Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एटलेटिकोसँग बराबरी खेलेपछि बार्सिलोना दोस्रो स्थानमै

   
158   पटक पढिएको

एजेन्सी। स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदानमा एटलेटिको म्याड्रिडसँग बराबरीमा रोकिएपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा नै अड्केको छ । नोउ क्याम्पमा दुई पटक अग्रता लिएपनि २-२ को बराबरी खेलेपछि बार्सिलोनाले रियललाई उछिन्ने अवसर गुमायो ।

खेलको ११ औं मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । कप्तान लिओनेल मेस्सीको कर्नर प्रहारमा डिएगो कोस्टाले आफ्नै पोस्टमा गोल गरेपछि घरेलु टोली अगाडी बढेको थियो । त्यसअघि मेस्सीकै फ्रिकिकलाई कोस्टाले पोस्टको नजिकबाट क्लियर गरेपछि कर्नर प्राप्त भएको थियो ।

खेलको १९ औं मिनेटमा एटलेटिकोले बराबरी गोल फर्कायो । सौल निगुएजले दोस्रो पेनाल्टी प्रहारमा एटलेटिकोका लागि गोल गरेका थिए । आर्टुरो भिडालले यानिक करास्कोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर डिएगो कोस्टाको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पारे ।

रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयता लिँदै पछिल्लो पेनाल्टीलाई मान्यता दिएनन् । गोलरक्षक स्टेगन कोस्टाले पेनाल्टी हान्नुअघि नै गोललाइनबाट अगाडी बढेको कारण एटलेटिकोले पुन: पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । दोस्रो अवसरमा भने साउल निगुएजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

४२ औं मिनेटमा मेस्सीले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिकलाई गोलरक्षक यान ओब्लाकले उत्कृष्ट बचाउ गरे । इन्ज्युरी समयमा डिएगो कोस्टाको प्रयासलाई जोर्डी अल्बाले विफल पार्दै खेल बराबरीमा राखे ।

दोस्रो हाफको सुरुवातमै बार्सिलोनाले पेनाल्टीको अवसर प्राप्त गर्यो । एटलेटिकोका फेलिपेले नेल्सन सेमेडोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले पनेंका चिप प्रहार गर्दै यान ओब्लाकलाई विपरित दिशामा पठाएपछि खेलमा बार्सिलोनाले अग्रता लियो । यो मेस्सीको करिअरको ७ सयौं गोल पनि थियो ।

खेलको ५५ औं मिनेटमा एटलेटिकोले खेल बराबरीमा ल्याउने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । आरियासको क्रसमा डिएगो कोस्टाको हेडर पोस्टभन्दा थोरैले बाहिर गएको थियो ।

६२ औं मिनेटमा रेफ्रीले एटलेटिकोलाई अर्को पेनाल्टी दिए । नेल्सन सेमेडोले पेनाल्टी क्षेत्रभित्र यानिक करास्कोलाई लडाएपछि रेफ्रीले निर्णय दिएका थिए । अघिल्लो पटक गोल गरेका साउलले नै दोस्रो पेनाल्टी पनि लिए । यसपटक उनको प्रहारको दिशा टेर स्टेगनले ठम्याउन सकेपनि बल उनलाई लाग्दै गोलमा परिणत भएको थियो ।

इन्ज्युरी समयमा एटलेटिकोका लेमारले सुवर्ण अवसर खेल फालेपछि बार्सिलोना हारबाट जोगियो । काउन्टर अट्याकमा उनले गोलरक्षक बिट भएको अवस्थामा बलमा नियन्त्रण गर्न नसक्दा खेल बराबरीमा नै सकिएको थियो ।

बार्सिलोनाको ३३ खेलमा ७० अंक भएको छ । एटलेटिको भने ३२ खेलमा ५९ अंकसाथ तेस्रो स्थानमा नै यथावत छ । यस नतिजाले रियलले अंक तालिकामा १ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियलले बिहीबार गेटाफेसंग खेल्नेछ । हाम्रो खेलकुद बाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया