Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित, ७१ वर्षपछि अष्ट्रेलियन भूमिमा पहिलो जित

   
689   पटक पढिएको

सिडनी । अष्ट्रेलियाविरुद्धको चार टेस्टको शृङ्खलामा भारत दुई–एकले विजयी भएको छ ।

अष्ट्रेलियन भूमिमा भारतले टेस्ट शृङ्खला जितेको यो ७१ वर्षपछि पहिलो पटक हो । चौथो तथा अन्तिम टेस्टमा वर्षाका कारण अष्ट्रेलियाको दोस्रो पारी बिथोलिएपछि खेल बराबरीमा सकियो । जसका कारण भारतले पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्न सफल भयो ।

सन् १९४८ पछि अष्ट्रेलियन भूमिमा सिरीज जित्नका लागि चेतेश्वर पुजारा र कुलदिप यादवको प्रदर्शन निकै महत्वपूर्ण रह्यो । पहिले ब्याटिङ गरेको भारतले ६२२/७ को अवस्थामा पहिलो पाली समाप्त गरेको थियो । भारतका लागि युवा विकेटकीपर ऋषभ पन्त र चेतेश्वर पुजाराले शतक प्रहार गरेका थिए ।

शानदार शतक प्रहार गरेका पन्त १ सय ८९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ५९ मा अविजित रहे । त्यसअघि चेतेश्वर पुजारा दोहोरो शतक बनाउन मात्र ७ रनले चुक्न पुगे । १ सय ३० ओभरको अन्तिम बलमा नाथन लायनले आफै क्याच लिँदै १ सय ९३ रनमा पुजारालाई पेभिलिएन फर्काए ।

पुजाराको योगफलमा २२ चौका समावेश थियो । रवीन्द्र जडेजा र पन्तले ७औँ विकेटका लागि २ सय ४ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई विशाल रन सम्म पुर्‍याएका हुन् । जडेजा ८१ रनमा आउट भएपछि भारतले पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो ।

जडेजाले ११४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै युवा खेलाडी मयंक अग्रवालले, ७७, हनुमान विहारी ४२,कप्तान विराट कोहलीले २३,अजिंक्या रहाणे १८ र केएल राहुल ९ रनको योगदान दिए । जवाफमा घरेलु टिम पहिलो पारीमा तीन सय रनमा अलआउट भयो ।

जसका कारण अष्ट्रेलिया ३१ वर्षपछि फलोअनमा पर्यो । दोस्रो पारीको सुरूवात गरेको उसले मात्र ६ रन बनाउँदा लगातार बर्षा भएपछि खेल सम्भव भएन ।अष्ट्रेलियाका लागि लाथन लायनले ४, जोश हेजलवुडले दुई र मिचेल स्टार्कले १ विकेट लिए ।

पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ सय ३७ रनले विजयी भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया