Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एमसिसी इन्डोप्यासिफिकको रणनिती अंग नै हो,त्यस राष्ट्रघाती विषयलाई पुन:छलफलमा ल्याउनु गम्भिर त्रुटी: नेकपा (मसाल)

   
162   पटक पढिएको

अर्घाखाँची। एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएको र त्यसले हाम्रो देशको असंलग्न परराष्ट्र नीतिलाई समाप्त पारी अमेरिकी साम्राज्यवादी पक्षमा सामेल गराउने सक्ने चेतावनी दिंदै त्यसका विरुद्धमा नेपालमा सङ्घर्ष हुँदै आएको छ । सरकारले त्यो सम्झौतालाई पहिले नै नेपालको संसदबाट पारित गर्न खोजेको भएपनि नेपाली जनताको व्यापक विरोध र सङ्घर्षका कारण अहिलेसम्म त्यसलाई पारित गर्न सरकारलाई सम्भव भएको छैन ।

पछिल्लो समयमा “अमेरिकी पक्षले पुनः नेपालमा त्यो सम्झौताको कार्यान्वयनको लागि चासो राखेको र नेपाल सरकारका अधिकारीहरूले त्यससम्बन्धी गम्भीर छलफल गरिरहेको र चिन्तित हुनुपर्ने अवस्था नरहेको” भन्ने सार्वजनिक भएको समाचारप्रति नेकपा(मसाल)को गम्भिर ध्यानाकर्षण भएको भन्दै पार्टीका केन्द्रिय प्रवक्ता रामप्रकाश पुरीद्वारा हस्ताक्षरित एक वक्तव्य नै जारी गरेको छ।

वक्तव्यको पुर्ण पाठ यस्तो छ:

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरुद्धमा नेपालमा विरोध र आन्दोलन हुँदै आएको छ । एमसीसी सम्झौताले नेपालको सार्वभौमिकतालाई चुनौति दिएकोले त्यसलाई नेपालको संसदबाट पारित गर्नबाट रोक्न विगतमा जनताको व्यापक आन्दोलन भएको कुरा स्पष्ट छ । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएको र त्यसले हाम्रो देशको असंलग्न परराष्ट्र नीतिलाई समाप्त पारी अमेरिकी साम्राज्यवादी पक्षमा सामेल गराउने सक्ने चेतावनी दिंदै त्यसका विरुद्धमा नेपालमा सङ्घर्ष हुँदै आएको छ । सरकारले त्यो सम्झौतालाई पहिले नै नेपालको संसदबाट पारित गर्न खोजेको भएपनि नेपाली जनताको व्यापक विरोध र सङ्घर्षका कारण अहिलेसम्म त्यसलाई पारित गर्न सरकारलाई सम्भव भएको छैन । पछिल्लो समयमा “अमेरिकी पक्षले पुनः नेपालमा त्यो सम्झौताको कार्यान्वयनको लागि चासो राखेको र नेपाल सरकारका अधिकारीहरूले त्यससम्बन्धी गम्भीर छलफल गरिरहेको र चिन्तित हुनुपर्ने अवस्था नरहेको” भन्ने समाचार सार्वजनिक भएका छन् । यसको अर्थ एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गराउनका लागि अमेरिकी पक्ष तथा नेपालको सरकारले पनि बिभिन्न चलखेल गरिरहेको कुरा प्रष्ट हुन्छ । हामीले आफ्नो देशको सार्वभौमिकता, स्वतन्त्रता तथा स्वाधीनताको दृष्टिबाट नेपाल सरकारलाई बारम्बार त्यो सम्झौताको राष्ट्रघाती पक्षमाथि विचार गरी त्यसलाई पुरै खारेज गर्नका लागि बारम्बार ध्यान आकर्षण गराउनका साथै सङ्घर्ष र आन्दोलन गर्दै आएका छौँ । एमसीसी सम्झौता कार्यान्वयनको विषय उत्पन्न भएपछि सुरुमा अमेरिकी अधिकारीहरूबाट नै त्यो इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएको भन्ने भनाइहरू सार्वजनिक भएका थिए ।पछि त्यसबारे नेपालमा व्यापक विरोध भएपछि नेपाली जनतालाई गुमराहमा राख्दै नेपालको सरकार तथा स्वयम् अमेरिकी पक्षबाट समेत ढाकछोप गर्ने काम हुँदै आएको छ । अहिले एमसीसीसम्बन्धी अमेरिकी चासो र नेपालका अधिकारीहरूले त्यो सम्झौता कार्यान्वयन गर्नका लागि देखाएको प्रतिबद्धताबारे जुन समाचार प्रकाशित भएका छन्, त्यसले नेपालको सार्वभौमिकताका विरुद्ध एमसीसीको आवरणमा अँझै षडयन्त्र जारी रहेको कुरा अवगत हुन्छ । त्यसप्रकारको कार्य नेपालको सार्वभौमिकता विरुद्ध गरिने षडयन्त्र हो र त्यसलाई हामीले विरोध गर्दछौँ । यसका साथै हामीले नेपाल सरकारलाई नेपाली जनताको भावना विपरित त्यो सम्झौताका पक्षमा कार्य नगर्न र देशको सार्वभौमिकतालाई रक्षा गर्नका लागि जनताको साथमा रहेर काम गर्न सुझाव पनि दिन चाहन्छौँ । तर सरकारले त्यसो नगरेमा देशभक्त नेपाली जनताले सङ्घर्ष गरेर नै देशको सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्नुपर्ने आवश्यकता छ । जनताको आन्दोलनले नै देशको सार्वभौमिकताको रक्षा गर्नेछ भन्ने हामीलाई पुरा विश्वास छ । हामीले सम्पूर्ण जनतालाई त्यसका लागि सजक र सर्तक रहन आव्हान गर्दछौँ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया