Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेमारको विकल्प सान्चो

   
133   पटक पढिएको

बार्सिलोना : स्पेनिस पावर हाउस बार्सिलोनाले आफ्नो पूर्वस्टार नेमारलाई समर ट्रान्सफरमा अनुबन्ध गर्न नसके जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा खेलाडी जाडोन सान्चोलाई भित्र्याउने तयारी गरेको छ। बार्सिलोनाले पहिलो प्राथमिकता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन

(पीएसजी) ले बेच्न तयार पारेको नेमारलाई नै दिएको छ।तर नेमारको अनुबन्ध सफल नभए उनको विकल्पमा सान्चोलाई राखेको अन्तर्राष्ट्र्रिय सञ्चार माध्यमले जनाएका छन्। बार्सिलोना सकभर कम मूल्य तिरेर सहज रूपमा नेमारलाई अनुबन्ध गर्न चाहन्छ। नेमारलाई बार्सिलोना फर्काउन कप्तान लियोनल मेसीले पनि जोडबल गरिरहेका छन्। नेमार फर्काउने विषयमा उनका प्रतिनिधि र बार्सिलोनाको व्यवस्थापनबीच छलफलसमेत भइरहेको छ। पीएसजीले हालै नेमारलाई बेच्न एक सय ३५ मिलियन पाउन्ड मूल्यसमेत तोकिसकेको छ। बार्सिलोनाले अघिल्लो समरमै ब्राजिलियन नेमारलाई फर्काउन चाहेको थियो। तर त्यतिबेला पीएसजीले नेमारको मूल्य एक सय ८६ मिलियन पाउन्ड राखेपछि बार्सिलोना पछि हटेको थियो।

२८ वर्षीय नेमार सन् २०१७ मा दुई सय २२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए। उनी पीएसजीमा त्यति खुसी नरहेको समाचारहरू बाहिरिएका छन्। पीएसजीले फुकुवा गरेपछि नेमारलाई बार्सिलोना फर्कने अवसर पनि जुरेको छ।तर बार्सिलोना आर्थिक वा अन्य कारणले नेमारलाई फर्काउन नसक्दा उनको स्थानमा युवा स्टार सान्चो अनुबन्ध गर्ने पक्षमा छ। इङ्ल्यान्डका २० वर्षीय सान्चोलाई बेच्न डर्टमन्ड पनि तयार भइसकेको छ। सान्चोका लागि डर्टमन्डले हालै एक सय मिलियन पाउन्ड मूल्य तोकेको थियो। अहिले सान्चोलाई अनुबन्ध गर्न युरोपका ठूला क्लबले पनि आँखा लगाइरहेका छन्। सान्चोलाई अनुबन्ध गर्न बार्सिलोनासँगै प्रिमियर लिग क्लब लिभरपुल,

म्यानचेस्टर युनाइटेड र चेल्सीदेखि इटालियन क्लब युभेन्ट्स र जर्मन क्लब बायर्न म्युनिख पनि लालायित छन्। सन् २०१७ मा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट डर्टमन्ड पुगेका २० वर्षीय सान्चोले डर्टमन्डमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

सान्चोले डर्टमन्डमा यस सिजन ३५ खेल खेल्दै १७ गोल गरिसकेका छन्। उनले १९ गोलका लागि सहयोग पनि गरेका छन्। डर्टमन्डमा तीन वर्षमा सान्चोले कुल ६९ खेल खेल्दै २७ गोल गरेका छन्। सान्चो इङ्ल्यान्ड सिनियर राष्ट्रिय टोलीका समेत खेलाडी हुन्। सन् २०१८ देखि राष्ट्रिय टोलीमा स्थान बनाएका सान्चोले देशका लागि ११ खेल खेल्दै दुई गोल गरेका छन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया