Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कृषिको अवस्था र अबको बाटो :डा. दोविन भुसाल

   
208   पटक पढिएको

 डा. दोविन भुसाल। हाम्रो मुलुकमा कूल ग्रार्हस्थ उत्पादनको एक तिहाइभन्दा बढी योगदान कृषिक्षेत्रबाट भएको छ । नेपालमा दुई तिहाईभन्दा बढी जनसंख्या रोजगारी र जीविकोपार्जनका लागि कृषि क्षेत्रमै निर्भर छन् । नेपालको समग्र कृषिक्षेत्रमा निर्भर छ भन्दा अत्युक्ति हुन्न । नेपालको गरिबी न्यूनीकरण र रोजगारी बृद्धि आजको मूल चुनौतिको विषय हो । खाद्यान्न पोषण सुरक्षादेखि व्यापार सन्तुलन र देशको समग्र आर्थिक रुपान्तरण पनि आजको मूलभूत मुद्दा हो । विश्वभरि नै मूल्य वृदीको चाप परेको छ । खाद्यान्न लगायत तरकारी, फलफूल, माछा मासुमा हामी मूल्य बृद्धि को ठूलो चापमा छौं अहिले। खाध्य वस्तुको पर्याप्त उपलब्धता र खाध्य सुरक्षा आजको अर्को चुनौति बनेको छ । उत्पादनमा कमी, विषादीको अधिक प्रयोगका कारण मानव स्वास्थ्यमा समस्या र जलवायु परिवर्तनको नकारात्मक असर जस्ता विषम परिवेशले हामीलाई यसबारे थप सोच्न बाध्य बनाएको छ ।

हाल झण्डै पाँच लाख नव युवाहरु मुलुकबाट वर्षेनी विदेशिने क्रममा छन् । कृषिक्षेत्रको श्रम शक्ति विदेशमा पोखिएको अवस्था छ अहिले । विदेश मोहित भएका सक्षम श्रमशील जनशक्तिलाई मुलुकभित्र रोजगार दिलाई युवा मैत्री, व्यवसायिक खेती र पशुपालन तर्फ हामीले आकर्षित गराउनु परेको छ । यसर्थ फराकिलो आधार भएको रोजगार केन्द्रित, समावेशी र दिगो आर्थिक बृद्धि हासिल गर्ने खालको नविन सोचका साथ हामी सबैले अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको छ । कृषिक्षेत्रमा व्यापक प्रचार प्रसार, कृषि अनुसन्धान एवं खाध्य प्रविधि कार्यक्रमको प्रभावकारिताका साथ अघि बढ्दै उत्पादन सामग्रीको बृद्धि , नश्ल सुधार, बजारीकरणमा व्यापक बृद्धि गरी गराई कृषिक्षेत्रलाई बढी प्रतिश्पर्धी र व्यवसायिक बनाउनुपर्ने हुन्छ । कृषि विकास कार्यक्रमबाट आय आर्जन, कृषि क्षेत्रमा आधुनिक प्रविधि, जलवायु परिवर्तन र विपद अनुकूल वातावरण मैत्री प्रविधिको खोज र अनुसन्धानतर्फ हाम्रो उद्धेश्य केन्द्रित हुनुपर्ने देखिन्छ ।

अबको बाटो

सामान्यतः कुनै पनि कृषि उपज उत्पादन र बजारीकरणको हिसाबले आयात प्रतिस्थापन वा निर्यात प्रवर्द्धनमा सघाउ पुर्याउने भनि वर्गिकरण गरिएको हुन्छ। आलु, प्याज, लसुन, स्याउ, केरा, अनार लगायत तरकारी र फलफूल बालीहरु तथा बाखा, माछा, भैसी, दूध नेपालमा बढी आयात हुने वस्तुहरु हुन् । त्यसै गरि, निर्यात हुने बालीरवस्तुहरुमा अदुवा, अलैंची, पश्मिना, मह, कफि, जडिबुटी, चिया आदि पहिचान गरिएको छ । यस सन्दर्भमा, कृषि क्षेत्रबाट रोजगारीका नयाँ अवसर सृजना गर्न बढी आयात हुने गरेका उपरोक्त बालीरवस्तुहरुको स्वदेशमै उत्पादन गर्ने र स्वदेशी उत्पादनको उपभोग सम्बन्धी चेतना फैलाउन जरुरी भएको छ । यस्ता बालीरवस्तुको उत्पादनमा साना तथा मझौलास्तरका कृषि औजार तथा यन्त्रहरुको स्वदेशमै उत्पादन तथा प्रयोग गरी कृषि व्यवसायको माध्यमबाट रोजगारीका अवसरहरु सृजना गर्ने अनि धेरै भन्दा धेरै कृषकहरुको संलग्नताबाट उत्पादन बृद्धि गरी आयात परिमाण घटाउने तर्फ सरकार र निजी क्षेत्रले सोच्नुपर्दछ।

सन् २००४ मा नेपाल पनि विश्व व्यापार संगठनको सदस्य भएको हो । विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको हुँदा यहाँका उत्पादनहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढि प्रतिश्पर्धी हुनु आवश्यक छ। त्यसैले निर्यात योग्य बाली वस्तुहरुको उत्पादन तथा प्रशोधनमा उन्नत प्रविधिहरुको अवलम्बन गरी उत्पादन लागत घटाउनु साथ साथै गुणस्तर अभिबृद्धि हुने गरी ठूला खालका अत्याधुनिक कृषि औजार उपकरणहरुको प्रयोगमा प्रोत्साहन दिने व्यवस्था सरकार र अन्य सरोकार निकायहरुले गर्नु आवश्यक छ । उत्पादित कृषि उपजहरुको प्रशोधन सम्बन्धी आवश्यक संरचना, प्रविधि र श्रोतको व्यवस्था हुन नसक्दा अलैंची, अदुवा, जडिबुटी, कफि जस्ता बालीहरुको कच्चा अवस्थामा तथा कम मूल्यमा निर्यात गर्नु परेको छ । यसले गर्दा उपजको मुनाफाको ठूलो हिस्सा नेपाली कृषकहरुले गुमाईरहेको अवस्था छ।

 अन्त्यमा, कृषि क्षेत्रमा श्रमिकको आवश्यकता सामान्यतः मौसमी प्रकृतिको हुन्छ, उच्च माग हुने समयमा श्रमिकको अभाव धेरै हुने भएकोले यान्त्रीकरण बाध्यता भएको छ । केही स्थानमा धेरै जग्गामा व्यवसायिक खेती र पशुपालन गर्ने कृषक र उद्यमीहरुले आवश्यक समय, परिमाण र सीपयुक्त कामदार नपाउँदा यान्त्रीकरणको सहारा लिनुपरेको अवस्था रहेको छ । यसको साथै, घट्दो युवा श्रमशक्तिले गर्दा श्रम र शक्तिको बचत हुने तथा महिला मैत्रि र कम श्रम लाग्ने यान्त्रीकरण आजको आवश्यकता हुन पुगेको छ। तसर्थ, कृषि यान्त्रीकरणको माध्यमबाट कृषि क्षेत्रको आधुनिकिकरण गरि बढि प्रतिस्पर्धी बनाई रोजगारीका अवसरहरु श्रृजना गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बन्धित सबै सरोकारवालाहरुले तदारुकता देखाउनुपर्दछ । (लेखक भुसाल पशु चिकित्सक हुन् ।)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया