छत्रदेव गाउँपालिका अध्यक्षमा कांग्रेसबाट नेता पन्थीको चर्चा

| २०७८ चैत २० गते १८: २७ मा प्रकाशित

अर्घाखाँची। स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेता कार्यकर्ताहरु चुनावी छलफल गर्न लागेका छन् । चोक चोकका चिया पसल,चौपारीमा बसेर यो उठ्ने ,त्यो त नउठ्ने रे अहिले, त्यो उठे त जित्दैन, यसलाई उठाए जिताउन सकिन्छ जस्ता कुराहरु गुन्जायमान हुन लागेका छन् ।

यस्तै अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट को उम्मेद्वारी बन्ला भन्ने विषयले निकै चर्चा पाएको छ । गाउँपालिका महासंघका केन्द्रीय सदस्य समेत रहेका गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले उम्मेद्वारी नदिने बताएपछि अन्य नेताहरू टिकटको दौडधुपमा लागिरहेका छन् । कांग्रेसबाट सजिलोसँग चुनाव जितिने भएकाले अध्यक्षमा धेरैले दाबी गर्नु स्वभाविक भएको स्थानीय नेताहरु भन्छन् ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य युवा नेता लक्ष्मण पन्थीले आगामी स्थानीय निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको खण्डमा छ्त्रदेव गाउँपालिकाको अध्यक्ष बनी छत्रदेवबासीको सेवा गर्ने इच्छा रहेको बताए । विभिन्न सामाजिक धार्मिक संघसंस्थाहरुमा प्रमुख भैसकेर कार्य गरेका नेता पन्थी अध्यक्ष भएर काम गर्न कुनै कठिन नहुने बताएका छन् ।

विगत दुई दशक देखि नेपाल विद्यार्थी संघमा काम गरि पार्टीमा समेत काम गरेको अनुभव नेता पन्थीसँग छ । नेविसंघ वाल्मीकि क्याम्पस इकाई सदस्यबाट सुरु गरेको राजनीतिक यात्रा विभिन्न तह र तप्कामा रही केन्द्रिय सदस्य समेत भए । उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट लुम्बिनी प्रदेश सदस्यमा अत्यधिक मतले विजयी भएका थिए ।

नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत नेता पन्थी नेविसंघ विद्यालय समिति एकाई अध्यक्ष,नेविसंघ वाल्मीकि क्याम्पस एकाई सदस्य, स्ववियु वाल्मीकि क्याम्पस सदस्य, नेविसंघ नेपाल संस्कृत विश्वविद्यालय उपाध्यक्ष, नेविसंघ अर्घाखाँची काठमाडौँ सम्पर्क समिति सचिव, नेपाली कांग्रेसको १२ औ र १३ औ महाधिवेशनमा आवास तथा भोजन व्यवस्थापन समिति सदस्य, २०५९ देखि निरन्तर नेविसंघ केन्द्रिय महाधिवेशन प्रतिनिधि, नेविसंघको ११ औँ महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित भएका थिए । नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका संस्थापक अध्यक्ष, केन्द्रिय सचिव, दक्षिण एशियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालको सभापति, अन्तर्राष्ट्रिय समितिको महासचिव तथा विभिन्न धार्मिक संस्थाहरुमा सक्रिय युवा धार्मिक अभियन्ता समेत रहेका नेता पन्थी क्यानडा, अमेरिका, जापान कोरिया लगायत विभिन्न २५ देशको भ्रमण पनि गरेका छन् । उनले आगामी स्थानीय निर्वाचनमा छत्रदेव गाउँपालीका अध्यक्ष भएर जनताको सेवा गर्ने इच्छा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्