Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँची महोत्सवले अर्घाखाँचीलाई के दियो ?

   
1016   पटक पढिएको

जेबी दर्लामी

अचानक सन्धिखर्कस्थित कुँडुले फाँटमा अर्घाखाँची महोत्सवको तयारी भैरहेको समाचार आयो । सिंगो जिल्ला त के जिल्लाको उद्योग वाणिज्य संघलाई पनि योबारेमा थाहा थिएन । फेन्सी व्यवसायीहरुले विरोध गरेको आवाज अलि टड्कारो सुनिन थालेपछि बल्ल उद्योग वाणिज्य संघ जुर्मुरायो । संघका अध्यक्षले पत्रकार सम्मेलन गर्दै सन्धिखर्कका केही व्यवसायीहरुको बीचमा उभिएर चर्को स्वरमा उद्घोष गरे, ‘यो महोत्सव रोकिनुपर्छ । रोकिन्छ ।’

संघको अध्यक्षको कुरामा भरोसा गर्दै निर्धक्क भएर निदाएका जिल्लाका व्यवसायीहरु बिहान जाग्दा छक्क परे । कारण थियो, महोत्सव हुने भएको थियो र त्यो महोत्सवलाई संरक्षण प्रदान गर्न गैरहेको थियो त्यही उद्योग वाणिज्य संघले जो हिजोसम्म जिल्लाका व्यवसायीलाई अप्ठेरो पार्नेगरी आयोजना हुन लागेको महोत्सवलाई रोक्नुपर्छ भन्दै पत्रकार सम्मेलनमा चिच्याएको थियो । अर्घाखाँची मानिसको बोलीको भरोसा नहुने जिल्ला त होइन तर केही सम्मानित स्थानमा बसेका मानिसकै कारण जिल्लाले बदनामी कमाउने हो कि ? भन्ने आशँका व्याप्त भइदियो ।

 

दुई दिनपछि त्यही उद्योग वाणिज्य संघले पत्रकारहरुलाई बोलाएर आफू महोत्सवको संरक्षक बनेको जानकारी दियो । त्यतिमात्रै होइन, महोत्सवको विपक्षमा भएकाहरुलाई भुजामासुको व्यवस्था गरिदिएर स्थितिलाई चुप बनाउने कामको संयोजन पनि उसैले ग¥यो ।

धुमधामले उद्घाटन भयो अर्घाखाँची महोत्सवको । पूर्व उपप्रधानमन्त्री तथा जिल्लाबाट चुनिएका प्रतिनिधिसभाका एकमात्र सदस्य टोपबहादुर रायमाझीले पानसमा बत्ती बालेर, भजनमा थप्पडी मारेर उद्घाटन गरेको कार्यक्रममा उनको उद्घोष थियो, ‘यो महोत्सवले जिल्लामा कृषि क्रान्ति ल्याउनेछ ।’

तर उनलाई थाहै दिइएको थिएन होला, यो महोत्सवमा जिल्लाको कृषिक्षेत्रलाई प्रतिनिधित्व गर्ने एउटा गतिलो स्टल थिएन । जिल्लाको पाणिनि र मालारानी गाउँपालिका सुन्तला खेतीका लागि प्रख्यात छ । तर सुन्तला फल्ने मौसममा हुन गैरहेको महोत्सवमा सुन्तलाको स्टल कतै थिएन । महोत्सवमा त काठमाडौं, नारायणघाट र सिन्धुपाल्चोकका व्यापारीहरुको फेन्सी स्टल थियो । महोत्सवमा सुर्खेतबाट आएका व्यापारीले सिद्राको स्टल राखेका थिए । महोत्सवमा बिहारको मोतीहारीबाट आएकाहरुले ‘झूला’ र ‘मौतका कुआँ’ देखाउन राखेका थिए ।छोटो समयमा जिल्लाका व्यवसायीहरुलाई राम्ररी थाहा समेत नदिई सुरु गरिएको महोत्सवमा त्यति टाढा भारतबाट व्यापारीहरु कसरी आउन सके ? त्योपनि भारीभरकम मालसामानका साथ ? जवाफ सरल छ, यो जिल्लाको महोत्सव नै थिएन । यो त जिल्लाका केही सिमित नाफाखोरहरुले आफ्नो नाफाका लागि आयोजना गरेको हाटबजार थियो जहाँ आयोजक बनेको हर्डेप नेपाल र संरक्षक बनेको उद्योग वाणिज्य संघ देखाउने दाँत सिद्ध भए । महोत्सवको प्रवेशद्वारमा नै नेपालको सम्विधानलाई गिल्ला गर्ने काम भयो । धर्मप्रचारको विरोधमा एउटा गिरोहले महोत्सव अवधिभरि नै धर्मको प्रचार गरिरह्यो । त्यसमा जिल्लाका मै हुँ भन्ने तीनचारथान पत्रकारसमेत प्रयोग भइदिए । स्टलहरुमा होटलवाहेक अधिकांश जिल्लाबाहिरबाट ल्याइएका सामान बिक्रीमा थिए । र उनीहरुले राखेको सामान गुणस्तरका हिसाबले अत्यन्तै कमसल थिए । यतिसम्म कि दाललगायतका खानेथोक विनाप्याकिङ बेच्न राखिएका थिए जहाँ कुनैप्रकारका लेबल थिएनन् । जिल्लाका खाद्य पसलहरुमा बेलाबेला छापा मार्ने प्रहरीप्रशासन जिल्लाबाहिरबाट ल्याइएका गुणस्तरहीन खाद्यपदार्थका बारेमा सोधपूछ गर्न असमर्थ थियो ।

केही राष्ट्रिय भनिएका कलाकारहरुको उच्छृँखल व्यवहारले सिंगो जिल्ला लज्जित बनेको घटना निश्चय नै जिल्लाको कालो इतिहास बनेर बस्नेछ । दोहोरी गीतको नाउँमा अश्लील र दुईअर्थी लाग्ने शब्दहरुले महोत्सवस्थलमा पारिवारिक वातावरण एकाएक बेपत्ता बनाइदिएको थियो । यसतर्फ जिम्मेवार निकायले विवेकशून्य बनेर तमासा हेरिरह्यो । अर्घाखाँची महोत्सव नाउँ दिइएको कार्यक्रममा दिनभरि हिन्दी गीत घन्कनु अर्को बिडम्वना बनेको थियो । महोत्सवस्थलभित्र पुग्दा भारतको कुनै देहाती बजारमा पुगिएछ कि भन्ने लाग्थ्यो । कला संस्कृति संरक्षणको नाम दिइएको महोत्सवको यो हदसम्मको विसंगति पनि देख्न परेको थियो । उता गानाबजानाको जिम्मा लिएकाहरुले बिहान भजनका साथ सुरु गरेको साँस्कृतिक कार्यक्रम घाम डुब्दानडुब्दै रत्यौलीमा परिणत गरेको भद्दा दृष्य पनि कम बिझाउने खालको थिएन ।

जे भयो, अर्घाखाँची महोत्सव यो वर्षलाई सकिएको छ । तर जिल्लाको नाममा भएको महोत्सवले जिल्लालाई के दियो त ? यो प्रश्न भने धेरै समयसम्म यहाँका मानिसको मनमा गुञ्जिरहने छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे