Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

काठमाडौं बसेर के गर्नु, अन्तिममा साथी गाउँ नै रहेछ’

   
495   पटक पढिएको

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को विश्ववयापी संक्रमण बढ्दै जाँदा नेपालमा पनि यसको त्रास बढ्दै गएको छ।

विभिन्न सञ्चार माध्यम र मूख्यतः युट्युवरहरुले चलाएको हल्लाका कारण उपत्यका छोड्नेहरुको ताँती लागेको छ। काठमाडौं उपत्यकामा रहेका नेपालीहरु क्रमशः आ–आफ्नो गाउँतिर फर्किन लागेका छन्। सरकारले बुधबारबाट लागू हुने गरी शैक्षिक संस्था, फिल्म हल र सार्वजनिक समारोहहरुमा सहभागी हुन बन्देज लगाएको छ।

कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले अपनाएको सतर्कताको सबैतिरबाट प्रशंसा भएको छ। तर, सबै व्यवसाय र कारोबार ठप्प हुँदा दैनिक काम गरेर गुजारा चलाउने नेपालीहरुको दैनिकी भने कष्टकर हुन थालेको छ। कोरोनाको त्रास र दैनिकी टार्ने चिन्ताले मानिसहरु गाउँ फर्किन थालेका छन्। बढ्दो बसाइसराइँसँगै काठमाडौंमा जनघनत्व बढ्दै गएको छ।

काठमाडौं उपत्यकामा रहेको ४० लाख जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या पेशा व्यवसायका क्रममा उपत्यकामा रहेको छ। शिक्षण संस्था, उद्योग कलकारखाना र कार्यालयहरु बन्द हुँदा उनीहरुको रोजीरोटीको समस्यासमेत चुनौतिपूर्ण बन्दै गएको छ। एकातिर कोरोनाको जोखिम र अर्कोतिर छाक टार्ने समस्याका कारण मानिसहरु उपत्यका छोड्दै गएको छन्। चैत्र महिनाको पहिलो साता उपत्यकाबाट लाखौं मानिसहरु गाउँतिर फर्किन लागेका छन्।

स्कूल, कलेजहरु बन्द भएपछि विद्यार्थीहरुलाई फुर्सद मिलेको छ। फुर्सदको समयको सदुपयोग पनि हुने, कोरोनाको सम्भावित जोखिमबाट पनि बच्न सकिने ठानेर मानिसहरु गाउँ फर्किन थालेका हुन्। बिहीबार काठमाडौंको गोंगबु बसपार्कमा मानिसहरुको ताँती थियो।

उनीहरु धेरै टिकटको लाइनमा थिए। पोका पन्तुरा बोकेकामध्ये एकले भने, ‘काठमाडौंमा बसेर के गर्नु, के खानु, आखिर समस्या पर्दा साथी त गाउँ नै रहेछ सञ्चार माध्यमहरुले कोरोनाबारे लेखेका समाचार, युट्युवरहरुले गरेको प्रचारबाजी र सामाजिक सञ्जालका कारण गाउँमा रहेका आफन्तहरु पनि काठमाडौं बस्नेहरुलाई छिटो गाउँ फर्किन आग्रह गरिरहेका छन्।

सबै कुरा ठप्प भएपछि काठमाडौंमा धेरैको खास काम पनि छैन। गाउँमा भएको जमिनले जस्तोसुकै संकट टार्न पनि सक्छ। त्यसैले होला, धेरैको रोजाइमा गाउँ पर्न थालेको छ। जबजब संकट पर्छ, गाउँको महत्व बढेर आउँछ। २०७२ सालको महाभूकम्पमा पनि लाखौं मानिसहरु काठमाडौं छोडेर गाउँ फर्किए। धेरैको अनुमान थियो, ‘रोजीरोटीका लागि राजधानी छिरेकाहरु अब यतै बस्छन्, आफ्नो पाखोबारीमा अन्न फलाउँछ।’

तर, भूकम्पको त्रास क्रमशः सकियो, मानिसहरु फेरि राजधानी नै फर्किन थाले। उनीहरुले शहरको संकटसँगै गाउँको महत्व पनि बिर्सिदै गए। अहिले त्यही परिस्थिति दोहोरिएको छ। विश्वभरि कोभिड–१९ का कारण झण्डै ९००० को मृत्यु भए पनि नेपालले कोरोनाको संक्रमण खेप्नुपरेको छैन।

आजसम्म गरिएको परीक्षणमा कोही पनि नेपालीमा कोरोनाको संक्रमण देखिएको छैन। तर, खुल्ला सीमाना, हाम्रो कमजोर सामर्थ्य र काठमाडौंको वातावरणका कारण ढुक्क हुनसक्ने अवस्था भने छैन। ढिलै भए पनि सरकारले सावधानी अपनाएको छ, हामी सबैले सरकारलाई सहयोग गरौं, कोरोनोको संक्रमणसँग एकीकृत रुपमा लडौं। lokpati

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया