अधिकार भन्ने कुन चरीको नाम हाेला :कृष्ण आचार्य

| २०७८ कार्तिक ३० गते ००: ३३ मा प्रकाशित

कृष्ण प्रसाद आचार्य। 
सन्धिखर्क १० / नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशील अथवा होल्डटाइमरहरु अन्त्यमा आएर पेशाको रुपमा पुगीसकेका हुँदा रहेछन्, नजानिँदो पाराले । पञ्चायतकालमा जनतालाई राजनीतिक चेत दिलाउन आफ्नो घरको सम्पूर्ण कामहरु त्यागेर घुमन्ते शैलीमा गाउँ पसे । कांग्रेसभन्दा कम्युनिष्ट विचारका अलिक बढी कार्यकर्ताहरु पञ्चायतकालको हरेक दिनमा शिक्षक भएर पढाउने, नभए कुन घरमा बसेको हो ? त्यस घरमा काम सघाउने र रातभर गाउँघरको कुनै सुरक्षित सेल्टरमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने गरे । यसरी घुमन्ते पाराले आफ्नो घरको पुरै व्यवहार त्यागी संगठन चलाउने व्यक्तिको अन्त्यमा अथवा अहिले आएर राजनीतिक पेशामा पुगेको थाह पाएनन्, जनताहरुले ।

हिजो दलहरु बन्देज हुँदाताका कतिपय खाली खुट्टा र पुरानो लुगाहरु फाटेका हातैले सिलाएर लगाउने ती घुमन्ते नेताहरुको अहिले अदेखा–अदेखा सदरमुकाम, राजधानी, शहर, बजारहरुमा सिमेन्टेड घरहरु ठडिए । र महान नेता पनि बने । भुक्केचप्पले या त खालीखुट्टाहरुमा महँगो जुत्ताहरु छिरे । फाटेका हातैले सिलाएर टालेका लुगाहरुको स्थानमा महँगो (बुलेटप्रुफ) पोशाकहरु पहिरिए अनि मरन्च्याँसे अनुहारहरु खाइलाग्दो र गजधम्म शरीर बनाए । हिँड्ने खुट्टाहरुमा परिवर्तन ल्याए र पजेरो प्राडोले । करोडौं सम्पत्तिहरु जोडाए । तराईहरुमा जग्गाहरु थपिए । बैंकमा करोडौं रकम बचत गराए र आलिशानले प्रफुल्ल भएर सुखद् जीवनको सयर गरे र गर्दैछन् । यस्तै देखेर राजनीतिलाई पेशाको रुपमा लिने सिकारु लाखौं नव युवाहरु पनि स्वप्नील यात्राहरुमा निस्कँदैछन्, जन्मँदैछन् र कुद्दैछन्, हाम्रै गाउँघर, शहरहरुमा । अब यो जमात कसले रोक्ने र देश विकासमा को लगाउने ? चुनौति आएको छ ।

विगतका सेल्टरहरुमा, कोठाहरुमा र गोष्ठीहरुमा सिकाएका दर्शन, सिद्धान्त र नीतिहरु बिर्से, आर्थिक आमूल परिवर्तनले । अनि उनीहरुले सिकाएका समर्थकहरुको सन्तान (नव युवा)हरुले पनि सिद्धान्तभन्दा पर रहेर नेताकै सिको गर्न यततत्र जन्मदैछन् र बढ्दैछन् झाँगिएर । सिद्धान्त, दर्शन र पार्टी नीतिबारे मतलवै छैन, बस सम्पत्ति भए पुग्छ । आफ्ना नेता शानसँग हिँडेकोसँग मानसिक तुलना गर्न थाले र त्यही नक्कल गर्दैछन् । के यो देश उन्नतिको फापसिद्ध राजनीति हो त ? अवश्य होइन । अझै, हक र अधिकारको त कुरै छैन । जमातमा हल्ला गरेर, हल्लाकै भरमा र हल्लैहल्लाले नेता बन्न दौडधुप गर्दैछन्, चाराना–आठाना आम्दानी समेत सिध्याएर । खर्च भयो, सक्यो । भविष्यको जोहो छैन, टेङ्का खलास् । समग्र घरको काम छोडेर कुद्दैछन्, समय खलास् । नेताको कुरा सुनेर उसका लागि कुद्दैछन्, बौद्धिकता खलास् । जहाँ सिद्धान्त, दर्शन र नीतिपट्टि पुरै खोक्रो छ– ‘बाहिर रिटिङ् फिटिङ्, भित्र जुम्रा मिटिङ्’ ।

हुन त, केही बौद्धिक युवाहरुले पुरानै दस्ता, सिद्धान्त, दर्शन र नीतिहरु लिएर हरेक बहस गर्छन् जनताका लागि । समयले धेरै भिजेर खिया लागेको थाहै छैन, सत्ता हकाइमा । खिया लाग्दा सान लगाउनुपर्छ भन्ने पनि हेक्का छैन, नयाँ पुस्ताहरुले । तथापि फलोवर बन्छन् । फलोवर पनि कुनै सांसद, नेता, मन्त्री या त कुनै धनाढ्यको अनुहार र चालढाललाई सिको गर्छन् । यस्तो नक्कल या सिको सिद्धान्त पनि होइन । आर्थिक रुपान्तरणको नीति पनि होइन । भएको झिरिमिटीहरु खर्च गरेर अनुत्पादनमा स्वाहा गर्छन् । रोजगार र आम्दानी छैन । हाटहुट ढाँटढुँट पाराले जीवन थेग्दैन– राजनीतिमा । जीवन थेग्नु भविष्यको इन्सान हो– समुदायमा । यही भविष्य बनाउने नीतिबारे दलहरु पुरै अन्यौल छन्,–अहिलेसम्म । अन्यौल रहेका दलहरुको उपल्लो चालढाल देखेर नक्कले, हाटहुटे, ढाँटढुँटे वा सिको राजनीतिक फलोवरबाट देश बन्छ त ? बन्दैन । आफ्नो हक र अधिकार प्राप्त हुन्छ त ? हुँदैन ।

नेपाली कांग्रेसले प्रजातन्त्रको पुनर्वहालीदेखि गणतन्त्रसम्म धेरैपटक देशको सत्ता सम्हाले । खै त, लोकतान्त्रिक समाजवादको नीतिहरु जनताले पाएको ? ‘आकाशको फल आँखा तरी मर’ उखान सावित । कम्युनिष्टहरुले पनि प्रजातन्त्र पुनर्वहालीदेखि गणतन्त्रसम्म धेरैपटक देशको सत्ता चलाए । खै त, गरीब जनताको जनजिविकाका लागि जनताको बहुदलीय जनवाद र वैज्ञानिक समाजवादको नीति अनुसार जनताले पाएको ? ‘मनको लड्डु घ्यूसँग खा’ मात्तै भो । यस्तो उखाने सावितीका दलहरुबाट जनताको हक र अधिकारहरु देखिएन र अब कहिले छैन । यत्रो सत्ता चलाएर पनि जनताको हक र अधिकारका लागि कुनै काम गर्न नसक्ने दलहरुले जनताका लागि के–के गरे भन्ने कुरा वर्तमान एकपुस्ता पुग्दै गरेका र नाघ्दै गरेका युवाहरुले अध्ययन गरेका छैनन् । अध्ययन गर्नैपर्छ चेतनाका हिसाबले । सिको गरेर हिँड्नु हरेक व्यवहारमा खर्चिलो पारा हुन् । जसमा लाखौं युवाहरु हिँडिरहेछन् । यस्तो खर्चिलो कार्यमा नव युवाहरुलाई छेक्नु पर्दछ । र, सही मार्गमा लगाउनु पर्दछ । चुनौति पनि छ ।

वर्तमान सचेत युवाहरुले आफ्नो भविष्यका लागि हक र अधिकार खोज्न, माग्न, लड्न र भिड्न सकेनन् र चुक्यो भने बाजेले लडेको प्रजातन्त्र र जनवादले भविष्य उज्ज्वलतिर लानसक्ने देखिएन– नेपालमा । अधिकार र हकको कुरामा नेताहरु मात्र सुरक्षित भए । जनता र लाखौं युवाहरु भएनन् । देश नेतामुखी अथवा नेतातन्त्रतिर धकेलिए, लोकतन्त्र र गणतन्त्रको नाउँमा !!

प्रतिक्रिया दिनुहोस्