अर्घाखाँचीमा निजी जग्गामा चुनढुङ्गा उत्खनन गरिने

| २०७९ पौष ८ गते २०: १७ मा प्रकाशित

कृष्ण परियार ,सन्धिखर्क।
८ पुस ।अर्घाखाँची जिल्लामा निजी स्वामित्वको जग्गामा चुनढुङ्गा उत्खनन हुने भएको छ । दैनिक १२ सय टन चुनढुङ्गा उत्खनन गर्ने गरी खानी सञ्चालन गर्न लागिएको हो ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नंं . ९ को सानडेभामा प्रस्तावित ३.४६ हेक्टर क्षेत्रफलको निजी स्वामित्वको जग्गामा चुनढुङ्गा खानी उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन तयार पारी रायसुझाव संकलन तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

बिजया सिमेन्ट प्रालि कृष्णनगर कपिलवस्तुले प्रतिवेदन तयार गरी खानी तथा भूगर्भ विभागमा बुझाएको र सोही प्रतिवेदनमाथि स्थानीय बासिन्दा, जनप्रतिनिधि, बुद्धिजीवी लागायतसँग छलफल गरिएको हो । दैनिक १२ सय टन चुनढुङ्गा उत्खनन गर्दा वार्षिक २७० दिन उत्खनन गर्दा करिब १० बर्षसम्म खानी सञ्चालन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा सुझाव राख्ने वक्ताहरूले स्थानीय वातावरणमा प्रत्यक्ष रूपमा असर नपर्ने गरी, स्थानीय नागरिक तथा खानेपानीका स्रोतहरुको समेत संरक्षण हुनुपर्नेमा जोड दिएका छन् । स्थानीय रुकबहादुर रायमाझी, पदम बलाल, हेमकर्ण रायामाझी, पित बहादुर रायमाझी, दिपक खासु लगायतले नुवाकोट, खिल्जी, असुरकोट, ढिकुरा खानेपानीलाई असर नपर्ने गरी चुनढुङ्गा खानी संचालन हुनुपर्ने र गर्दा स्थानीयलाई रोजगारी सहित फाइदा पुग्नेगरी खानी संचालन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष खेमराज चँुदालीले स्थानीय नागरिकको माग र वडाभित्रका क्रियाशिल राजनीतिक दलका प्रतिनिधिको राय सुझाव अनुसार खानी संचालनका बिषयमा आफु वाधक नबन्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका मोती भट्टराई, नेपाली कांग्रेसका अम्बर क्षेत्री, राष्ट्रिय जनमोर्चाकी सुन्धरा रायमाझीले कानुनी प्रक्रिया पूरा गरी खानी संचालन गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् ।

तर नुवाकोट, खिल्जी, असुरकोट खानेपानी प्रभावितकोे तर्फबाट भिमलाल बेल्बासे, दामोदर बेल्बासे, भिमलाल श्रेष्ठले खानेपानीलाई प्रभावित हुनेगरी खानी सञ्चालन गर्न नहुने बताएका छन् ।

खानी संचालकको तर्फबाट नवाफ अलीले प्रचलित कानुनको पालना गर्दै कुनै पनि खानेपानीको मुहानलाई असर नपर्ने गरी स्थानीयका सबै माग पूरा गर्न कम्पनी प्रतिवद्ध रहेको बताए । कार्यक्रममा १५० जना स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।बुटवल टुडे बाट साभार 

 

प्रतिक्रिया दिनुहोस्