Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल आइडलबाट बाहिरिए मिनराज पौडेल

   
921   पटक पढिएको

काठमाडौँ- नेपाल आइडल सिजन-२ को शीर्ष १० बाट चितवनका पहिलो गोल्डेन माइक बिजेता मिनराज पौडेल बाहिरिएका छन् ।

नेपाल आइडलको शीर्ष नाइनका लागि भएको प्रतिस्पर्धाका क्रममा बिहीबार बिरामी भएर गलाले साथ नदिँदा गीत गाउन नसकेका उनी दर्शकको भोट र जजको मूल्याङ्कनका क्रममा पछि पर्दै बाहिरिएका हुन् । चितवनको रत्ननगरका मिनराज पौडेलले मकवानपुरको हेटौँडामा भएको नेपाल आइडल सिजन-२ को अडिसनका क्रममा उत्कृष्ट गीत गाउँदै गोल्डेन माइक जितेका थिए ।

झुस्स दाह्री पालेका उनी गितार भिर्दै नेपाल आइडलको अडिसनका लागि हेटौँडा पुगेर जजको मन जिती गोल्डेन माइक जितेर सीधै गाला राउन्ड पुगेका थिए । २५ वर्षीय मिनराजले हेटौँडा अडिसनमा गितारको धुनसँगै आफ्नो स्वरमा गाइने दाइले....... गुनगुनाएका थिए ।

सानैदेखि संगीतका पारखी बाबुका छोरा उनले नेपाल आइडलको अडिसनबाटै नयाँ रेकर्ड पनि बनाएका थिए । नेपाल आइडलका दुवै सिजनका अडिसनबाट अघिल्लो चरणमा जाने अरु प्रतिस्पर्धीले गोल्डेन टिकट मात्रै पाउने गरेका थिए । तर उनले गोल्डेन टिकटसँगै गोल्डेन माइक जितेर सोझै गाला राउन्डमा प्रवेश गरेका थिए ।

तर शीर्ष ९ का लागि भएको प्रतिस्पर्धामा बिरामी भएर गलाले साथ नदिँदा बिहीबार उनले गीत गाउन सकेका थिएनन् । शुक्रबार भने उनले दोलखाका पवन गिरीसँग मिलेर गीत गाएका थिए । नेपाल आइडलमा दुवै सिजनका अडिसन राउन्डबाट सीधै गाला राउन्डमा प्रवेश पाउने उनी पहिलो प्रतिस्पर्धी थिए ।

उनले अडिसनका क्रममा गीत गाउँदा जजहरु कालीप्रसाद सापकोटा र न्ह्यू बज्राचार्यले उठेर उनको सम्मान गरेका थिए । अर्की जज इन्दिरा जोशीले पटक पटक तारिफ गरेकी थिइन् । मिनराजले गोल्डेन माइक जितेर सीधै गाला राउन्डमा पुगेको श्रेय आफ्ना बाबु, परिवार र साथीभाइलाई बाँडेका थिए ।

‘पेशाले शिक्षक हुँ तर सानैदेखि संगीतप्रति रुची र लगाव छ, बुवाले सानैबाट गाउने गरेकाले मलाई प्रेरणा मिल्यो’, उनले अडिसन राउन्डबाट सीधै गाला राउन्डमा प्रवेश गर्दा उनले भनेका थिए, ‘नेपाल आइडल एउटा प्लेटफर्म हो, मेरो र परिवारको सपना पुरा गर्ने माध्यम हो ।’साभार उज्यालो अनलाइन बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया