Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

क्याम्पबाहिर निस्कँदा कतारबाट २५० नेपालीलाई देश निकाला गरियो

   
2673   पटक पढिएको

काठमाडौँ — कतारको औद्योगिक क्षेत्र (सनैया) मा बस्ने पोखराका अनिलकुमार सुनार शुक्रबार दिउँसो साढे ३ बजे किनमेलका लागि आफ्नै गाडी लिएर कोठाबाट निस्किए ।

नेपाली खाना सप्लाई गर्ने क्याटरिङ चलाएका उनलाई शनिबारका लागि चाहिने सरसामानको जोहो गर्नु थियो । किनमेल गर्न नपाउँदै उनीलगायत करिब २ सय ५० नेपाली डिपोर्ट गरिए । उनीहरू किन डिपोर्टमा परे ? सोमबारमात्र काठमाडौं ल्याइएका सुनारलगायतको ठूलो जमात अलमलमा थियो ।

शुक्रबार गाडीमा सुनार र उनका काका थिए । कतारी सुरक्षाकर्मीले सनैयास्थित ३८ नम्बर कचरा मार्केट नपुग्दै बाटोमा रोके र गाडीबाट बाहिर निस्कन लगाए । उनले प्रहरीलाई कतारी परिचयपत्र, गाडीको इस्तामारा र लाइसेन्स देखाए । ‘अहिले कोरोनाको चेक भइरहेको छ । गाडी तेरो हो । मान्छे तैँ नै हो । तँ जहाँ गए पनि फर्केर यही आउने हो । गाडी साइड गर । तँ हामीसँग हिँड्,’ कतारी प्रहरीले उनलाई भन्यो ।

उनले गाडीलाई बाटोकै छेउमा साइड लगाए ।‘कोरोनोको बिगबिगी चलेको छ । अरू क्याम्पबाट पनि चेक गर्न लिएर गएको होला भन्ठान्यौं । ठीक छ भन्दै गाडी बाटोमै साइड लगाए,’ काठमाडौं उत्रिएपछि उनले भने, ‘प्रहरीको गाडीभित्र हालेपछि दुई हातलाई पछाडि लगेर हतकडी लगाइदियो । मोबाइल स्विच अफ गरिदियो ।

’ उनले कसैलाई सम्पर्क गर्न पाएनन् । प्रहरीको भ्यान ग्रान्ड मल मार्केटमा गएर केहीबेर राखेपछि उनलाई सनैयाको २ नम्बरस्थित डिपोर्टटेसन सेन्टर (सफर जेल) मा लगेर राखिदियो । त्यो जेलभित्र धमाधाम पक्राउमा परेका नेपाली, बंगाली, पाकिस्तानी र इथोपियनलाई ल्याइरहेको थियो । जेलभित्र एकैछिनमा झापाको काँकडभिट्टाका कृष्ण भट्टराईसहितको टोली आइपुग्यो ।

४६ वर्षीय भट्टराई दुई वर्षदेखि वकिल ट्रेड सर्भिस कम्पनीको फोरम्यान थिए । उनी सल्वारोडमा तरकारी किन्न गएका थिए । ‘मान्छे समात्न प्रहरीले ८–१० वटा बस लिएर गएको रहेछ । बाटोमा जो जो भेट्छ । सबैलाई बसमा हालेर ल्यायो । ती सबै बस कामदारले भरिएका थिए,’ उनले थप जानकारी दिए, ‘किनमेल गरेर कामदारलाई ल्याइरहेको रेड्को अलमान कम्पनीको बसलाई त क्याम्पतिर छिर्न नै दिइएन ।

बाटोबाटै घुमाएर प्रहरी थानाभित्र ल्यायो ।’ उनीहरूलाई राखिएका जेलका सबै भवनहरू शुक्रबार समातिएका कामदारले भरिएका थिए । ‘मान्छे कति थिए कति,’ अल वन्दरी इन्जिनियरिङ कम्पनीमा काम गर्ने धनुषाका अशेश्वर खत्वेले भने, ‘कोठामा नअटेर बरन्डामा राखिएको थियो । मान्छेलाई आँखाले हेरेर भ्याउँदैन्थ्यो, त्यत्रा मान्छे थिए । हजारभन्दा बढी थिए होला ।

’ कतारमा दुई हजार नेपाली क्‍वारेन्टाइनमा मान्छे धेरै भएर होला, प्रहरीले थालमा समेत खाना खुवाउन सकेनन् । ‘लामो प्लास्टिकलाई भुइँमा बिछ्याइएको थियो । त्यसमाथि भात हाल्दै जान्थ्यो । हामीलाई प्लास्टिकको दायाँबायाँ लाममा राखिएको थियो । जसले जति पाउँछ । त्यति खान्थ्यौं,’ भट्टराईले भने, ‘प्रहरीलाई भित्र कति कैदी छ भन्ने नै थाहा भएन । बेडसिटकै प्लास्टिकलाई च्यातेर सुत्नुपर्‍यो ।

’ ‘हामी बिहान ४ बजे क्याम्पबाट निस्किन्छौं । बेलुका ६ बजे आएर सुत्छौं । शुक्रबार दिउँसो तरकारी किन्न जाँदा पक्राउ परियो । कसैले पनि बाहिर निस्किनु हुँदैन भनेको थिएन । क्याम्पबाट बाहिर निस्किनुलाई ठूलो अपराध गरेको रूपमा सरकारले लियो । उल्टो कम्पनीले दिएको ३२ सय रियाल पनि कतारी प्रहरीले खाइदियो । – बिल्टु दास, कतारबाट डिपोर्ट भएका कामदार जेलभित्र लैजाँदा पनि उनीहरूले आफूहरूलाई कुन अभियोगमा पक्राउ गरेको भनेर सोध्दा कसैले जवाफ दिएनन् । उल्टो चुप लागेर नेपाल फर्किन डरत्रास देखाइयो ।

‘प्रहरीको ठूलो हाकिम आयो । हाम्रो समस्या के छ ? के गल्ती गरेका छौं भनेर मैले सोधे,’ भट्टराईले भने, ‘ऊ निकै रिसायो । सात्तो लिने गरी करायो । कोही गइनस् भने तिमीहरूलाई योभन्दा ठूलो जेलमा हाल्छौं भन्यो ।’ जेलमा तीन दिन राखे । कतिको कोरोना लागेको छ कि छैन भनेर जाँच पनि गरे । ‘एउटालाई कोरोना देखियो भन्दै हामीबाट अन्तै लगे । तर हामीलाई चेक गर्दा देखा परेन,’ खत्वेले भने, ‘कोरोना अन्त्य हुन्छ भन्दा उल्टो कोरोना लाग्छ भन्ने डर भयो । कोठाभित्र प्रार्थना गरेर बस्यौं ।’ जेलभित्रको कोठा निकै चिसो बनाइएको थियो ।

‘चिसोले गर्दा खोकी लागेको हुन्छ । अनिद्राको कारणले आँखा रातो हुन्छ । भोकले शरीर घुमाएको हुन्छ । पीडा आफ्नो आफ्नो हुन्छ नि । सबैलाई स्वास्थ्य चेक पनि गर्‍यो,’ उनले भने, ‘हामी त भेडाबाख्रा जस्तै भयौं । आइज भन्दा आउने, जा भन्दा जाने ।’ आइतबार रात परेपछि भने सबैलाई कोठाबाट एक–एक गरी निकाले । ‘बाहिर ल्याएर घुँडा खुम्चाएर बसाले । मसँगै भएको भाइले हामीसँग खाने पैसा पनि छैन ।

घर कसरी जाने भन्दा प्रहरीको हाकिमले त्यो तेरो समस्या हो । तिमीहरूको सबै पैसा तेरो एकाउन्टमा हालिदिन्छौं । पैसा एम्बेसीमा गएर माग्नु भन्यो,’ जनकपुरको रामानन्द चोकका रन्धीरकुमार साहले भने, ‘जेलको चउरमा पुलिसको घेराभित्र राखेको छ । त्यसपछि ७/८ वटा बसमा सबैलाई पालैपालो चढाए । एउटा भ्यानमा हाम्रो सामान र दुई जना युवती पनि थिइन् ।

अगाडि तीन, पछाडि तीनवटा रातो गाडीको पुलिस र दुई साइडमा अल्फजा पुलिस र बीचमा हामी चढेको बस थियो । बसमा झन्डै दुई सय ५० नेपाली कामदार थिए । ठूलो अपराध गरेको कुख्यात अपराधी जसरी सुरक्षा दिएर हामीलाई सिधा एयरपोर्टमा ल्याए ।’ रातो गाडीको प्रहरीले कतारको आन्तरिक सुरक्षाको बन्दोबस्ती गर्छ भने अल्फजाले आप्रवासी कामदार मामिला हेर्छ । कतारमा लेबर काम गर्दै आएका धनुषाका बिल्टु दास । कम्पनीले जेलमा आएर दिएका ३२ सय रियाल प्रहरीले उनलाई फिर्ता गरेनन् ।

हमाद विमानस्थलमा आधा घण्टाजति लाइनमा बसाएको थियो । प्रहरीले जहाज चढ्ने अन्तिम कक्षमा ल्याएर छाडिदिए । ‘मलाई पक्राउ गरेपछि कम्पनीले जेलमा आएर सामान र पैसा दिएको थियो । मसँग ३२ सय रियाल (९६ हजार रुपैयाँ) थियो । प्रहरीले जाने बेला दिन्छु भनेर लिएका थिए,’ धनुषाका बिल्टु दासले भने, ‘एयरपोर्टमा दिन्छु भनेको थियो ।एयरपोर्टमा आएपछि मैले पैसा मागेको त प्रहरीले मेरो गला पकडे । गइहाल तेरो पैसा छैन भने । के गर्ने प्रशासनसँग झगडा गर्न मिल्दैन ? हामीले केही गर्न सक्तैन । चुप लगाएर आयौं ।

रेड्को अल्माना कम्पनीमा काम गर्ने उनी क्याम्पको गेट अगाडिबाट पक्राउ परेका थिए । सोमबार बिहान १०ः१५ मा काठमाडौं उत्रिएको ६५२ नम्बरको कतार एयरवेज पुरै डिपोर्ट भएका नेपालीले भरिएका थिए । ‘हामीजस्तो सामान्य कामदारमाथि कतार सरकारले अन्याय गरेको छ ।

हामीलाई क्याम्पबाट बाहिर निस्कनु हुँदैन भनेर कसैले भनेको थिएन । तर, सचेत गर्नुको सट्टा देश नै निकाला भयो,’ दासले भने, ‘हामीले त्यस्तो के अपराध गरेका थियौं ?’कान्तिपुर बाट साभार 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया