अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाई, ४ महिनामा २० प्रतिशत भौतिक प्रगति

| २०७८ पौष १० गते ०६: ०९ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई,सन्धिखर्क।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले चालु आर्थिक बर्षको ४ महिनामा ५ प्रतिशत पुंजिगत खर्च गरेको छ । पालिकाको नुवाकोट स्थित आफ्नै सभाहलमा सम्पन्न प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुको जवाफ दिंदै प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउतले यस्तो तथ्याकं सार्वजनिक गर्नुभएको हो । 

उहाँका अनुसार भुमिकास्थानमा गत साउन देखि कार्तिक सम्मको कार्यप्रगतिलाई हेर्दा चालुतर्फ २५ प्रतिशत र पुंजिगत तर्फ ५ प्रतिशत खर्च गरिसकेको र २० प्रतिशत भौतिक प्रगति भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा शैक्षिक तथा सामुदायिक परामर्श सेवा केन्द्र अर्घाखाँचीले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा राजनितिक दलको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता ठाकुर सौराग र नेकपा एकिकृत समाजवादीका नगर इन्चार्ज झविलाल भट्टराई सहितका सहभागीहरुले नगरपालिकाले संविधानले राखेको लक्ष्य र जनताको अपेक्षा अनुसार काम हुन नसकेको,शिक्षा,स्वास्थ्य,कृषिको विकास तथा दिगोविकास,स्वरोजगारका कामले फड्को मार्न नसकेको जस्ता गुनासाहरु राखेका थिए । 

स्थानिय राजनितिक दलका प्रमुख,नगरपालिकाको १० वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,नगर स्थित बिभिन्न बिषयगत शाखाका प्रमुख तथा सेवाग्राहीका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रेसम थापा,उप–प्रमुख खडानन्द वेल्वासे,प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत,नगर प्रवक्ता बाबुराम पन्थी लगायतले हलमा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो । जवाफको क्रममा उहाँहरुले भौगोलिक विकटता,सिमित आर्थिक स्रोत र माथिल्ला सरकारले दिने बजेटको आफ्नै सिलिङ्ग अनुसार चल्नुपर्ने बाध्यता,शुन्यताबाट सुरु भएको नगरपालिकाको भौतिक निर्माणमा ध्यान दिनुपरेको,कृषि तथा रोजगारको क्षेत्रमा गरेको लगानी अनुसार प्रतिफल ल्याउन नसकिएको भन्दै सोंचेजति प्रगति गर्न नसकिएको स्विकार गर्नुभएको छ ।

आयोजक संस्थाको तर्फबाट प्रध्यापक धर्मराज भुसालले संचालन र प्रध्यापक सुरज सारुले बिषयबस्तुमाथि सहजिकरण गर्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष तथा प्रध्यापक दोर्ण प्रसाद भुसाल र नगरपालिकाको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले प्रश्न,जिज्ञासा तथा सुझावहरुको टिपोट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्