Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना महामारी, राज्यले आफ्ना नागरिक चिनोस्: अनिल किशोर घिमिरे

   
211   पटक पढिएको

तिब्र प्रतिस्पर्धाको होडबाजीमा एउटा रफ्तारमा दौडिरहेको मान्छेको जिन्दगीको यात्रालाई कोरोना भाइरसले टक्क अडाइदिएको छ । यसले संसारका सबै वर्गहरुलाई एउटै सतहमा उभ्याइदिएको छ । डब्लुएचओको स्वास्थ्य सुबिधा सूचीमा पहिलो र दोस्रो स्थानमा पर्ने क्रमशः फ्रान्स र इटलीदेखि १५०औं स्थानमा पर्ने नेपालसम्म कोरोनाले प्रभावित पारेको छ । मन्दिरका ठूलाठूला भजनकिर्तन र पूजाआजा रोकिएका छन्, सायद मन्दिरमा अहिले हिन्दुहरुका भगवान छैनन् । क्रिश्चियनका चर्चहरुमा प्रार्थना हुँदैन, सायद चर्चमा यशु आउन छोडे । मक्का मदिना मस्जिदहरु नमाजका लागी बन्द गरिएका छन्, सायद मस्जिदमा अल्लाह नाम नजपे पनि हुन्छ । विश्व रङ्गमन्चमा प्रभुत्वशाली मानिएका , खरबौं पैशा खर्च गरेर आणविक अस्त्र शस्त्र निर्माण गरेका, चिकित्सा बिज्ञानमा नाम कहलिएका थुप्रै मुलुकहरु अहिले रन्थनिएको अवस्था छ ।

हामीलाई थाहा छ, हामी सबैले एकदिन यस धर्तिबाट अवकाश लिनुपर्छ तर कहिलेकाहीँ अप्रत्यासित घटना हुन्छन् र त्यस्ता घटनाहरुले मानवीय अस्तित्व नै संकटग्रस्त हुन्छ तब हाम्रो सोच चिन्तन र मनोबिज्ञानले ठूलो चुनौतीको सामना गर्नपर्ने हुन्छ । कोरोना महामारीको संकट सम्पूर्णरुपमा समाधान हुन केही वर्ष पनि लाग्ने अनुमानहरु हुन थालेका छन् । यदि त्यसो भयो भने त्यसले बिश्वको सामाजीक, आर्थिक संरचना सोंच र दृष्टिकोणमा कैयौं उथलपुथल ल्याउनेछ ।
२०१९ डिसेम्वर ३१ मा चिनबाट शुरु भएको कोभिड १९ को सन्दर्भमा विश्व राजनीतिका खेलाडीहरु बिच कैयौं आरोप प्रत्यारोपहरु चले । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसलाइ चिनियाँ भाइरस वा वुहान भाइरस भनेर आरोप लगाए ।

पहिले पहिलेका रोगहरुलाई पनि अफ्रिकी रोग र अफ्रिकाको छाला नै संक्रमण निम्ताउने प्रकारको छ भनेर आरोप खेपेको र नश्लियताको शिकार भएको कुरा नाइजेरियाका मानवअधिकारबादी लाओलु सेन्वान्जोले बताएका छन् । उनले भनेका छन् ‘कुनै रोगलाई कुनै क्षेत्र बिशेषका मानीससँग जोड्न शुरु गर्नासाथ एक अर्कालाई राष्ट्रियताको सानो परिचयमा खुम्चाउने र त्यसमार्फत मानवतालाई नामेट पार्ने बेइमान र खतरनाक प्रयास शुरु हुन्छ ।’ यसप्रकार अरुलाई दोषारोपण गरेर अमेरिका आफू मानव संवेदनामाथी खेल्ने प्रयत्न गरेको देखिन्छ । उसले जतिसुकै घमण्ड गरेपनि आज आफ्ना नागरिकहरुलाइ कोभिड १९ बाट जोगाउन हम्मेहम्मे परेको यथार्थता प्रस्ट देखिन्छ । उसले भनेजस्तो कुनैपनि रोगले गोरो कालो छाला वा अफ्रिकी, चिनियाँ वा एशियाली शरीर भन्दैन ।

प्रार्थना गरेर जोगिने भए अमेरिकाको भर्जिनियास्थीत न्यू डेलिभिरेन्स इभान्जेलिस्टीक चर्चका पाष्टर बिशप जेरल्ड ग्लेनको मृत्यु हुने थिएन । यसले वर्ग हेर्ने भए स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु हुने थिएन ।यसै गरि कोरोनाको कारण फ्रान्सका पूर्व मन्त्री प्याट्रिक दुभेज्याको मृत्यु भएको छ । उत्तर इटलीको चेने नगरपालीकाका मेयर गोर्जीयो भ्यालोरी पनि बाँच्न सकेनन् । जर्मनीका अर्थमन्त्री थोमस स्याफरले कोरोनाकै चिन्ताले आत्महत्या गरे । स्पेनका २१ वर्षीय फुटबल कोंच फ्रान्सीस ग्रासियाको समेत ज्यान गयो । बेलायतका राजकुमार चाल्र्स , प्रधानमन्त्री वोरिस जोनसन र स्वास्थ्यमन्त्री हानककलाई कोरोना संक्रमण भयो ।

यसभन्दा अगाडिका संक्रमण र महामारीबाट पनि ठूला घराना तथा शाषकहरु समेत प्रभावित भएका इतिहास पाइन्छन् । सन् १८३६मा विश्वकै सबभन्दा धनी ब्यक्ति नाथन रोथस्चाइल्ड मृत्यु संक्रमणबाट भएको थियो । १८४१मा अमेरिकी राष्ट्रपति विलियम ह्यारिसनको मृत्यु सेप्टिक सकका कारण भएको थियो । सन् १९१८ को जनवरीदेखि विश्वमा फैलिएको स्पेनीस फ्लुको महामारीले दक्षिण अफ्रिकाका प्रधानमन्त्री लुइस बोथा तथा स्विडेनका राजकुमारको मृत्यु भएको थियो । त्यतिबेला बेलायती प्रधानमन्त्री डेभिड लोयड जर्ज तत्कालीन अमेरिकी राष्ट्रपति र जर्मनीका राजा समेत संक्रमित भएको पाइन्छ । त्यो महामारीले विश्वभर ८ देखि १० करोड मान्छेको ज्यान गएको थियो भने भारतमा मात्रै १ करोड ७० लाखको मृत्यु भएको थियो । सो महामारीबाट महात्मा गान्धीका नाती र बुहारीको समेत मृत्यु भएको थियो । यसैगरि सन् १९४१मा अमेरिकी राष्ट्रपति केल्भिन कोलरिजका छोराको मृत्यु पनि संक्रमणबाटै भएको थियो ।

अहिलेसम्म एचआइभी एड्सबाट रोग पहिचान भएको १९७६ देखि हालसम्म करिब ४ करोडको ज्यान गएको र ४ करोडनै संक्रमित भएको सामान्य तथ्याङ्क पाइन्छ । पछिल्लो एक सय वर्षमा फ्लुजन्य रोग (स्वाइन फ्लु, बर्ड फ्लु, एशियन फ्लु, इन्फ्लुन्जा¬) को संक्रमणबाट करिव ५ करोडको ज्यान गएको छ । प्लेग महामारीको कारण करिव १० करोडको ज्यान गएको पाइन्छ । जसलाइ चौधौ शताब्दीको ब्लेक डेथ पनि भनिन्छ । १८५२ र १९१० तिर हैजाको कारण विश्वमा करिव १ करोडको ज्यान गएको थियो । सन् २००२मा दक्षिण चीनबाट शुरु भएको सार्सले ३० मुलुकमा फैलिएर करिब ९ हजार मान्छेलाई संक्रमण गराइ ८१३ जनाको ज्यान लिएको थियो ।२०१२मा साउदी अरब बाट शुरु भएको मर्सले २७ मुलुकमा फैलिएर २५ सय ब्यक्तिलाई संक्रमित पार्दै ८५८ जनाको ज्यान लिएको थियो ।

नेपालमा अहिलेसम्म ठूलै महामारीले प्रभाब पारेको १७७२ तिर हो । तीन सय वर्ष अगाडिको महामारी शिर्षकमा डा.महेशराज पन्त लेख्छन् –१७७२ चैत्रमा देखापरेको महामारीले गर्दा १८ हजार घरधुरी रहेको काठमाडौंका १८७१४ ब्यक्तिको मृत्यु भएको थियो । तत्कालीन राजा भाष्कर मल्ल पनि मरेका थिए । सायद त्यो प्लेग थियो । बाढी, पहिरो, भुकम्प, सडक तथा हवाइ दुर्घटना, सामुन्द्रीक आँधी जस्ता बिपत्तिबाट पनि बार्षिक लाखौं मान्छेको ज्यान गइरहेको हुन्छ । यी प्रकृतिका थुप्रै घटना परिघटनाहरुले मानिसलाइ यो सभ्यताको चरणसम्म आइपुग्न थुप्रै ब्यवहार र पाठहरु सिकाएको छ । अहिलेको कोभिड–१९ को संक्रमण अधिकांश देशमा फैलिसकेको छ । यसले अहिले सिंगो संसारलाई हल्लाइरहेको छ । कोरोना महामारीले नयाँ प्रबिधि, नयाँ आविश्कार र नयाँ ज्ञान तथा चेतनालाई चुनैति दिँदै आएकोले यसबाट पनि कैयौं नयाँ सोंच चिन्तन र ब्यवहारहरु श्रृजना हुनेछन् ।

कोरोना महामारीबाट आजसम्म १ लाख ८४ हजार २३५ जनाको ज्यान गइसकेको छ भने २६ लाख ३७ हजार ८८८ जना संक्रमित भएका छन् । र ७ लाख १७ हजार ८१९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनाविरुद्धको औषधि पत्ता लागेको छैन । औषधि पत्ता लाग्ने र औषधि आम जनताको पहुँचमा पुग्नेबेलासम्म कति मानवीय क्षति हुने हो आंकलन गर्न सकिँदैन । यसको प्रकृति, गति, स्वरुप र आयु समेत अनिश्चित भइरहेको सन्दर्भमा यसले १५० वर्ष यताकै सर्बाधिक ठूलो आर्थिक मन्दि हुनसक्ने सर्बेक्षण अर्थबिदहरुले गरेका छन् । संसारभर उद्धार र राहतका कैयौं प्याकेजहरु आएपनि यसले धेरै समय धान्ने अवस्था आउँदैन । अव यसको संक्रमण बढ्दै गयो र बन्दाबन्दि जारी राख्ने स्थिति रह्यो भने उत्पादन चक्रमै संकट उत्पन्न भएर बिश्वब्यापी खाध सुरक्षाको संकट श्रृजना हुने खतरा विश्व स्वास्थ्य संगठनले नै औंल्याइसकेको छ । यसले गरिबी र असमानतालाई पनि झन् बढावा दिनेछ । अहिलेसम्म धनीहरु धन थुपार्न ब्यस्त र गरिवहरु अभाब र बेचैनिमा जीवन गुजार्न बाध्य भइरहेको पृष्ठभूमिमा यस महामारीले झन् आर्थिक अराजकता निर्माण गर्ने खतरा छ ।

नेपालमा हालसम्म ४५ जना संक्रमित भएका छन् । ७ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोनाका कारण कसैको मृत्यु भएको छैन । यो हाम्रो लागी खुसीको कुरा हो कि हामीले सतर्कता अपनाउन प्रर्याप्त समय पाएका छौं । तर प्रर्याप्त समय भएपनि अब्यवस्थित राज्य, भ्रष्ट शाषक र प्रशासक, परनिर्भर मानसिकता आदी कारणले कोरोना संक्रमणको नियन्त्रणका कामहरु प्रभाबकारी बन्न सकिरहेका छैनन् । आफ्ना नागरिकहरुलाई सुरक्षीत गर्ने र ब्यवस्थापन गर्ने कामको लागी संसारमा राज्यहरुको निर्माण भएको हो । तर हाम्रो देशमा सरकारले प्रभाबकारी रुपमा देश बिदेशमा भएका नागरिकहरुको सुरक्षा र ब्यवस्थापन गर्ने काम गरिरहेको छैन । नेपालमा पहिलो संक्रमण देखिएको जनवरी २४ मा हो । त्यो बेलासम्म कोरोनाको संक्रमण चीन बाहिर फैलिसकेको थियो । त्यसपछिकोे करिव तीन महिनासम्म राज्य तहबाट सामान्य नियमित कार्य बाहेक युद्धस्तरमा कार्य गरेको देखिएन ।

स्वास्थ्य परीक्षण सामाग्री खरिद प्रक्रियामा नै कैयौं ढिलासुस्ती गर्ने र अनियमितता भएका समाचारहरु आएका छन् । यस सन्दर्भमा पूर्व प्रधानन्यायधीस शुशिला कार्की लेख्छिन् –‘यो मुलुकमा केही यस्ता प्रकृतिका मान्छे रहेछन् जो कहिल्यै परिवर्तन हुन सकेनन् । तिनको संस्कारमा कुनै परिवर्तन आउन सकेन । राणाकाल होस् या पञ्चायत, कांग्रेसकाल वा अहिलेको बामपन्थी कालसम्म पनि राज्यको श्रोत दोहन मात्र गर्ने क्षमताधारी गज्जबका रहेछन् । यो बर्ग त यस मुलुकको कोरोना भन्दापनि बलियो, नमर्ने, नजल्ने, नगल्ने, नसेलाउने, नहराउने, नसड्ने भाइरस रहेछन् ।’ यसप्रकारले हेर्दा राज्यले आफू विश्वसनीय ढङ्गले परिचालन नहुने, सरकारी गैरसरकारी तथा निजी क्षेत्रलाई सहकार्य र समन्वयका साथ अगाडि नबढाउने साथै सिमित ब्यक्ति, सिमित ब्यापारी र ठेकेदारहरुलाई प्रयोग गरेर यति ठूलो महामारीबाट पार पाउने महत्वकांक्षा राख्ने गर्यो । यसले हाम्रो राज्य वा सरकार केको लागी र कसका लागी भन्ने प्रश्न खडा गरेको छ ।

हाम्रो मुलुकका करिब ५० लाख युवा जनशक्ति रोजगारी र अध्ययनको सिलसिलामा भारत, खाडि राष्ट्र लगाएत अन्य विदेशी भूमिमा रहेका छन् । हाम्रो देशको अर्थतन्त्रको धेरै हिस्सा उनिहरुले पठाएको रेमिटेन्सबाट धानिएको छ । तर राज्यका निकायसँग विदेशमा गएका आफ्ना नागरिकहरुको यथार्थ विवरण छैन र उनीहरुको अवस्थाको बारे जानकारी लिने काम गरेको देखिँदैन । विदेशमा रहेका दूतावासहरुले समेत सम्बन्धित देशमा रहेका नेपालीबारे यथार्थ तस्विर दिन सक्दैनन् । सरकारका मान्छेको निहित स्वार्थ पुरा गर्नको लागी आफ्नो नजिकका मान्छेहरुलाई योग्यता र कार्यदक्षता बिपरित राजदूतमा नियुक्ति गर्ने परिपाटीले गर्दा उनीहरुले आफ्ना नागरिकहरु प्रति जवाफदेही र जिम्मेवार बन्न सकिरहेका छैनन् ।

नेपालमा रहेका कैयौं आफ्ना नागरीकहरुलाई अमेरिका, अष्ट्रेलिया चीन लगाएतका मुलुकहरुले बिमान चार्टर गरि लगेका छन् । भुटानले आफ्ना दुईजना नागरिकको लागी पचास सिटको जहाजनै पठाएर लग्यो । तर हाम्रो देशको सरकारले भारतीय सीमामा अलपत्र नेपालीलाई घर आउनबाट बन्चित गर्यो । हप्तौं दिनसम्म भोकै प्यासै बस्दा समेत सरकारले दुःख देखेन । महाकाली नदीमा जोखिम मोलेर आफ्नो देशको माटो छुन आएका निर्बस्त्र नेपाली नागरिकहरुलाई हत्कडी लगाउन प्रहरी तैनाथ गरियो । अलपत्र नेपालीलाई उद्धारको कार्य भएन । बरु भारततिरै धपाउने काम भयो । बिभिन्न उधोग तथा कम्पनीहरु समेत बन्द भएका र मालीकले घर तिर जान भनेपछि आफ्नो घर र परिवारसँग बस्ने उद्धेश्यका साथ आएका हजारांै नेपालीहरु अहिले पनि सिमानाहरुका गर्मिको धुपसँग लडिरहेका छन् । कोरोना भन्दा ठूलो पीडा सहेर बसेका छन् । यस्तो अवस्थामा आफ्ना नागरिक नचिन्ने अमानवीय हर्कतले सरकारको असली चरित्र उदाङ्गिएको छ ।

देशका कैयौं परियोजनाहरु र विकासका कार्यमा काम गर्ने र शहरमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु सबै काम रोकिएपछि दैनिक जीवन धान्न मुस्किल भएर आफ्नो घर जान खोज्दा त्यसको बन्दोबस्त गराइएन । बाध्यताको कारणले हप्तौ पैदल हिँडेर भोकै प्यासै घर गए । त्यसको बारेमा चिन्ता गरिएन । अहिले बल्ल कतिपय मन्त्री र सांसदको पहुँच पुग्नेहरुलाई घर पठाउने गरिएको छ । भारतका कैयौं शहरहरुमा अहिलेपनि लाखौं नेपालीहरु रहेका छन् । बिसौ हजारको संख्यामा भारतीयहरु संक्रमित भएका समाचारहरु आइरहेका छन् । त्यहाँ भएका नेपालीहरुको अवस्थाको बारेमा कुनै समाचार आइरहेको छैन । खाडी राष्ट्रहरुमा पनि कैयौं नेपालीहरु कोरोना संक्रमित भएको र केही संख्यामा मृत्यु भएका समाचार आइरहेका छन् । बेलायत र अमेरिकामा मात्र २० जना भन्दा बढी नेपालीको मृत्यु भएको जनाइएको छ । यसरी हेर्दा संसारभर रहेका नेपालीको अवस्थाबारे आधिकारीक स्थिती कस्तो छ ? कहाँ कहाँ कति नेपाली संक्रमित भए वा स्वास्थ्य स्थिती के कस्तो छ ? उनीहरुलाई कसरी उपचारको ब्यबस्था गर्ने ? देशभित्र आउन चाहेकालाई कसरी सुरक्षित ल्याउन सकिन्छ ? भन्ने कुरा राज्यले सोच्नुपर्दछ । त्यसको लागी प्रभाबकारी संयन्त्र बनाएर अध्ययन गर्ने र समस्यामा परेकालाई तत्काल उद्धार र राहतको ब्यवस्था गर्नुपर्दछ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनले अष्ट्रेलिया पुगेको एक वर्ष नबिताएका विद्यार्थी र तिनका आश्रीतहरुलाई आफ्नो देश फर्कन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकहरुलाई फिर्ता नलग्ने देश बिरुद्ध नाकाबन्दी लगाउने घोषणा गरेका छन् । यहि अप्रील २१ मा उनले २ महिनाको लागी भनेर भिसा प्रक्रिया र डिभी बन्द गरेका छन् । उनले आप्रवासीहरु बिरुद्ध अनुदारको नीति पहिलेदेखी लिएका थिए । कतार, मलेसिया, दुबई जस्ता देशहरुले पनि विदेशी नागरिकहरुलाई उदार भएर हेरेको पाइदैन । नेपाल लगाएतका विकासोन्मुख देशबाट युरोप अमेरिका जस्ता देशमा गएर काम गर्नै आप्रवासीहरु आइएलओको परिभाषा अनुसार अनौपचारिक कामदार हुन्छन् र उनीहरुको रोजगारदातासँग लिखित नियुक्तिपत्र वा औपचारिक करारनामा हुँदैन । त्यसैले कतिपय देशहरुले घोषणा गरेका राहत र उद्धारका प्याकेजमा सहुलियत प्राप्त गर्न उनिहरुलाई कठिनाई हुन्छ । अहिले कैयौं विदेशमा रहेका नेपालीहरु सहाराबिहीन भएका छन् । यस्तो अवस्थामा आफ्ना नागरिकहरुलाइ कूटनैतिक नियोगहरु परिचालन गरेर तत्काल उद्धार गरिनु आवश्यक छ । सजिलो समयमा विदेशमा रहेका नेपालीहरुको रगत र पसिनाबाट प्राप्त रेमिटेन्समा मस्ति गर्ने तर अफ्ठ्यारोको बेला वास्ता नगर्ने कार्य घोर अमानवीय कार्य हो ।

देशमा कैयौं सम्भावनाहरुको अध्ययन विकास गीरि रोजगारीका क्षेत्र पहिचान गर्ने र अवसर श्रृजना गरी युवाहरुलाई देशमै बस्ने वाताबरण बनाउनु पर्दछ । शासकहरुको सधैँभरिको सत्ता राजनीतिको लुछाचुडी र भ्रष्ट चरित्रको कारण नेपालमा सम्भावना नदेखी लाखौं नेपाली युवाहरु विदेशी पुँजीबादी र साम्राज्यबादी देशहरुको सेवा गर्ने र रक्षा गर्ने खेताला बनाइएको छ । विदशमा रगत र पसिना बगाएर नेपालको अर्थतन्त्र धान्दा वाह! भनियो । तर यस्तो प्रकारको बिपत्ति आउँदा उनीहरुलाई देशभित्रै ब्यवस्थापन गर्ने कुरा सोचिएन भने पूनः इतिहासले धिक्कार्ने छ । अहिले पनि नेपालमा कतिपय पूराना नयाँ विश्वविद्यालयहरु छन्, मेडिकल कलेज र अनुसन्धान केन्द्रहरु पनि छन् । तर उनीहरुले देशको लागी अध्ययन अनुसन्धानमा लाग्ने र नागरिक प्रतिको दायीत्व पुरा गर्ने भन्दा पनि निजी स्वार्थ र विदेशी डलर एजेन्सीहरुको इन्ट्रेस्ट पुरा गर्ने प्रकारले काम गरेको पाइन्छ । उनीहरुले विदेशीहरुकै डिजाइनमा रहेर कैयौं अनुत्पादक जनशक्ति निर्माण गर्ने र रोजगारबिहीन बनाएर अलपत्र पार्ने काम गरिरहेका छन् ।

नेपालको कृषि प्रणाली, उधोगधन्दा र रोजगारीका सम्भावनाहरुलाइ सखाप पार्न विदेशी दातृ निकायहरुले कैयौं एनजिओ आइएनजिओ मार्फत युवाहरुलाई गलत सन्देश दिँदै आएका छन् । सरकारी निकायले समेत त्यस्तै संस्थाहरुलाइ प्रोत्साहित गर्ने गरिरहेका छन् । यदि राज्य संयन्त्र लागेर युवाहरुलाई देशमा अवसर दिने प्रकारका कार्यक्रम ल्याउनेहो भने कुनै युवाहरु घर छोडेर विदेशी भूमिमा दुःख पाउन कदापी जाँदैनन् । अहिले पूर्ण बहुमतको सरकार छ । सरकारले चाहेमा उत्तिबेलै जस्तो निर्णय पनि गर्न सक्छ । यस्तो महामारीको बेला यो पनि एउटा अवसर हो । तर सरकार अन्य काममा ध्यान दिँदै आएको देखिन्छ । जस्तो कि सरकारले भर्खरै एकैदिनमा निर्णय गरेर बेमौसमी संबैधानिक परिषद र दल परिवर्तन सम्बन्धी अध्यादेश जारी गर्यो । यसरी हेर्दा सरकार खास योजनामा चिन्तित भएको देखिँदैन । यसले आफ्नो विश्वास गुमाउँदै गएको छ । यसले गर्दा भबिष्यमा झन् अस्थिरता र अराजकताको स्थिती श्रृजना हुन सक्छ ।

कोरोनाको महामारी सकिएपछि संसारको स्वरुप, सम्बन्ध र रोजगारीका प्रणालीहरु पनि परिबर्तित होलान् । त्यस्तो अवस्थामा अहिले नेपाल आइसकेका र पछि नेपाल आउने युवाहरु साथै देशभित्रै रहिआएका युवाहरुको भविष्यसँग राज्यको भबिष्य र समृद्धि जोडिएको छ । युवाहरुले आफ्नो माटोमा श्रम गरेर खान थालेपछि युरोप, अमेरिका, अरब वा ठूला हाकिम कर्मचारीको सपना पनि देख्दैनन् र राज्य प्रणालीको सुदृढिकरणमा टेवा पुग्छ । राष्ट्रिय अर्थतन्त्रको विकास हुन्छ । ठूलाठूला महामारी र बिपत्तिहरुको समयमा आत्मनिर्भर भई चुनौतिको सामना गर्न सकिन्छ । त्यसले राज्यले आफ्ना नागरिक चिनोस्, आफ्नो ब्यबहार परिवर्तन गरोस् र आफ्ना नागरिकहरुको उचित संरक्षण ब्यवस्थापन गरोस् ।।।
अनिल किशोर घिमिरे (डेमलाल) अध्यक्ष अखिल नेपाल युवक संघ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया