Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भुटानलाई हराउँदै नेपाललाई फुटबलको स्वर्ण

   
549   पटक पढिएको

 काठमाडौं- नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । १३ औं सागमा नेपालले जितेको यो ५१ औं स्वर्ण हो ।

दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा नेपालले भुटानलाई २-१ ले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको हो । नेपालको जितमा सुनिल बल र अभिषेक रिजालले गोल गरे । भुटानका लागि चेन्चो ग्यालसेनले बराबरी गोल फर्काए । खेलको १६ औं मिनेटमा अभिषेकले ६ यार्ड बक्सनजिकबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरे ।

उनको जारि प्रतियोगितामा तेस्रो गोल हो । यसअघि उनले भुटानविरुद्ध समूह चरण र माल्दिभ्सविरुद्ध पनि गोल गरेका थिए । खेलको ३६ औं मिनेटमा भुटानले बराबरी गोल फर्कायो । चेन्चो ग्याल्सेनले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गर्दै भुटानलाई खेलमा फर्काएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा नेपालले पेनाल्टीको लागि अपिल गरेपनि सुमन अर्यालमाथि पेनाल्टी क्षेत्रभित्र भएको फललाई रेफ्रीले वास्ता गरेनन् । दोस्रो हाफमा नेपालले सुनिलको गोलमा अग्रता लियो । उनले दायाँ विंगबाट आएको क्रसलाई हेडरमार्फत गोल गर्दै नेपाललाई पुन: अग्रता दिलाएका थिए ।

त्यसपछि थप गोल हुन नसक्दा नेपालले स्वर्ण पदक जितेको हो । नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा जितेको यो चौथो स्वर्ण पदक हो । यसअघि नेपालले सन् १९८३, १९९३ र २०१६ को संस्करणमा पनि स्वर्ण जितेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया