Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

युभेन्टसको जितमा रोनाल्डो र डिबालाको गोल : यस जितसँगै युभेन्ट्सले लिगको शीर्षस्थानमा ४ अंकको अग्रता कायम राख्न सफल

   
164   पटक पढिएको

एजेन्सी। इटालियन सिरी ए अन्तर्गत शीर्षस्थानको युभेन्टसले मंगलबार रातिको खेलमा जेनोआलाई ३-१ को अन्तरले पराजित गरेको छ । खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

पहिलो हाफमा बल पोसेसन र आक्रमणमा एकतर्फी दबाब कायम गरेपनि युभेन्टसले गोल गर्न भने सकेन । दोस्रो हाफमा भने थप आक्रामक देखिएको युभेन्टसले पाउलो डिबालाको गोलमा अग्रता लियो । ५० औं मिनेटमा जुआन क्वाडराडोको पासलाई पेनाल्टी क्षेत्रभित्र लाग्दै डिबालाले राम्रो फिनीस गरेका थिए ।

अग्रता लिएको ६ मिनेटपछि नै युभेन्टसले अग्रता दोब्बर पार्यो । क्रिस्टियानो रोनाल्डोले लिग सिजनको २४ औं गोल गर्दै खेलमा बलियो पकड बनाए । मिरालेम प्यानिचको पासलाई जेनोआको हाफको आधा भाग बल अगाडी बढाएपछि झन्डै २५ यार्ड टाढाबाट रोनाल्डोले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ७३ औं मिनेटमा डग्लस कोस्टाले अर्को उत्कृष्ट गोल गरे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । त्यसको दुई मिनेटमा नै जेनोआले गोल गर्दै खेलमा फर्कने संकेत देखायो । आन्द्रीए पिनामोन्टीले एन्टोनियो बार्रेकाको पासमा गोल गरेका थिए ।

त्यसअघि लाजियोले टोरिनोको मैदानमा २-१ को जित दर्ता गर्दै युभेन्टसमाथि दबाब राखेको थियो । लाजियोले पहिलो हाफमा पछाडी परेपनि दोस्रो हाफमा २ गोल फर्काउँदै उपाधि होड रोमान्चक बनाएको हो । आन्द्रीए बेलोट्टीले पाँचौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको तेस्रो मिनेटमा नै चिरो इम्मोबिलेले उच्च लयलाई कायम राख्दै खेल बराबरीमा ल्याए । उनले लुइस अल्बर्टोको पासलाई गोलमा परिणत गरेका थिए । ७२ औं मिनेटमा इम्मोबिलेकै पासमा मार्को पारोलोले गोल गर्दै लाजियोको जित पक्का गरेका थिए ।

यस जितसँगै युभेन्ट्सले लिगको शीर्षस्थानमा ४ अंकको अग्रता कायम राख्न सफल भयो । युभेन्टसको २९ खेलमा ७२ अंक छ । दोस्रो स्थानको लाजियोको २९ खेलमा ६८ अंक रहेको छ ।श्रोत -हाम्रो खेलकुद 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया