यकालमा विश्वलाई चकित बनाउँदै सीले नेपालमा भारतीय दबदबालाई टक्कर दिने प्रयास गर्लान् त?

घुमुवा राष्ट्रपति तर परिणाममुखी
राष्ट्रपति सी चिनफिङ सन् १९४९ यता चिनियाँ कम्युनिष्ट पार्टीका नेतामध्ये सर्वाधिक घुमुवा नेतामा पर्छन्। सन् २०१३ मा उनले १४ मुलुक घुमे। जबकी एक दशक लामो कार्यकालमा अघिल्ला राष्ट्रपति हु चिन्थाउले जम्मा ७ मुलुक मात्रै घुमेका थिए।

सन् २०१३ मार्चमा रसिया, तान्जानिया, दक्षिण अफ्रिका र कंगो, जुनमा ट्रिनिटाड एण्ड टोबागो, कोस्टारिका, मेक्सिको र अमेरिका, सेप्टेम्बरमा तुर्कमेनिस्तान, कजाखस्तान, किर्गिजस्तान र उज्वेकिस्तान, अक्टोवरमा इण्डोनेशिया र मलेसिया घुमे।

सन् २०१४ मार्चमा नेदरल्याण्ड, फ्रान्स, जर्मन र बेल्जियम, जुलाईमा दक्षिण कोरिया, ब्राजिल, अर्जेन्टिना, भेनेजुयला र क्युवा, अगष्टमा मंगोलिया, सेप्टेम्बरमा ताजिकिस्तान, माल्दिभ्स, श्रीलंका र भारत र नोभेम्बर महिनामा अष्ट्रेलिया, न्यूजिल्याण्ड र फिजीको भ्रमण गरे।

सन् २०१५ का सी चिनफिङका गन्तव्यहरूमध्ये अप्रिलमा पाकिस्तान र इण्डोनेशिया, मेमा काजाखस्तान, बेलारूस र रसिया, सेप्टेम्वरमा अमेरिका, अक्टोवरमा बेलायत, नोभेम्वरमा भियतनाम, सिंगापुर र फ्रान्स, नोभेम्वरमा टर्की र फिलिपिन्स र वर्षको अन्त्य अर्थात् डिसेम्वरमा जिम्वावे र दक्षिण अफ्रिका परेका थिए।

सन् २०१६ मा साउदी अरेबिया, इजिप्ट र इरान तथा मार्च महिनामा चेक गणतन्त्र भ्रमण गरे भने सन् २०१७ मा स्वीट्जरल्याण्ड, भियतनाम लगायत देशको भ्रमण गरेका छन्।

यसरी हेर्दा चिनियाँ राष्ट्रपतिको भ्रमण गन्तव्य कतिपय त चीनसँग सरोकार नराख्ने मुलुकहरूमा पनि भएको छ। सबै मुलुकमा उनले उच्चस्तरीय विदेश नीतिको प्रभाव छाडेका छन्। व्यापार वाणिज्यगत सम्पर्क राख्ने भन्दा पनि राजनीतिक प्रभाव मुखरित गरेका छन्। नेपालको अप्रत्यासित भ्रमण भएमा कूटनीतिक हिसावले केही त्यस्तो अद्भूत प्रभाव छोड्ला त?

सी भन्दा अघिल्ला राष्ट्रपति हुको कार्यकालको नीति दोधारे ठानिन्थ्यो। कतिपय विश्लेषकहरू हुले भनेको सुन्ने कि परराष्ट्र मन्त्रालयले भनेको सुन्ने भन्नेमा अलमलमा पर्थे। अहिलेको जस्तो परिपक्व दृष्टिकोण त्यतिखेर त्यति देखिँदैन थियो। त्यसैले पनि विश्वले सीको हाउभाउ र शब्द शब्दमा चलाखीपूर्ण कान तेर्स्याइरहेको हुन्छ।

अहिले विश्वले बुझेको कुरा हो, यदि चीनसँग ‘डिल’ गर्नु छ भने सिधै सीसँग ‘डिल’ गर्नुपर्छ। बेल्ट एण्ड रोड इनिसियटिभ्सलाई मूर्तरूप दिनका लागि नेपालले चिनियाँ पक्षबाट ढाडस पनि खोजिरहेको छ, यस्तो महत्वाकांक्षी परियोजनाको ‘डिल’ गर्न सीले आफैं नेपालको भ्रमण गर्नसक्छन् भनेर विश्वास गर्ने धेरै आधार छन्।

सीलाई एक कडा मेहनती नेताका रूपमा चित्रण गरिन्छ। उनको बलबुताले चीनको वैदेशिक महत्वाकांक्षा र चीनप्रतिको अवधारणा परिवर्तन गर्न र देश विदेशमा छाप छोड्न सफल भएको छ। पार्टीको नेतृत्वमा उक्लिए लगत्तै सी चिनफिङ जिम्मेवारी र इमान्दारीका हिसावले ‘हार्डलाइनर’ का रूपमा देखिए। उनी सत्तामा आउनुअघि अधिकांश विश्लेषकले कडा विचारधारा लादेर निरंकुशता थोपर्ने जुन भविष्यवाणी गरेका थिए, त्यसको ठीक उल्टो उनले नरम स्वभावले पार्टी, जनता र अन्तर्राष्ट्रिय जगतको मन जिते। उनी पार्टी कार्यकर्तालाई कर्तव्यनिष्ठ, अनुशासित, गरिबी, अभाव र भ्रष्टाचारको विरोध गर्ने कुरामा ‘हार्डलाइनर’ बने। नरम बन्ने नाममा कर्तव्यच्यूत हुन चाहेनन्।

त्यसैले भ्रष्टाचार प्रतिरोध, अर्थतन्त्रको स्थिर विकास, सुरक्षा, रणनीतिक सन्तुलन, छिमेकी मुलुकसँगको विवाद निरूपण, विश्वका ‘सन्की’ नेताहरूसँगको सुझबुझपूर्ण तालमेलका लागि सीले कम्ति सहनशीलता अपनाएका छैनन्। त्यसरी उनी कर्मठ र अभिभावकीय क्षमता भएका नेतामा दरिएका छन्। त्यस्ता नेताको नेपाल भ्रमण प्रेरणास्पद र सिकाइका हिसावले अर्थपूर्ण पनि हुनसक्छ। तर त्यो साइत कहिले जुर्छ?

चिनियाँ राष्ट्रपतिको विदेश भ्रमणको शैली हेर्दा उनी कुनै न कुनै नतीजाका लागि पुग्छन्, कुनै न कुनै छाप छोडेर फर्किन्छन् भन्ने बुझ्नुपर्छ। व्यर्थको समय उनी कुनै देशका लागि खर्चिँदैनन्। सीको नेपाल भ्रमणका लागि स्थिर सरकार चाहिन्छ भन्ने नै हैन तर ढुलमुले सरकारसँग व्यवसायिक सम्झौता गर्न नसकिने निष्कर्षमा पुगेको चीनले दलहरूलाई मिल्नका लागि प्रेरित गर्दै आएको हो। सीको भ्रमणका लागि लगानीको वातावरण, उद्घाटन, शिलान्यास, गहकिलो आदानप्रदानका थुप्रै कामहरू हुनुपर्छ।

कुनै तार्किक भ्रमणको प्रतीक्षामा रहेका नेताको भ्रमणको लागि ब्याण्डबाजा बजाइराख्नु जरूरी छैन, आफ्नो तर्फबाट गहन तयारी गरे पुग्छ। अझ ‘स्मार्ट’ प्रशासन संयन्त्र त संसारका कुनै नेता आउँदा वा आफ्ना नेता विदेश जाँदाका लागि सदैव अग्रिम तयारीमा हुनुपर्ने हो। हाम्रोमा अन्तिम घडीमा हतार हतारमा काम गर्ने पद्धतिले धेरै ठाउँबाट चुहावटहरू हुने गर्दछ।

चिनियाँ राष्ट्रपतिको कतिपय भ्रमणहरू अघिल्लो दिनसम्म पनि संचार र सर्वसाधारणले थाहा पाएका हुँदैनन्। व्यस्त राष्ट्रपतिले समय बचत गर्नका लागि कतिपय अवस्थामा रातीको उडान रोज्ने गर्दछन्। नेपालको भ्रमण गर्नका लागि सीले कति समय छुट्याउलान्? अथवा कुनै ठोस् अर्थ नलाग्ने भएमा सीले नेपालको भ्रमण नै किन गर्लान्? या त नेपालमा कुनै महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन होला, अन्तरदेशीय महत्व राख्ने गतिविधि होला, वा सीले नेपालमै केही दिन यत्तिकै बिताउन चाहलान्?

केही लक्ष रहेन भने सीले हिमाली दृश्य हेर्नका लागि काठमाडौंको यात्रा तय गर्न सक्लान् कि नसक्लान्? तर उनी अर्थहीन भ्रमण गर्ने नेतामा पर्दैनन्। चीनमा कम ठट्टा गर्ने नेतामा दरिएका सीले एकचोटी भनेका थिए, ‘विदेश घुम्न जान त मजै हुन्छ, भ्रमणहरू गर्नु आवश्यक पनि त छ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया