Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रहेनन् गुल्मीका कोरोना संक्रमित ४१ वर्षिय शिक्षक

   
243   पटक पढिएको

बुटवल, जेठ ०८ । कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । रुपन्देही मणिग्राम स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो ।

अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ ।

मृतक कङ्के देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताइएको छ ।

मन्त्री बरालका अलावा पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सांसद चन्द्र भण्डारी, नेपाली कांग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठ लगायतले सामाजिक सन्जाल मार्फत मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

गत बैशाख २५ गते सामान्य ज्वरो र त्यसपछि खोकीबाट पीडित उनले स्थानीय मेडिकल, अर्घाखाँची हुँदै क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । भर्ना भएदेखि उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइफङ्सन सिन्ड्रोम) थियो । जेठ १ गते आइसीयूमा भर्ना भएका उनलाई जेठ २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

अवस्था गम्भीर हुँदै गएपछि जेठ २ गते उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ गरिएको परीक्षणमा सोमबार उनलाई कोरोना संक्रमण देखिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया