रोगप्रतिरोधी क्षमता वृद्धि गर्न जडीबुटी

| २०७८ असार ११ गते ०१: ४० मा प्रकाशित

सन् २०१९ डिसेम्बरमा चीनको उहान सहरदेखि सुरु भएको कोरोना भाइरसको महामारीले विश्वलाई आक्रान्त पारिरहेको छ । धेरै ठूला र स्रोत साधनले भरिपूर्ण भएका देशहरू पनि यो भाइरससँग लड्न असमर्थ भइरहेका छन् भने आजसम्म चीनले मात्र भाइरस नियन्त्रण गर्न सकेको देखिन्छ । अहिलेसम्म हेर्ने हो भने विश्वमा लगभग १८ करोड सङ्क्रमण र ४० लाखले ज्यान गुमाइसकेका छन् । यो रोग कहिलेसम्म चल्छ र कहिले रोकिन्छ भन्ने कुरा कसैले पनि यकिन गर्न सक्ने परिस्थिति छैन । तर यो भाइरस न्यूनीकरण गर्नका लागि धेरै प्रयास नभएका भने हैनन् । विश्वका धेरै विकसित देशहरूले खोपको अध्ययन तथा औषधिउपचारको सम्भावित अध्ययन गरिरहेका छन् । धेरै देशले भाइरसविरुद्धको भ्याक्सिन बनाएर लगाउन सुरु पनि गरिसकेको छन् । जसको कारण उक्त देशमा जनजीवन सामान्य बन्दै गएको पनि छ ।

विश्वभरि हेर्ने हो भने कोरोना भाइरसको बारेमा अहिलेसम्म एक लाख २० हजार जति अनुसन्धानात्मक खोज तथा शोधपत्र प्रकाशन भएका छन् । जसमा ३२ सयभन्दा धेरै आर्टिकल कोरोना भाइरसको प्रभाव न्यूनीकरणका लागि जडीबुटी प्रयोग गरिने बारेमा भएको देखिन्छ । एउटा विषयमा प्रकाशित आर्टिकल अहिलेसम्मकै धेरै हो । चीन देशका अनुसन्धानकर्ताले कोरोना नियन्त्रण गर्न सबैभन्दा बढी जडीबुटी तथा मौलिक स्रोतसाधनको बारेमा अध्ययन तथा खोज गरी आर्टिकल प्रकाशित गरेको देखियो । त्यसो त चीनले कोभिड भाइरसको नियन्त्रण आफ्नो परम्परागत चिकित्सा पद्धतिलाई नै जस दिएको छ । जसको कारण तान्जिन विश्वविद्यालयका प्रोफेसर श्ज्ब्ल्न् द्ययष् िलाई कोभिड हिरो भनेर राष्ट्रपति सी चिनफिङद्वारा सम्मान पनि गरिएको थियो । विश्वमा नै तहल्का पिटेको भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । आजसम्मको तथ्याङ्क हेर्दा नेपालमा साढे ६ लाखको हाराहारीमा सङ्क्रमण देखिएको छ भने साढे ८ हजारको ज्यान गएको छ । नेपाल सरकारले यो भाइरसको नियन्त्रण तथा रोकथामका लागि विभिन्न चरणमा निषेधाज्ञादेखि आफ्नो स्रोतसाधनले भ्याउने जति प्रयास गरेको देखिन्छ । हामी जनता पनि स्वास्थ्यको सामान्य मापदण्ड र आफ्नो सुरक्षाका लागि मास्क, सेनिटाइजर, पन्जा, फेससिल्ड जस्ता साधन पनि प्रयोग गर्दै आएका छौँ । पहिलो चरणको लकडाउन खुलेर सामान्य जीवनमा फर्किन नपाउँदै हामी पुनः दोस्रो चरणको लकडाउनले पिल्सिएका छौँ भन्दै र गर्दै आएको कुरा हेर्ने हो भने हामी हाम्रो भान्सादेखि नै औषधिरूपी मसला सेवन गर्दै आएका छौँ । जसको कारण हामी केही हदसम्म सुरक्षित महसुस गरेका छौँ, जुन परापूर्व कालदेखि नै पालना गर्दै आएको कुरा हो । 

आफ्नो मौलिक चिकित्सा प्रणाली आयुर्वेद तथा प्राकृतिक चिकित्साको साहारा लिएर नेपाल पनि कोभिड नियन्त्रणमा नलागेको भने हैन । यसैक्रममा आयुर्वेदको ठूलो संस्था नरदेवी आयुर्वेद चिकित्सालयले विगत कोभिडको प्रकोप नेपालमा सुरु भएदेखि नै ज्येष्ठवासादी चूर्ण (वासा, पर्पटक, वंशलोचन, दालचिनी, बृहत एला, गुडुची, यस्ठीमधु) नामको आयुर्वेद औषधि निःशुल्क वितरण गर्दै आएको छ । अहिलेसम्मको आँकडा हेर्ने हो भने लगभग दुई लाखभन्दा बढीले यो चूर्ण निःशुल्क उपयोग गरेको देखिन्छ । अहिले नरदेवी चिकित्सालयले आफ्नै आइसोलेसन सुरु गरी बिरामी भर्ना पनि सुरु गरेको छ । जहाँ आयुर्वेद र एलोपेथी दुवै माध्यमले उपचार गरिन्छ । यसरी नै कीर्तिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय, चितवनमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आफ्नै आइसोलेसन व्यवस्थापन गरेर कोभिडका बिरामीलाई उपचार गर्दै आएको कुरा सर्वविदितै छ । सबै जिल्लाका आयुर्वेद औषधालयहरूले व्याधिक्षमत्व बढाउने र श्वासप्रश्वासम्बन्धी आयुर्वेद औषधि निःशुल्क वितरण गर्दै आएका छन् । होम आइसोलेसनमा बसेका सङ्क्रमितहरूले योग, प्राणायाम र आयुर्वेद औषधिको प्रयोगले नै कोरोनालाई जितेको देखिन्छ । समग्रमा हेर्ने हो भने नेपालको कोभिड मृत्युदर आयुर्वेद आहार तथा बिहार सेवनले घटाएको भन्न पछिपर्न हुँदैन ।

पहिलो चरणको सङ्क्रमणको नियन्त्रण नहँुदै फेरि दोस्रो चरणको सङ्क्रमण सुरु भएको कुराले के देखाउँछ भने यसको नियन्त्रण हुन सहज छैन । नियन्त्रण भए पनि पुनः कहिले अर्काे चरणको सङ्क्रमण हुन्छ भन्ने कुरा थाहा हुँदैन । त्यसकारण अब थप सजग र सचेत हुन जरुरी देखिन्छ । लकडाउन खुलेपछि हामी आफ्नो दैनिक काममा जानुपर्छ जुनबेला हामी आफ्नो शरीर र परिवारको सुरक्षा आफँै गर्नुपर्ने हुन्छ । हामीले प्रयोग गर्दै आएको मास्क, सेनिटाइजर, फेससिल्ड, पीपीई, जुत्ता आदि सबै बाह्य सुरक्षाका माध्यम हुन् । शरीरको बाहिरको सुरक्षाको त हामीले जसरीतसरी गरौँला तर आभ्यान्तर वा आन्तरिक सुरक्षा कसरी गर्ने सोच्नुभएको छ ? आन्तरिक सुरक्षाको एउटा मात्र माध्यम इम्युनिटी वृद्धि गर्ने हो, जुन तपाईंले खाने आहारदेखि नै गर्नसक्नुहुन्छ । हामीले भान्सामा प्रयोग गर्ने मसला (बेसार, जिरा, सुठो, मरिच, पिप्ला, आदि) नै पहिलो औषधि हो । यसको अलवा विभिन्न वैज्ञानिक तरिकाले पुष्टि भएका आयुर्वेद औषधि जस्तै गुर्जाे, त्रिकटु चूर्ण, यष्ठीमधु चूर्ण, तुलसी, तेजपात, अश्वगन्धा चूर्ण, आदि  नियमपूर्वक  सेवनले पनि इम्युनिटी बढाउन सकिन्छ । आयुर्वेदमा वर्णन गरेअनुसार दिनचर्या, ऋतुचर्या तथा आहार नियमको सही प्रयोग र रसायन सेवन गरेमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ । नेपाल सरकारको आयुर्वेद विभागले पनि रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न जडीबुटी चियाको सेवन र नियमित योग र प्राणायाम गर्न सुझाएको छ । महामारीलाई अवसर बनाउँदै बजारमा धेरै प्रकारका अनाधिकृत डाक्टर र औषधि आएका छन्, जसको सेवनले तपाईंलाई फाइदाभन्दा पनि हानि बढी गर्न सक्छ । त्यसकारण कुनै कोभिड सम्बन्धित लक्षण देखिएमा वा कुनै स्वास्थ्य परामर्श लिनु परेमा पायक पर्ने दर्तावाला चिकित्सकसँग सल्लाह वा सम्पर्क गर्नुहोला ।  

प्रतिक्रिया दिनुहोस्