Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

यस वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि सुरु हुँदै

   
161   पटक पढिएको

काठमाडौं। यस वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि सुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र सम्बद्ध स्थान पु¥याउने, केन्द्राध्यक्षको नियुक्ति लगायतका सबै तयारी सकिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो । सबै जिल्लामा केन्द्राध्यक्षको अभिमुखीकरण कार्यक्रमसमेत सकिएको छ ।

यस पटकको परीक्षामा जम्मा चार लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुने जानकारी परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले दिएको छ । यिनमा छात्रतर्फ दुई लाख ३९ हजार ९१ जना र छात्रातर्फ दुई लाख ४३ हजार ६१६ जना परीक्षार्थी हुनेछन् ।

परीक्षामा छात्रको तुलनामा छ हजार बढी छात्रा सहभागी हुनेछन् । परीक्षा साधारण विषयतर्फ चैत १४ र प्राविधिक विषयतर्फ १७ गते सकिने कार्यतालिका छ । परीक्षा केन्द्र एक हजार ९९५ यस पटकको परीक्षामा जम्मा एक हजार ९९५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

यसअनुसार प्रदेश १ मा ३७५, प्रदेश २ मा २६६, बाग्मती प्रदेशमा ४२१, गण्डकी प्रदेशमा २२०, प्रदेश ५ मा ३२६, कर्णाली प्रदेशमा १७६ र सुदूरपश्चिममा २११ वटा परीक्षा केन्द्र तय गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बाग्ग्मती प्रदेशमा तय गरिएको छ । विद्यार्थीलाई मानसिक रूपमै परीक्षाका लागि तयार बनाउन तथा भयरहित हिसाबले परीक्षा सञ्चालन गर्न सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

प्रदेश तथा स्थानीय सरकारसितको समन्वयमा त्यो काम गरिने भएको छ । स्वास्थ्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । बिरामी अवस्थाका विद्यार्थीलाई परीक्षामा सहभागी गराउनुपर्ने अवस्था आएमा सबै परीक्षा केन्द्रमा अलग्गै कोठाको व्यवस्था गर्न केन्द्राध्यक्षहरूलाई निर्देशसमेत गरिएको छ ।

यस पटकको परीक्षामा सुरक्षा र गोपनीयताको हिसाबले विशेष सावधानी अपनाइएको छ । प्रत्येक दिनको परीक्षाका लागि अलग अलग कपडाको थैलामा प्रश्नपत्र प्याकिङ गरी लाहाछाप लगाइएको परीक्षा नियन्त्रक खकुरेलले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया