कहिले आउँछ कोभिड खोप? खरिद प्रक्रिया के हुँदैछ?

| २०७८ असार ९ गते १५: २७ मा प्रकाशित

काठमाडौं। कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुध्न सरकारले अधिकांश जिल्लामा जारी गरेको निषेधाज्ञा करिब दुई महिनापछि केही खुकुलो बन्न थालेको छ। संक्रमण दर केही कम देखिए पनि जोखिम उच्च नै रहेको विज्ञहरुले बताउँदै आएका छन्।

संक्रमणबाट जोगिने प्रभावकारी उपाय भनेको कोभिडविरुद्धको खोप नै हो। तर त्यसतर्फ भने यो दुई महिनामा पनि कुनै उपलब्धि भएन। निषेधाज्ञा खुकुलो हुँदैगर्दा पनि आमजनमा एउटै प्रश्न छ– खोप कहिले आउँछ, अनि कहिले लगाउन पाइन्छ?

पहिलो डोज नै लगाउन नपाएकालाई खोप कहिले पाइला भन्ने चिन्ता छ। पहिलो डोज लगाए पनि दोस्रो डोज खोप लगाउन नपाएका (मुख्यतः ६५ देखि ७५ वर्ष उमेरसमूहका) झण्डै साढे १३ लाख ज्येष्ठ नागरिकमा भने दोस्रो डोज कहिले आउला भन्ने तीब्र छटपटी छ। उनीहरुले गत फागुन २३ देखि पहिलो डोज ‘कोभिसिल्ड’ खोप लगाएका थिए। 

त्यसरी पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले जेठ १५ भित्र दोस्रो डोज लगाइ सक्नुपर्ने थियो। तर, खोप नभएकाले उनीहरुले मध्य असार हुनलाग्दासम्म दोस्रो मात्रा पाउन सकेका छैनन्। 

खोपको दोस्रो मात्रा नपाएकाहरु यथाशक्य खोप लगाउन पाउनुपर्ने हकदाबीसहित सर्वोच्च अदालत पुगेका छन्। काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले सोमबार दायर गरेको रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चले दोस्रो मात्रा खोप नलगाएकालाई तत्काल खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। 

कहिले आउँछ खोप?

कोरोनाका नयाँ–नयाँ भेरियन्ट, त्यसको तीब्र संक्रमण क्षमता र संक्रमण भइसकेपछि स्वास्थ्यमा देखिने गम्भीर जटिलताका कारण पछिल्लो समय धेरैजना आत्तिएका छन्। विज्ञहरुका अनुसार संक्रमणबाट बच्न र कम क्षतिका लागि अचूक उपाय भनेको खोप नै हो।

सरकारले हरेक दिनजसो यो साता खोप पक्कै आउँछ, अर्को साता त आइ नै हाल्छ भन्ने आश्वासन दिइरहेको छ। तर, अझै केही महिना खोप आउने सम्भावना नरहेको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउँछन्। 

उनीहरु भन्छन्, ‘प्रयास भइरहेको छ। तर, तत्काल आइहाल्ने सम्भावना देखिन्न। खोप नआउँदासम्म बाँकी सबै कुरा अनुमान मात्र न हुन्।’ 

खोपको माग यसरी बढेको छ कि सरोकारवालाले अदालतदेखि सामाजिक सञ्जालसम्म तताएका छन्। सामाजिक सञ्जालमा ‘खोप खोई’ भनेर विभिन्न क्याम्पेन चलाइएका छन्। तर, त्यसबाट दबाब महुसस गरेर खोप खरिद गर्ने अग्रसरता भने देखिँदैन।

स्वास्थ्य मन्त्रालयले केही समयअघि कोभिसिल्ड खोप नआएकाले त्यसको पहिलो डोज लगाएकालाई सोही फर्मुलामा बनाइएको ‘एस्ट्राजेनेका’ खोप दिने भनेको थियो। तर त्यो खोप कहिले आउँछ भन्ने टुंगो नै छैन। कतिसम्म भने खोप ल्याउनेबारे सरकारको भरोसायोग्य पहल नै देखिएको छैन। 

कोभिड खोप प्राविधिक सल्लाहकार समितिका एक सदस्यले खोपमा ढिलाइ हुनुका चारवटा कारण औंल्याए। उनले भने, ‘पहिलो त खोपको विश्वभर अभाव छ। दोस्रो, सबैभन्दा सजिलो र छिटै खोप पाउने सम्भावना रहेको छिमेकी देश भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ। तेस्रो, कोभिसिल्ड बाहेकका अन्य खोप किन्न सरकार प्रोएक्टिभ भएन। चौंथो, निजी क्षेत्रले पनि कमिसनको चक्करले गर्दा खोप ल्याउन सकेनन्।’

उनले खोप खरिदका लागि प्रशस्त विकल्प हुँदाहुँदै पनि सरकार अगाडि नबढेको वा अगाडि बढ्नै नचाहेको टिप्पणी गरे। कोभिसिल्डबाहेक चीनको भेरोसेल, रुसी (स्पुतनिक भी) खोप र अन्य खोप खरिदका लागि सरकारको पहल नपुगेको उनको बुझाई छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले तत्काल खोपको व्यवस्था नहुँदा पहिलो डोज खोप लगाइसकेकालाई दोस्रो डोज लगाउनका लागि निकै दबाब बढेको बताए। 

उनले भने, ‘पहिलो मात्रा लगाएर दोस्रो मात्रा खोप लगाउन नपाउँदा निकै चिन्ता थपिएको छ। हरेक दिन फोन आइरहन्छन्। तत्कालै केही भन्न नसकेपनि केही समयमै कोभिसिल्डको दोस्रो मात्रा आउने संकेत भने देखिएको छ।’

खोप खरिदका लागि के भइरहेको छ?

केही दिन पहिले सरकारले चीनबाट करिब ४० लाख डोज खोप किन्न लागेको समाचार सार्वजनिक भएको थियो। त्यसअघि, विगत एक महिनादेखि नै सरकारले खोप खरिदमा ‘एक साताभित्रै ब्रेक–थ्र्रू’ हुने समेत बताएको थियो। यस्ता कुराले स्वास्थ्य मन्त्रालयका कर्मचारीसमेत केही समयमै खोप आउनेबारे आश्वस्त झैं देखिएका थिए। 

प्रधानमन्त्रीले छिटै सबै नागरिकलाई खोप उपलब्ध गराइने बताउन थालेको पाँच महिना बित्न थालिसकेको छ। तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जेठ २३ गते मन्त्रालयबाट बिदा हुने क्रममा कर्मचारीलाई सम्बोधन गर्दै केही दिनमै खोपको सकारात्मक संकेत आउने भन्दै सेरम र कोभ्याक्सले छिटै खोप उपलब्ध गराउने बताएका थिए। 

त्यसअघि जेठ १४ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकारसँगको कुराकानीमा हप्ता/दश दिनमा खोप आयात गरेर ‘ब्रेक थ्रु’ गर्ने बताएका थिए। उनले भनेका थिए, ‘खोप खरिदमा हामी केही दिनमा निष्कर्षमा पुग्दैछौँ। दश दिनमा नभए पनि त्यसको केही दिनमै ‘ब्रेक थ्रु’ हुन्छ। खोप सहायता दिने केही मुलुकले पनि हप्ता/दश दिनभित्रमा घोषणा गर्दैछन्। खोपमा केही न केही प्रगति हुनेछ।’

तर, जेठ २२ गते ज्ञवाली नै मन्त्रीबाट हटे। उनको ठाउँमा परराष्ट्रमन्त्री बनेका रघुवीर महासेठले असार २ गते हिमालय टिभीको एक अन्तर्वार्तामा चीनसँग ४० लाख र अमेरिकाको जोन्सन एण्ड जोन्सनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको बताए। उनले भने, ‘जोन्सन एण्ड जोन्सनको ५० लाख डोज विश्व बैंकमार्फत् किन्दैछौं, उहाँहरुले नै किनेर हामीलाई दिने कुरा हुँदैछ’, महासेठले भनेका थिए, ‘चीनबाट पनि ४० लाख डोज खोप ल्याउँदै छौं।’

उनले खोप उत्पादकहरुले ९० दिनभित्र खोप उपलब्ध गराउन सक्ने बताइरहेको तर, नेपाल सरकारले सकेसम्म ४५ दिनभित्र नभए ६० दिनभित्र खोप उपलब्ध गराउन उत्पादकहरुलाई आग्रह गरेको उल्लेख गरेका थिए। परराष्ट्रमन्त्रीको यो भनाई गफ मात्र भएको टिप्पणी स्वास्थ्य मन्त्रालयका कर्मचारीले नै गरेका थिए।

महासेठको मन्त्री पद पनि १९ दिनमै गएको छ। मंगलबार सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै उनी पदमुक्त भएका छन्। महासेठसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ पनि १९ दिनमै पदमुक्त भएका छन्। परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्रीलगायत पदमुक्त भएसँगै खोप आयातको प्रक्रियामा अझ बिलम्ब हुने निश्चित जस्तै छ।

किन आइरहेको छैन खोप?

अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्। 

गत असार २ गते कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ४० लाख खोप किन्ने र साउनको पहिलो साताबाट खोप लगाउन सुरु गर्ने जानकारी गराएको विज्ञप्ति सार्वजनिक भएको थियो। त्यसपछि स्वास्थ्य मन्त्रालयले असार ३ गते त्यसको खण्डन गर्दै विज्ञप्ति नै निकाल्यो। अहिले स्वास्थ्य मन्त्रालयको खोप खरिदमा काम गरिरहेका कर्मचारीलाई सोध्ने हो भने जवाफ आउँछ, ‘खोपका लागि प्रयास भइरहेको छ। तर तत्काल वा यही समयमा खोप आउँछ भनेर भन्न सकिन्न। यहाँ त मन्त्रीहरु, राजनीतिक दलहरुले नै ठोकुवा गर्ने काम भइरहेको छ। थाहा नभएको विषयमा त कम्तीमा नबोले पनि हुने नि।’ 

अमेरिकाले एसियाली मुलुकहरुलाई कोभ्याक्समार्फत् दिने भनेको ७० लाख कोभिड खोप पनि तत्काल आउने सम्भावना छैन। किनभने अमेरिकाले दिने भनेको एस्ट्राजेनेका खोपलाई अमेरिकाकै नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्टे«सन (एफडिए)ले अझै प्रयोगका लागि अनुमति दिएको छैन। सोही कारण उक्त खोप आउन ढिलाइ हुने स्वास्थ्य मन्त्रालय बताउँछ।

सरकारले खोप उत्पादक कम्पनीहरु सबैलाई पत्राचार गरेको छ। स्वास्थ्य मन्त्रालयका कर्मचारी चीनले नेपालसँग ‘ननडिस्क्लोजर एग्रिमेन्ट’ फलो नभएको र मूल्यलगायतका विषय सहमतिविपरीत सार्वजनिक गरेको भनेर असन्तुष्टि नै जनाएको बताउँछन्। 

एक कर्मचारीले भने, ‘हामीलाई तत्काल खोप आउने एउटै सम्भावना चीनबाट हो। अन्यत्रबाट आउन पनि समय लाग्ने देखिन्छ। चीन र भारतसँग खोप खरिद गर्न नेपालको राजनीतिक उतारचढावले पनि असर गरेको छ।’

उता अमेरिकाको जोन्सन एण्ड जोन्सनले स्वास्थ्य मन्त्रालयद्धारा गरिएको पत्राचारको पहिलो जवाफमा खोप खरिदसम्बन्धी छलफलका लागि प्रतिनिधि तय गर्ने जवाफ दिएको थियो। गत हप्ता स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र जोन्सन एण्ड जोन्सनका प्रतिनिधिबीच भएको छलफलमा तत्काल खोप दिन नसक्ने बताएको बैठकमा उपस्थित एक कर्मचारी बताउँछन्।

नेपालले २०२१ भित्रै लक्षित जनसंख्यालाई खोप दिने भने पनि यी कारणले गर्दा त्यो कुरा सम्भव देखिँदैन। स्वास्थ्य मन्त्रालयका अधिकारीहरु खोपका लागि नेपालले पहिले नै लगानी गर्न चुकेको र अहिले ढिला गरिरहेको बताउँछन्। मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले जति खोप प्रयोगमा आएका छन्, ती खोपका लागि धेरै देशले पहिल्यै लगानी गरेर बुक गरिसकेका थिए। नेपालले तत्काल खोप नपाएपनि २०२२ सम्म खोप पाउन चाहने हो भन्ने अहिले उत्पादन हुँदै ट्रायलमा राम्रो देखिएका खोपका लागि बुकिङ गर्नुपर्ने हुन्छ। त्यसबारे त हामीले सोचेकै छैनौँ।’

सरकारले चालु आर्थिक वर्षमा खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ। तर, सरकारको चासो खोप खरिदका लागि पहल गर्नेभन्दा अनुदान माग्नेतिरै केन्द्रित भइरहेको देखिन्छ। यहीकारण पनि खोप आयातमा बिलम्ब भएको जानकारहरु बताउँछन्। 

अहिलेसम्म कति खोप आयो, कतिले लगाए? 

नेपालले २०७७ माघ १४ गतेदेखि कोभिडविरुद्धको खोप अभियान सुरु गरेको हो। अहिलेसम्म भारतबाट २४ लाख ४८ हजार डोज कोभिसिल्ड र १८ लाख डोज चिनियाँ सिनोफामको भेरोसेल खोप आएको छ।

त्यसमध्ये भारतले नेपाललाई १० लाख डोज र नेपाली सेनालाई १ लाख डोज गरी ११ लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो।     

सरकारले भारतको सेरम कम्पनीसँग २० लाख डोज खरिद गरेकोमध्ये १० लाख डोज खोप मात्र पाएको छ। १० लाख डोज खोपको अग्रिम भुत्तानी गरिसकेको भएपनि भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएका कारण आउन सकेको छैन। त्यसैगरी, कोभ्याक्स सुविधाअन्र्तगत् थप ३ लाख ४८ हजार डोज कोभिडसिल्ड खोप नेपालले पाएको थियो।

चीन सरकारले दुई पटक गरेर १८ लाख भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको हो। जसमा पहिलो पटक ८ लाख डोज खोप, दोस्रो पटक थप ८ लाख डोज चीन सरकारले उपलब्ध गराएको हो भने तिब्बत सरकारले २ लाख डोज खोप उपलब्ध गराएको थियो। 

त्यसरी आएको खोपबाट अहिलेसम्म २५ लाख १९६ जनाले पहिलो डोज लगााएकामा ७ लाख ३१ हजार ६५३ जनाले मात्र दोस्रो डोज (पूर्ण मात्रा) लगाउन पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्