Arghakhanchi Bulletin : The Fastest News Publisher

सागको इतिहासमै पहिलोपल्ट फाइनलमा पुगेको नेपालको कम्तीमा रजत पदक पक्का भएको छ ।

   
128   पटक पढिएको

अर्घाखाँचीबुलेटिन - नेपाली महिला भलिबल टोलीले १३औं साग अन्तर्गत महिला भलिबलमा कम्तीमा पनि रजत पदक पक्का गरेको छ । शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको हो ।

नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपाल सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन । यसपटक नेपाल घरेलु भुमिमा भएको प्रतियोगितामा फाइनलमा पुग्न सफल भएको हो । यसअघि नेपालले १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा २५–१४ को सहज जित निकालेको थियो । दोस्रो सेटमा पनि नेपालले २५–१८ को सहज जित निकालेको थियो । एक समयमा ९ अंकको आरामदायी अग्रता लिएर पनि श्रीलंका खेलमा फर्कदा नेपाल दवावमा परेको थियो ।

तर, नेपालले त्यसपछि केही अंक गुमाएपनि जित निकाल्न सफल भयो । तेस्रो सेटमा शुरुवात देखि नै श्रीलंकासँग पछि परेपनि नेपालले उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भयो । लगातार दुई अंकले पछि परेको नेपालले ११ अंकमा बराबरी गर्न सफल हुदै अग्रता लिँदै २५-२१ को जित हात पार्न सफल भएको थियो ।

अब नेपालले उपाधिको लागि मंगलबार भारतको सामना गर्नेछ । यसअघि पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया