Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

यो कस्तो बिकास ? आउनुस् बिकास बारे गन्थन गरौँ : म आफ्नो अनुभवबाट सुरु गर्छु है त : प्रकाश दाइ

   
220   पटक पढिएको

कुरा कोरियाँ छँदाबाट सुरु गरौँ । फेरी आफ्नै गाउँमा भुल्नु त छ ।
अझ यसो भनौँ,कोरिया हुँदै गाउँ पुगौँ ।

सन २०१३ तिर रहेछ म कोरिया छिरेको । फर्केको २०१८ तिर हो ।
कोरिया छिर्दा बित्तिकै पुग्ने सबै जसो नेपालीको मन तान्ने तहाँको भौतिक बिकासले हो ।
जब नेपालको एयर्पोर्ट पुग्छौँ, राम्रै लाग्छ । पहिलो पल्ट लाहुर हिँडेकाहरुले पहिलो पल्ट देख्ने एयर्पोर्ट नेपालकै हो ।
नौलो चिज राम्रै हुन्छ । बसपार्कको कोलाहल बाट तहाँ पुग्दा- ओहो ! जस्तो लाग्छ ।
त्यो भनेको स्यानो पहाडमा उभिएर तल बेसी हेरेर दङ्ग पर्नु जस्तै रहेछ । अरु होँचा पहाड भन्दा माथी पुगेकोमा गर्ब गर्नु जस्तै रहेछ ।

उम,
इन्छन एयरपोर्ट पुगेपछी काठमान्डौ एयर्पोर्ट निकै दयालाग्दो देखिन्छ ।
सबैलाई त्यस्तो लागेको हुनुपर्छ ।

प्लेनबाट ओर्लेपछी रेल चडेर अलि पऽर पुगेपछी मात्रै बाहिर निस्कनु पर्ने । त्यो दौरान देखा पर्ने सबैजसो कुराले मन लठ्याउँछ ।
बाहिर निस्केपछी गन्तब्य सम्म पुग्दा जे जती कुराहरु देखेँ - ति सबै नौला थिए ।
सफा र सुन्दर सडकहरु । हरेक सडक किनारमा एकैनासका बोटहरु । बेला बेला आईपुग्ने सुरुङमार्ग ।
सबैले मन लोभ्याउँछ ।

बिक्रम सम्बत २०१३ सालमा नेपालले धान पठाएको रहेछ, भोकमरीले । एक दुई दिन बिराएर भात खाने उनिहरुले खान पाउँदा टन्न खाँदा रहेछन् ।
त्यो बेला खान बसेका एकले अर्कालाई 'मानि मग' भन्थे अरे ।
त्यो भनेको 'धेरै खाउ' भनेको हो ।
आज पर्यन्त कोरियनहरुले खाँदै गरेको जो कोहिलाई 'मानि मग' भन्छन् ।

धान पठाउँदको बर्ष कोरिया भन्दा हामीहरु हुनेखाने रहेछौँ ।
त्यसपछी हाम्रो अबस्था कतातिर गयो ?
कोरियनले के गरे !
यो बिषयमा कुनैदिन खुब चर्चा गरौँला । आज अलि अलि चाइँदो कुराहरु मात्र खोतलौँ ।

अहो !
त्यो बिकास । त्यो काम गराई । दुखले बनेको रहेछ कोरिया । जनताले श्रम गरेरै बनाएका रहेछन कोरिया ।
यसैले त उनिहरुले कामलाई देउता मान्चन् ।

५ बर्ष बिताउँदा,

मेरो देशमा पनि यस्तै भए भन्ने लागिरहन्थ्यो । तर यही देशमा बस्न पाए भन्ने लागेन ।
कोरिया बनाएर बनेको हो । नेपालको आधा चिज त प्रकृतीले आफै बन्देको छ । बस मिलाए हुन्छ ।
हिँजोको कोरिया, आजको कोरियासम्म आईपुग्न ५० बर्ष लाग्यो ।
नेपाल त त्यो भन्दा छिटो हुन्थ्यो, बनाए ।

खै कसले बनाउने ! पार्टि बनाउने की देश बनाउने ?
पार्टि कहिले बन्छ ! देश कहिले बनाउन सुरु गर्ने ?

मनमा उब्जने प्रश्नहरुले ऐठन पार्छन् । छाती चस्किन्छ । खाना मिठो हुन्न । खाएको पच्दिन ।
गलत बिचारले राज गर्छन् । अनुहार बिग्रन्छ ।
र रिजल्ट डिप्रेसन त हो ।

यो देशमा ९० प्रतिसत युबा डिप्रेसनमा छन् । कसैले थाहा पाएका छन्, कसैले मेरो जिवन नै यस्तै हो भनेर भोगी बसेका छन् ।
सत्य, रोग छ । अपराध छ । लल्लबिल्ल छ ।

उम,
ब्यापक रहेछ बिकास कोरियामा । हरेक सडक किनारमा हरियाली देख्दा लाग्थ्यो- बाटो खन्दा निस्केको माटो कहाँ गए होला !
यहि प्रश्न एकदिन एकजना अङ्रेजी बुझ्ने कोरियनलाई सोधेको थेँ ।
उसले भनेको सम्झन्छु,
माटो रे !

बाटो बनाउँदा सबै भन्दा पहिला ब्यबस्थापन गर्ने भनेको माटो हो । त्यो गरेपछी मात्रै थप निर्माण अघि बढाउने हो । त्यसलाई तह लगाईएन भने त,धुलोले मान्छेको स्वस्थ बिग्रन्छ । प्रकृतीको सौन्दर्य बिग्रन्छ । रुख बिरुवाहरुको बिकास हुन्न ।
तँलाई थाहा छ, प्रकृतीको महत्व ?
मैले थाहा छ भने । मैले थाहा छ भनेको उसलाई चित्त बुझेन ।
भन्यो के थाहा छ ?

मैले प्रकृतिको महत्व भनेर उत्तरिएँ । उ जङ्गियो ।
थाहा भए,
माटो खै भनेर किन सोधिस् ?
कि तेरो देशमा बाटो बनेको ठाउँमा माटो/ धुलो हुन्छ ?

म टोलाएँ । मेरो आँखामा गाउँ घुम्न थाल्यो । दिमागमा तहाँका पैरा नाच्न थाले ।

र उसले फेरी सोध्यो । बाटो निर्माण गर्दा, माटोको ब्यबस्थापन हुन्न र !

म झस्केँ । उता गाउँमा पुगेको मनलाई कोरियनको अगाँडि ल्याएँ र भने-
हुन्छ । मेरो देशमा पनि त्यस्तै हुन्छ । बाटो खन्दा निस्किएको माटोको सहि ब्यबस्थापन हुन्छ ।

यति बोलि भ्याउँदा मन अमिलो भो । जिउ छाडियो । मलाई जनवरीमा फड्को परो ।

अहँ त्यसपछी बोलिन् ।

सोध्न मन त थियो नि ।

जस्तो,

तेरो देसमा किन जाम हुन्न भनेर सोध्न मन थ्यो ।
यहाँका कर्मचारी किन सधै हँसिला हुन्छन् भनेर सोध्न मन थ्यो ।
किन केहि सामान हरायो भने, आफै कम्पनी आईपुग्छ भनेर सोध्न मन थ्यो ।
किन कसैले लाईन मिच्दैनन भनेर सोध्न मन थ्यो ।
र सोध्न मन्थ्यो,तेरो देशमा साहुले पनि किन मजदुरले जस्तै शारिरिक रुपमै काम गर्छन् ?
अहँ सोधीन ।
सोध्न मन लागेका धेरै कुराहरु मनमै राखे सोधीन ।

सामाजिक रुपमा एक्ला कोरियनहरु निकै अनुसाशित देखेँ मैले ।
कसैलाई अप्ठ्यारो पार्ने बारे उनिहरु सोच्न पनि सक्दैनन् ।
सुन्नेले सुनाएका,
झगडा परे- आफैले आफैलाई हानि पुर्याउँछन रे उनिहरु ।

त्यस्तै,

धेरै कुराहरु थिए, जुन देख्दा अचम्म लाग्थ्यो । मलाई सबै भन्दा अचम्म लागेको चाँही त्यहि कुरा हो । मतलब, जहाँ निर्माण हुँदै छ, बढो गजबले हुँदै छ ।बाटाहरु बन्दै गरेका ठाउँमा यति धेरै ख्याल गरिएको छ कि,
उक्त बिकास हुँदा कतै असर नपुगोस् । जमिन नबिगृयोस् । प्राकृतिक सुन्दरतामा कुनै असर ननपरोस् ।

अब गाउँतिर पसौँ ।
मैले भनेको थेँ नि, कोरियाबाट घुम्दै गाउँ पुगौँला ।
अब त्यतै लागौँ ।

गाउँ,

सुन्दै खुब आनन्द मिल्छ मनलाई । आँखामा घुम्न थाल्छन् पाखाहरु । मनले सम्झन थाल्छ चौतारिहरु ।
जे सम्झ्यो त्यहि आफ्नो ।
जे सम्झ्यो त्यहि राम्रो ।

यि भावनाका कुरा हुन् । मनले मानेका कुरा हुन् । तर बास्तबिकतामा गाउँ निकै लथालिङ्ग भैसकेको छ ।
बिकासको नाम भजाएर, गाउँको अस्तित्व नामेट पारिदै छ ।

यि भनेका कुरा भए ।

भन्दैमा गाउँ नामेट हुन्न । नामेट हुनको लागी, कसरी भन्ने प्रश्नलाई उत्तरिन सक्नुपर्छ ।
म उत्तरिन्छु ।

गाउँमा बाटहारु घर घर पुगे । यदाकदा नपुगेको भए पक्कै पुग्लान् । हामीले भोगेको बिकास- डोँजर लाउनु हो । ढिक भत्काउनु हो । घर घर सम्म बाटो पुर्याउनु हो ।
भएको यहि हैन त !

उसोभए,

बाटो घर सम्म पुग्यो । त उक्त बाटो घर सम्म पुग्दा के के भयो त ?
सुन्नुस म भन्छु नि के भयो ।
डालामुठा मासिए । सोता सकिए । खर्यान पुरिए ।
बाटो खन्दा पल्टिएका ढुङ्गाले मुल, कुवा, पँधेरा, चौतारी मासिए ।
घरहरु धरापमा परे । कति थाराहरु बाटामा झरे ।

बिस्तारै खल्किएको जिमिन भत्किदै गैरहेको छ । हिँजो खनेको बाटोमा आज बुटा तेर्छा परेका छन् । अंस्ति छा पारेको कटेरामा काब्रो ढलेको छ । दुईचार पाथि अन्न हुने बारी नासिए । र अरु अरु के के भयो भयो ।
यहि हो त हुनुपर्न ?बिकाशको तरिका यहि हो ?
यसै गरेर हो समृद्धी ल्याउने ?

प्रश्न तपाईहरुका लागी हो । मन्थन गर्नुस न के बिग्रन्छ !

अब एकफेर डाँडाहरु घुमौँ । बरु घुम्दा भर्खरै खनेको बाटो हेर्दै हेर्दै हिँडम् न हुन्न !
आउनुस्,मेरो पछी पछी आउनुस् । बरु हिँड्दा अलि हेरेर हिँड्नुस्- ठेँस लाग्ला ।
ल हेर्नुस्, यहि हो अंस्ती ५० लाख खर्चेर डोँजर लगाएको बाटो ।
यो खन्दा माथी ढिकहरु सप्पै तल पुर्याईएको छ । हेर्नुस त, यता उँधो हेर्नुस् ।
देख्नओ- माथीबाट झारेको ढुङ्गा माटोले उधोँतिरको प्रकृती सबै खत्तम भयो ।
स- स्याना बिरुवाहरु सबै ढले । अलिक हुर्किएका हरुलाई ढुङ्गाले थिँच्यो, हान्यो । अब ति हुर्कन सक्दिनन् ।
तपाई फेरि आउँदा दाउरा हुन्छन् ति ।

अनि मास्थिर हेर्नुस त त्यो पिपलको बुटो, देख्नु भो ?

अँ,हो त्यै । ल हेर्नुस् त ! जरा सबै काटिएछन् । अब अर्को बर्खमा बाटोमा आईपुग्छ ।
गजधर बाले पथरकोटबाट बिरुवा ल्याएर रोपेपछी, यि यत्रो भएको हो यो पिपल ।
अब सकियो, कठैँ । अन्धाधुन्ध बिकासले खत्तम पार्यो ।
५० सौँ बर्षपछी बल्ल यत्रो भएको हो ।दलालहरुको मनमर्जीले सक्यो बाको मेहनत । गाउँको शोभा ।

खैर, जाउँ अलि पर सम्म । हेर्दै हेर्दै जाउँ ।
उ तल कटेरो हेर्नुस् त , देख्नओ । हो त्यो कटेरामा धने दाई बस्ते । उनको सिरि सम्पती जे भनेनी त्यै कटेरो थ्यो । यो बाटो खन्दाको बर्खा पहिरो आयो र पुरियो । बारिको नाम निसान रहेन । एउटो थारो भैसि पालेका थे । डालामुठा सबै लयो पैराले । कि राखेन ।
धनेदाईलाई बाटाले गाउँ छोड्ने बनायो । उनि भदौछेक हो थातथलो छोडेर भारत पसेको ।

यस्तै छ गाउँको बाटे बिकास । यत्नैबाट फर्किनी कि अल्लि पर्केनी सम्म पुग्नी !
नभए मुन्तिर सम्म गएर उतैको ठाडो बाटो उक्लिमला जाउँ । आईहालियो , घुमेर फर्किम् ।

देख्नु भो नि, बाटो र गाउँ ।

उ पारि हेर्नु त डाँडाहरु, सबै रात्तै छन् । पहिरो नगएको ठाउँ छ त कतै ?
बाटोले धेरैको घर सम्पती नासियो । धेरै बुटाहरु सकिए । जमेर बसेको जमिन खल्कियो । ठुला ठुला पहिरा गए । बस्तिहर सन्कटमा परे । पानीका श्रोतहरु मासिदै गए ।

बसाईसराई तिब्र गतिमा बढ्यो ।
हेर्नुस्, यस्तै छ गाउँको खबर । बिकासको खबर ।

अब जाउँ । मास्थिर चौपारियाँ बसौँ एकछिन र उकालो लागौँला ।
हिँड्नुस अघि, जाउँ ।

त ,
गाउँ घुमाए मैले । देख्नु भयो नि अबस्था । बाटोले के के गर्यो ?
अर्थात के गरेन ?

अब भन्नुहोला,

सबै चिज नबिग्रने गरी बाटो बनाउन मिल्दैन ?

मिल्छ । संसारभरी मिलेको छ । कुनै ठाउँमा सडक निर्माण गर्दा उक्त ठाउँको भुगोल कस्तो छ, जमिन कत्तिको बलियो छ ! बाटो बनाउँदा फाईदा धेरै कि बेफाईदा धेरै !

भबिश्यम बाटोले निम्त्याउने समस्याहरु लगायत धेरै कुराको अध्यन पछी मात्रै बाटो निर्माण सुरु हुन्छ ।

मैले अघि सुरुमै कोरियाको बिकासबारे भने नि ! खै त तहाँ डाँडाहरु रात्तै !
कतै छैन त पहिरो ।

मतलब,

यो नेपाल हो, कोरिया होइन । उसो भए जे पनि गर्ने !
बिकास निर्माण कसरी गर्ने भने निर्देशिका हुन्न र भन्या ?

ल एउटा कुरा गर्छु । उदाहरण भनौ न बरु ...

मेरो जिल्लामा एउटा पुल बन्या छ, झोलुङ्गे पुल । त्यो पुल हेर्नका लागी दिनहुँ सयौँ मान्छेहरु पुग्नेगर्छन् ।
वारीबाट पारि, पारिबाट वारी तिन दोहोर गर्छन् । टिकटक बनाउँछन् । फोटा खिच्छन् । अनेक गरेर फर्कन्छन् ।
त्यो राम्रै हो । पुल बन्नु राम्रो हो । मान्छेले हेर्नु राम्रो हो ।

तर, तर त्यहाँ त्यो पुल अठ्याउन जहाँनिर डाँडो खनिएको छ, त्यो फक्लक्कै देखिने थाप्लो सधै त्यस्तै हुनुपर्ने हो ?
बुझ्नु भो नि !

सुन्नुस् - जहाँबाट पुल तर्नुहुन्छ । त्यहाँ पुल अठ्याउन डाँडो खनेर तारहरु, पिल्लरहरु गाडिएको छ । उता पारी पनि त्यस्तै छ ।
ति डाँडाहरु भत्काएर, खनेर पुल बनिसक्दा सम्म किन ति नाङ्गा डाँडामा रुख रोपिएन् ?
त्यसरी त्यत्तिकै छोड्डा पुलको सौन्दर्यतामा ह्रास आएन र !
करोडौ खर्चेर पुल बनाउँदा जाबो दुई चार लाख खर्चेर माटो अठ्याउनको लागी किन जाली भर्न सकिएन ?
बोट बिरुवा रोपेर पैरोको जोखिम कम गर्न केल्ले रोक्यो ?

अलिकति मात्रै ध्यान दिएर त्यसलाई हरियाली बनाएको भए, झनै सुन्दर हुने हैन र
तहाँ आएका मान्छे अझ धेरैबेर अडिन्थे कि !

बडो उदेक लाग्छ, सम्झिंदा ।

त,बिकास भएकै छ । तर बिना मेसाको । बिना भरको ।
यार यस्तो बिकासले कहाँ पुर्याउला गाउँ । कहाँ पुग्ला देश ?

बढो अचम्म छ ।

देश छ । देश सँग अर्थ छ । कर्मचारी छन ।
गर्नुपर्छ भन्ने पनि छ ।
हुँदाहुँदै यो देश्को हालत किन यस्तो छ ?

कसरी सच्चिन्छ यो ?
के यसैगरी समय कटाउने हो त ?
के सधै अर्को राम्रो हेरेर बिताउने हो त ?

हए भन्नुस न,
के गर्यो भने - यि सबै कुराहरु राम्रो हुँदै जाला ?

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया