Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मालारानि गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य द्वारा लकडाउनको नियमलाइ हेलचेक्राइँ नगर्न पालिकावासीलाई आग्रह

   
127   पटक पढिएको

मालारानी ,चैत्र १२। आदरणीय मालारानि गाउँ पालिका बासि आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु !यतिबेला विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको व्यहोरा सबैलाई अवगत नै छ ।

नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ भने संक्रमणको आशंकामा कतिपयलाई आइसोलेसनमा राखिएको छ । यस्तै कतिपय क्वारेन्टाइनमा छन् । नेपालमा कोरोना संक्रमण फैलन नदिनका लागि लकडाउन गरिएको छ । लकडाउनको अर्थ मानिसबीचको दुरी कायम गर्नु हो । यसैले यो बेलामा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन म सम्पूर्ण पालिकाबासी महानुभावलाई पुनः अपिल गर्दछु ।

यो समय हामीहरु बडो संयम हुनुपर्ने बेला हो । अरु बेलाको जस्तो बिदा वा बन्दको रुपमा लकडाउनलाई नलिनुहुन म सबैलाई आग्रह गर्दछु । कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय हामीहरु आआफ्नो घरमा बस्नु हो । यो चोक चोकमा जम्मा भएर गफ गर्ने, खेल्ने वा अन्य कार्य गर्ने बेला होइन ।

एउटा व्यक्तिले हेलचेक्राइँ गर्दा सयौं व्यक्तिको स्वास्थ्य जोखिममा पर्न सक्ने विषयप्रति सचेत रहन म सम्पूर्ण पालिकाबासीलाई आग्रह गर्दछु । आज हामी जनप्रतिनिधिहरुले लकडाउनको अनुगमन गर्दा अत्यावश्यक कामविना पनि सडकमा हिँडेको, चोकमा जुटेको पायौं । बिहान र साँझ चोकमा टहलिने, सडकमा हिँडेको पायौं । यस्तो कार्य तुरुन्त बन्द गर्न म आमपालिकाबासीलाई आग्रह गर्दछु ।

बिहान वा साँझ हिँड्दा, जमघट हुँदा पनि संक्रमणको जोखिम उत्तिकै रहन्छ । यसैले लकडाउनलाई बन्द विशेषमा जस्तो साँझबिहान चहलपहल बढाउने हिसाबले नबुझ्न म सबैलाई अनुरोध गर्दछु । आदरणीय पालिकाबासी महानुभाव ! यो विशेष अवस्था हो, त्यसैले मालारानि पालिकाले स्वास्थ्य चौकीमा ज्वरो, रुघाखोकीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।

कसैलाई ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य चौकीमा गई स्वास्थ्य परीक्षण गर्नुहुन म अनुरोध गर्दछु । यस्तै कोराना संक्रमणलगायत स्वास्थ्य समस्या भएमा मेरो नंबर ९८५७०२८४५७ मा सम्पर्क राख्नुहुन अनुरोध छ । । अतः आफ्नो टोलमा हालै विदेश वा भारतबाट आएका व्यक्तिको बारेमा नजिकका जनप्रतिनिधि, स्वास्थ्य चौकी टेलिफोनमा सम्पर्क राख्न म सबैमा अपिल गर्दछु स्वास्थ्य चौकीमा चेकजाँच गर्न जाने बिरामीलाई आशंका लागेमा थप परीक्षण र उपचारका लागि बुटवल स्थित धागो कारखाना र भैरहवा स्थित भीम अस्पतालमा स्थापना गरिएको आइसोलेसन अस्पतालमा पठाउनका लागि एम्बुलेन्सको व्यवस्था मिलाइएको छ ।

सामान्य ज्वरो आउँदा नआत्तिनुहुन र बढी ज्वरो आएमा स्वास्थ्य संस्थामा जानुहुन म सबैलाई अनुरोध गर्दछु । अन्तमा, सरकारले गरेको लकडाउन हामीहरुको स्वास्थ्यका लागि हो । यसर्थ यसको पूर्णपरिपालना गरौं । सरकारले दिएको निर्देशनमा हिँड्नु हामी सबैको कर्तव्य हो ।

कोरोना भाइरसले सानाठूला, धनिगरिब कोही पनि भन्दैन । त्यसैले यो विषयमा सबै सचेत बनौं, आआफ्नो घरभित्र बसौं । यसलाई सरकारलाई गरेको सहयोगको रुपमा मात्र होइन, आफ्नै स्वास्थ्य रक्षाका लागि गरिएको कार्य हो भन्ने बुझौं । अन्तमा लकडाउनले दैनिक ज्यालामजदुरी गरेर कसैलाई साँझबिहानको छाक टार्न अत्यन्त समस्या भएको छ भने आफ्नो टोल विकास संस्थामार्फत् सम्बन्धित वडाध्यक्षलाई खबर गर्नुहुन पनि सम्बद्ध सबैलाई अनुरोध गर्दछु ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया