Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

हाम्रो राष्ट्रवाद चिरनिद्रामा परेर चीरहरण भएको हो कि?

   
185   पटक पढिएको

कृष्ण प्रसाद आचार्य ,सन्धिखर्क।
बैशाख २९,अर्घाखाँचीबुलेटिन -हाम्रो सीमा मिचिँदा, आफ्नै भूमि अर्काको नक्सा र नियन्त्रणमा रहँदा कुन नेपालीको रगत उम्लदैन र? मौसम पनि गरमागरम राजनीतिमा विस्तारै गरम र राष्ट्रिय भावमा एकाएक ‘हाइफिवर’ देखिएको छ।

कोरोना भाइरसको अट्याक पनि सुस्तरी भित्रिएको छ। हर नेपालीले आफ्नो मुटु चोइटिएको र शीरमा बज्र परेको अनुभूति गरेका छन्। देशको भूभाग भारतीय आधिकारिक नक्शामा समेटिँदा नेपाली छाति चरक्क चर्किएको छ, रगत उम्लिएको छ।

त्यसैले गोर्खे गर्जन निस्कन्छ, ‘हाम्रो भूमिको एक मुठी माटो पनि चोर्न दिँदैनौ। दुर्भाग्य हामी सपनाबाट ब्युझिएका छौं कि, विपनामा बुझ्न गाह्रो भएको छ। वर्षौअघि शुरू भएको सडक निर्माण अभियान समाप्त भएर उद्‌घाटन भएपछि मात्र थाहा पाउने हाम्रो निन्द्रा कति गहिरो र कति लामो रहेछ।

किन चीर निन्द्रामा सुत्यौं हामी यतिन्जेल समीक्षा सबैले गर्नु पर्दैन र? हाम्रो राष्ट्रवाद चीर निन्द्रामा परेर चीरहरण भएको हो कि? तर्क, प्रमाण र कारण भारतका पनि छन् कि? कुटनीतिक संवाद र प्रधानमन्त्रीस्तरमा राजनीतिक संवाद अत्यन्त जरूरि देखिन्छ।

गत फागुनमा मात्र लिपुलेक निरीक्षण गर्न गएको रक्षामन्त्रीको टोलीले त्यतिबेला यो सडक निर्माण हुँदै गरेको देखेन? हाम्रो सीमा मिचिएको हाम्रो भूमिमा भारतीयको परेड के आजको मात्रै समस्या हो? के त्यहाँ दार्चुलामा प्रहरी, प्रशासन, नेपाली राजनीतिक दल तिनका प्रतिनिधि र राज्यको उपस्थिति लिपुलेक, कालापानी र लिम्पियाधुरा आसपासमा थिएनन्? कि बोर्डर शील गरेर पर्दा हालेर निर्माण कार्य गरियो? वहश आजको मात्रै हो? रातारात राष्ट्रवादी कहलिन बिरोधको वक्तब्यबाजी गर्ने सरकार अनि अरू पार्टी र देशभक्त नागरिकहरू कहाँ र कुन लोकमा थिए? कुन दुलोमा पसेका थिए?

मुसोलिनी भन्थे रे, ‘साना र निर्वल राष्ट्रलाई यो संसारमा रहने कुनै अधिकार छैन।’ सानो भौगोलिक सीमा र करिब करिब तीन करोड मात्रै जनसंख्या बोकेर विश्व मानचित्रमा आफ्नो उपस्थिति र अस्तित्व देखाउनु हाम्रो लागि पक्कै निर्वल हुनुको प्रमाण होइन होला। बलशाली देशले निर्वल र सानो राष्ट्रलाई जे सुकै गर्ने छुट आधुनिक कानुन र सभ्यताले ठिक मान्दैन। विशाल दुई ठूला छिमेकी राष्ट्र भारत र चीनको बीचमा आफ्नो अस्तित्व जोगाउन नेपाललाई मुसोलिनीले भने झैँ भएको भान बारम्बार भएको छ। सानो हुनु निर्वल हुनु हाम्रो कमजोरी यसर्थ पनि होइन कि, संसारमा नेपालभन्दा साना, भौगोलिक सीमा भएका अरू थुप्रै राष्ट्र छन्।

राष्ट्र र राष्ट्रियता, स्वाभिमान र सम्मान सानो ठूलो भूगोल र सीमाको आधारमा मापन गरिन्न। राष्ट्र सानो, ठूलो छ, हुनसक्छ तर सार्वभौमसत्ता सानो ठूलो हुँदैन स्वाभिमानको उचाई कम, बेसी हुँदैन। सानो भूमि भएकै कारण छिमेकीबाट हेपिनु, चेपिनु र छोपिनुपर्ने नियति कुनै पनि सार्वभौम मुलुकका लागि सह्य विषय होइन र छैन पनि।

हामी सुगौली सन्धी १८१६ देखि जुन सीमामा रहन बाध्य छौं अब त्यो भन्दा वर आएर बाँकी भूगोल मिचाउने कुनै रहर र सौख छैन। तर पनि बेला बेला हाम्रा सीमाहरू रातारात मिचिन्छन् जंगे पिलरहरू उखेलेर गायब पारिन्छ्न् र नेपाली सीमा खुम्च्याउँन छिमेकी साँघुरो छाति लिएर प्रस्तुत हुन्छ। यतिबेला पनि भारतले हाम्रो भूमि आफ्नो नक्सामा राखेर हामीमाथि विस्तारवादी चरित्र मात्र प्रदर्शन गरेको छैन, सडक निर्माण गरेर हाम्रो अस्मितामाथि बलात्कार गरेको छ।

विगतदेखि नै भारतले हाम्रो भूमि र हाम्रो अस्मितामाथि बारम्बार गिद्दे नजर लगाएर दाह्रा, नंग्रा धसेको नमिठो अनुभव र अनुभूति छ। विशाल छिमेकी राष्ट्र भारतसँग हाम्रो २६ जिल्लामा साँध सीमा जोडिएको छ। जसमध्ये तीन जिल्लाहरू धनुषा, बैतडी र डडेल्धुराबाहेक अन्यत्र धेरथोर सीमा विवाद छ, भारतले सीमा मिचेको कुरा सिमाविद र अरू अन्वेषकहरू अनि सीमामा बसेर भारतीय ज्यादतीको शिकार बन्ने सीमारक्षक नेपाली बताउँछन्।

सीमा कहाँ कति मिचियो कहिदेखि मिचिन पुग्यो त्यो मेरो आलेखको खोज होइन। तर किन सधैं हाम्रो सीमा मिचिन्छन्? हाम्रा कमजोरी, बाध्यता र भारतको हामीलाई हेर्ने नजरबारे सानो र भावनात्मक समीक्षा मात्र हो।

‘भारतले हामीलाई मित्रको रूपमा भन्दा ठूलो दाइको हैकमी सान देखाउँछ’ भन्ने अनुभूति धेरै नेपाली समकक्षी नेताले बेलाबखत बोलेको लेखेको तीतो सत्य हो।

आजको एक्काईसौं शताब्दीमा पनि हामीलाई हेर्ने नजर र गर्ने ब्यवहारमा भारतले बदलाव ल्याएको छैन जसको ताजा उदाहरण हो, भूकम्प, बाढी पहिरोलगायत दैवी र प्राकृतिक प्रकोपले थिलथिलो भएको बेला पनि नाकाबन्दीको घोर अमानवीय उपहार दियो। सबैभन्दा नजिकको छिमेकी दुःखमा सबैभन्दा पहिले हार गुहार माग्नुपर्ने छिमेकी मौकामा हामीमाथि निर्लज्ज हमला गर्न तयार हुन्छ र भरअभर दुःख दिईरहन्छ।

आज पनि कोरोना कस्टमा विश्व दुःखेको बेला उसले हाम्रो भूमि मिचेर खनेको सडक सुभारम्भ गर्ने मौका छोप्यो। मुटुमा किला ठोकेपछि नदुख्ने र नरूने कुन आत्मा होला र हामीलाई पनि छिमेकीले गर्ने दुर्व्यवहार सम्झँदा मुसोलीनिले भनेको सम्झना हुन्छ। कमजोर र निर्वलहरूलाई यो संसारमा रहने हक छैन अनि मोदीको अनुहारमा मुसोलिनीको प्रतिबिम्ब झल्किन्छ।

सीमाविदहरू भन्छन् अहिले नयाँ चोट लागेको होइन पुरानै घाउ बल्झेको हो। घाउ हाम्रा तर्फबाट बल्झाइएको होइन, भारतीयले फेरि नुनचुक छरिदिएका हुन्। घाउ बल्झाएका हुन्। घाउ बल्झाउनुमा हाम्रो कमजोर कुटनीतिक क्षमता र हीनताबोधले काम गरेको छ। आम नेपालीले पाएको आभाष पनि यही हो !!

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया