Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कालिगण्डकी नदी माथि निर्माण गरिएको विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो झोलुङगे पुल खुल्ला गरियो

   
308   पटक पढिएको

बाग्लुङ्ग। कालिगण्डकी नदी माथि निर्माण गरिएको विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो झोलुङगे पुल खुल्ला गरिएपछि सर्वसाधारणको भीड लागेको छ । बागलुङ र पर्वत जिल्ला जोड्ने उक्त पुलको निर्माण कार्य सम्पन्न भएपछि शुक्रबारबाट खुल्ला गरिएको हो ।

पुल सञ्चालन भएसंगै पुल अवलोकन तथा घुम्न जानेहरुको लर्को लागेको छ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रास अझै बाँकी रहेपनि बागलुङ—पर्वत जोड्ने पुल खुलेसंगै मानिसहरुको भिडभाड बढेको छ ।

शुक्रबार मात्रै सयौँको संख्यामा मानिसहरु पुल वारीपारी गरिरहेका थिए । पुल निर्माणको काम गत बैशाख महिनामा सकिएको भएपनि कोरोना भाइरस रोकथामका लागि सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउनका कारण भने पुल सञ्चालनमा ल्याइएको थिएन । शुक्रबारबाट सर्वसाधारणका लागि पुल खुला गरिएको भएपनि हस्तान्तरण भने अझै भएको छैन ।

पुल सञ्चालन भएसंगै स्थानीय पर्यटकहरुको आगामन भएको छ भने घण्टौँ लगाएर बागलुङ आउनुपर्ने र पर्वत जानुपर्ने समस्या हटेको स्थानीयबासी बताउछन् । कुश्मा नगरपालिका—१ का धुर्वराज हमाल शुक्रबार नै नास्पती तथा तरकारीहरु बिक्रि गर्न पाङ देखि बागलुङ आएका थिए ।

पुल खुलेपछि मानिसहरु पनि घुम्न आउछन् भनेर फलफुल बिक्रिका लागि आएको बताए । उनले बषौँ पहिले देखि तरकारी तथा फलफुल खेती गर्दै आएका छन् । यसअघि बजारिकरणका लागि समस्या भएको भएपनि पुल खुलेपछि अब बजार पाउन सहज हुने विश्वास लिएको बताउछन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडकको ठिक माथि पुल निर्माण भएपछि बागलुङ, पर्वत, म्याग्दी संगै मुस्ताङ जाने पर्यटकहरु एवं अन्य क्षेत्रका पर्यटकहरुलाई पनि आकर्षित गर्न सकिने पर्यटन व्यवसायीहरु बताउछन् ।

कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा असर गरेको भएपनि विस्तारै व्यवसायलाई उठाउदैँ लैजाने योजना बनाएको व्यवसायीहरुको भनाई छ । यस पुलले पनि पर्यटन क्षेत्रको विकासमा थप मद्धत पुग्ने उनीहरुको भनाई छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाण्डौका अनुसार प्राविधिक अध्ययन र परीक्षण गरिएकाले अब हस्तान्तरण गर्ने अन्तिम तयारीमा रहेको भन्दै पुल सञ्चालन गर्न लगाइएको बताएको छ ।

ठेक्का सम्झौता भन्दा तीन महिना अघि नै निर्माणको काम सकिएको पुल सञ्चालनमा आएपछि पुल अवलोकन गर्न गएका व्यक्तिहरुले भने केही टिकाटिप्पणी गरेका छन् । पुलमा हिड्दा धेरै हल्लिएकाले दुर्घटना समेत हुन सक्ने भन्दै यसको सही प्राविधिक मुल्याङकन गर्नुपर्ने स्थानीयबासीको माग छ । बागलुङ नगरपालिका—५ मालिकाका जयभद्र रेग्मीले पुल तर्दा धेरै हल्लिएपछि डर लागेको बताए । उनले राज्यका सम्बन्धित निकायबाट यसको समयमा नै अनुगमन गर्नुपर्ने बताउछन् ।

बि.स २०७५ चैतदेखि शुरु भएको पुल निर्माण कार्य आगामी २०७७ साल असार मसान्तमा सक्ने सम्झौता भए पनि गत बैशाखमा निर्माण सकिएको थियो ।

थानी/बिएलटी/हिमशिखर कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको पुलको एक साथ ६१२ जना अर्थात ८५ मेट्रिक टन क्षमता रहेको बताइएको छ। शुरुमा १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु.६ करोड ९१ लाखमा सम्झौता भएको थियो । श्रोत - news24nepal.tv

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया