काठमाडौं। काठमाडौं महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ। बडादशैंका लागि काठमाडौं ल्याइएका निरोग खसी-बोका तथा भेंडा-च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ।
कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैंका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए/नआएको, नाकबाट सिँगान बगे/नबगेको, झोक्राएको/नझोक्राएको, पातलो दिसा भए/नभएको, चोटपटक भए/नभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालेको छ।
ती चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट शनिबारदेखि महाष्टमीसम्म तीन टोली परिचालन भएका छन्। माछामासुजन्य खाद्यवस्तु तथा दूध र दुग्धजन्य खाद्यवस्तुको नमूना सङ्कलन गर्ने र प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेरिनेछ।
चौपाया खरीदबिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार काठमाडौंमा ६० हजार खसीबोकाको माग भयो भने पूरा गराउन सकिन्छ। चौपाया ल्याउन सकिने अवस्था छ। ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन। काठमाडौंको ठूलो खसी बजार भनेको कलङ्की हो। बन्दाबन्दीपूर्व सो बजारमा कक्ष लिएर व्यापार गर्ने २९ व्यापारी थिए। कोरोनाका कारण तीमध्ये १६ व्यवसायीले व्यापार छाडे।
कामपाका कलङ्की र टुकुचामा खसी बजार छ। यसै गरी बडादशैँका बेला काठमाडौंकै आकाशेधारा, कपन, चाल्नाखेल र चन्द्रागिरि, भक्तपुरका लोकन्थली र सल्लाघारी तथा ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ। स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाका नागढुङ्गा, दक्षिणकाली, बालाजु र साँगामा चौपायामाथि निगरानी बढाउने गरिन्छ।
काठमाडौं ल्याइने च्याङ्ग्राहरुको संकलन मुस्ताङको कोरला नाकामा हुने भएकाले सो क्षेत्रमा पनि विशेष निगरानी बढाउने गरिन्छ। काठमाडौं चौपाया खरीदबिक्री प्रालिले यसपटक दशैंमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ।लोकपाटि
तपाईको प्रतिक्रिया