Arghakhanchi Bulletin : The Fastest News Publisher

भक्तपुरमा ४०० युवा नेकपामा प्रवेश

   
169   पटक पढिएको

भक्तपुर, ७ मंसिर। भक्तपुरमा ४ सय बढी युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। मंसिर १४ गते प्रदेश सभा सदस्यका लागि भक्तपुर क्षेत्र नम्बर १(१) मा उपनिर्वाचन हुँदैछ।

यस क्षेत्रका नेपाली कांग्रेस, नेपाल मजदुर किसार पार्टी, विप्लव नेतृत्वको नेकपा, राप्रपा लगाएतका दलहरुबाट ४ सय बढी युवाहरु नेकपामा प्रवेश गरेका हुन्। नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज तथा भक्तपुरका सांसद महेश बस्नेत र युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’को विशेष पहलमा उनीहरु नेकपामा प्रवेश गरेको बताइएको छ।

भक्तपुरको कमलविनायकस्थित एक सभा हलमा शनिबार विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई पार्टी प्रवेश गराइएको हो। प्रवेश गर्नेमा उक्त क्षेत्रका ३० जना इन्जिनियरहरु समेत रहेको युवा संघ नेपालका केन्द्रीय सदस्य दिनेश थपलियाले जानकारी दिए।

उनका अनुसार प्रकाश लामिछाने, गणेश परियार, रामेश्वर गौतम, राकेश श्रेष्ठ, नविन गाइजू, सूरज बुढाथोकी लगायतका युवा नेताहरुको नेतृत्वमा ४ सय बढी युवाहरु नेकपामा प्रवेश गरेका छन्। प्रदेश सभा निर्वाचन क्षेत्रबाहीरबाट पनि ठूलो संख्यामा युवाहरु नेकपामा प्रवेश गरेको उनले बताए। पार्टी प्रवेश गरेका युवाहरुले देशको विकासका लागि नेकपाको विकल्प नभएको प्रतिक्रिया दिएका छन्।

उनीहरुले ‘सुखी नेपाली र समृद्ध नेपालको अभियान’मा लामबद्ध हुन नेकपामा प्रवेश गरेको बताएका छन्। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद महेश बस्नेतले युवा शक्तिको सदुपयोग नेकपाले मात्र गर्न सक्ने दावी गरे। उनले पार्टी प्रवेश गरेका युवाहरुको उर्जालाई क्रान्तिमा बदल्ने बताए। पार्टीले प्रशिक्षण र जिम्मेवारी भन्दा पर राख्दै संगठन र उत्पादनको क्षेत्रमा लगाउने उनले बताए।

चुनावको मुखमा पार्टी प्रवेश गरेका युवाहरुको उत्साह हेर्दा भक्तपुरमा हुने उपनिर्वाचनमा नेकपाको जित सुनिश्चित रहेको सांसद बस्नेतले उद्घोष गरे। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका सहइन्चार्ज एवं संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपा प्रति भक्तपुरमा देखिएको युवा आकर्षणले अन्य दलको होस् उड्ने बताए।

उनले युवाको पहिलो रोजाइ नेकपा भएको भन्दै अबको केही वर्ष भित्र देशका सबैजसो युवा नेकपामा आबद्ध भइसक्ने दावी गरे। राजनीतिमा क्षमतावान युवाहरुको आवश्यकता रहेको उल्लेख गर्दै उनले युवाहरुलाई इमान्दार भएर पार्टीको नीति र पद्धतीबाट परिचालित हुन निर्देशन समेत दिए।लोकपाटि

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया