Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल क्रिकेट टिमको एसिया कप खेल्ने सपना अधुरै : हङकङसँग ३ विकेटले हार्‍यो नेपाल

   
644   पटक पढिएको

काठमाडौं । एसिया कप छनोटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ ।

यो हारसँगै एसिया कप खेल्ने सपना अधुरै रहृयो । हालै मात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । किनकी छनोटको विजेता एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा एमा पर्छ ।

तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुवाति दुई खेलमा ओमान र यूएईसँग हार्‍यो । मलेसिया र सिंगापुरलाई हराएपछि अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउने र अर्को खेलमा ओमानले यूएईले त्यसरी नै हराउने हो भने नेपाल शीर्ष दुईमा पर्दै छनोटको फाइनलमा पुग्ने सम्भावना थियो ।

९५ रनमै अलआउट

क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले निके खराब ब्याटिङ गर्‍यो र ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । पहिलो ओभरमै ओपनर सुवास खकुरेल शुन्यमै आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले अनिलकुमार साहसँग २२ रनको साझेदारी गरे । आठौं ओभरको अन्तिम बलमा आउट भएका पारसले मात्र १४ रन बनाए । ज्ञानेन्द्र मल्ल र अनिलले २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् ।

अनिलले १५ र ज्ञानेन्द्रले १२ रन बनाए । नेपालले विकेट गुमाउने क्रम रोकिएन । दीपेन्द्रसिंह ऐरी २, सागर पुन ७, सोमपाल कामी शुन्य रनमै पभेलियन फर्किए । सातौं विकेटका रुपमा सोमपाल आउट हुँदा नेपालको स्कोर मात्र ५८ रन थियो ।

आरिफ शेख र बसन्त रेग्मीले आठौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । आरिफ १८ रनमा आउट भए । थप ३ रन जोड्दा नेपालले बाँकी २ विकेट गुमायो र ९५ मा अलआउट भयो । बसन्त १५ रनमा अविजित रहे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा इशान खानले ७.५ ओभरमा १५ रन खर्चिएर ४ विकेट हात पारे भने मोहम्मद अजिज खान र तनवीर फैजलले २-२ विकेट लिए । ९५ रनको झिनो लक्ष्य हङकङले ३३ औं ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।साभार अनलाइन खबर बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया