Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कविता : एकान्तबास र नयाँ वर्ष

   
220   पटक पढिएको

नयाँ वर्ष !
थाहा छ तिमी अनन्त आशा र उमङ्ग लिएर
आउदै छौ
तर म कसैसँग भेटघाट नगरी
आफ्नै घर-कोठाको
अनकन्टारको एकान्त गुफामा छु ।
.
इन्द्रय निग्रह र आत्मसंयममा रहेर
ब्रह्मचर्यको पालना गरी लक डाउनको
कठोर व्रतमा छु ।
.
जाति, धर्म , वर्ण, लिङ्ग र संप्रदायहरु
अनि
बन्धुवर्ग , कुलकुटुम्ब र छरछिमेकीहरुसँगको
मेलमिलापमय आत्मीय सम्बन्धलाई
बिर्सने प्रयास गरिरहेछु ।
.
नयाँ वर्ष !
तिमी यही अवसर पारेर आउदै छौ
यो वेलामा मैले तिम्रो भव्य स्वागत गर्नुपर्ने हो
तर म लक डाउनको कठोर व्रतमा छु ।
.
नयाँ वर्ष !
यतिखेर कोरोना भाइरस रक्तवीजझैं
प्रलय मच्चाउँदै विज्ञानका शक्तिशाली मिसाइल र क्षेप्यास्त्रहरुलाई धुलीसात् पार्दै एक लाखभन्दा बढी मानवहरुलाई ग्रास बनाउँदै विश्वभर फैलिदै छ ।
.
नयाँ वर्ष !
हातहतियारको युद्ध त्यागेर
हत्या-हिंसा-आतङ्क , बन्द-चक्काजाम-नाराबाजीजस्ता पारम्परिक दाउपेचलाई
पर पन्छाई
मानसिक युद्धमा म एक्लै यो महासमरमा होमिएको छु ।

नयाँ वर्ष ! तिमी भन्दा हौ-
‘सत्यको विजय’ अवश्य हुन्छ ।
तर यो कोरोना
निष्ठा नैतिकता आदर्श परोपकार करुणा र सत्यले
भन्दा एकान्तबासले परास्त हुने भएकाले
यतिखेर म आफ्नै घर-कोठाको
एकान्तबासमा छु ।
.
नयाँ वर्ष !
थाहा छ तिमी अनन्त आशा र उमङ्ग लिएर
आउदै छौ
तर म कसैसँग भेटघाट नगरी
आफ्नै घर-कोठाको
अनकन्टारको एकान्त गुफामा छु ।

दुर्गाप्रसाद खनाल

सन्धिखर्क ११ डिभर्ना कबिर-

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया