Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कसको पार्टी, कस्तो पार्टी ?

   
172   पटक पढिएको

मनहरि तिमिल्सिना। सर्वहारा वर्गको दार्शनिक तथा संगठनात्मक विकासबारे प्रकाश पार्दै लेनिन भन्थे, ‘‘मानिस जन्मजात कम्युनिस्ट हुँदैन, कम्युनिस्ट त संघर्षबाट खारिएको हुन्छ।’’ हामीकहाँ आफूहरु जन्मजात नै कम्युनिस्ट भएको दाबी गर्नेहरुको कुनै कमी छैन। तर, लेनिनका दृष्टिमा कम्युनिस्टहरु कुनै जहाँनियाँ उत्तराधिकारी होइनन्। उनीहरुको विचार र व्यवहारको निरुपण र परीक्षण पूर्खाको योगदानका आधारमा होइन, राजनीतिक संघर्षमा आफ्नै भूमिका र योगदानद्वारा स्थापित हुनुपर्दछ।

कमरेड पुष्पलालले २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना गरेयता कम्युनिस्ट पार्टीको वैचारिक चिन्तन, संगठनात्मक प्रणाली, संगठनात्मक उत्तरदायित्व, संगठनको स्वरुप एवं कार्यशैलीबारे गहन बहस हुँदै गएका छन्। ती सबै बहसमा जनवादी केन्द्रीयताको बुझाइ र कार्यान्वयनमा एकरुपता एवं आफ्नो विशिष्टताको ठोस व्याख्याको सन्दर्भ पनि जोडिएर आउने गरेको छ। नेपालका कम्युनिस्टहरुले जनवादी केन्द्रीयताको दृढ आत्मसातीकरणको प्रश्नमा बहस छेड्दै आए पनि संगठनमा त्यसको मूर्त अभिव्यक्ति कसरी गर्ने ? भन्ने प्रश्नमा समयसापेक्ष समाधान दिन सकेका छैनन्।

बहुमतको निर्णय र अल्पमतको सम्मान, तल्ला कमिटीहरु माथिल्ला कमिटीहरुको अधिनस्थ, व्यक्ति संगठनको अधिनस्थ, महाधिवेशनमार्फत् विचार संश्लेषण लगायतका विषयलाई जनवादी केन्द्रीयताको मुटु मान्ने गरिए पनि संगठनात्मक व्यवस्थापनका सन्दर्भमा त्यसलाई ‘रबरको टोपी’का रुपमा प्रयोग गर्ने समस्याबाट हामी कोही पनि मुक्त छैनौं। कतिले महाधिवेशन र अधिवेशनहरुमा गरिने खुल्ला निर्वाचनलाई नै जनवादी केन्द्रीयता र कतिले हलमा गरिएको प्रस्तावमाथि सामान्य हेरफेरबाट घोषणा गरिएको नतिजालाई नै जनवादी केन्द्रीयताको अर्थमा व्याख्या गर्दै आएका छन्। तर, यी दुवै तरिका हाम्रो सन्दर्भमा व्यवहारिक र सापेक्षिक पूर्ण छैनन्।

मूलतः जनवादी केन्द्रीयता विधिको प्रश्न मात्र नभएर द्वन्द्ववादी दृष्टिकोणको व्यवहारिक परीक्षणको सवाल पनि हो। हाम्रा व्यवहारहरुको स्रोत विचार नै हो। मानिसको मस्तिष्कमा जति पनि विचारहरु प्रवाहित हुन्छन्, तिनै विचारहरु व्यवहारका रुपमा बाहिरी दुनियाँमा अभिव्यक्त हुने गर्दछन्। यस अर्थमा व्यवहारको प्रश्न, जनवादी केन्द्रीयताको प्रश्न पनि विचारात्मक विषय नै हो।

कम्युनिस्ट पार्टीको आधारभूत दृष्टिकोण, सही एवं वैज्ञानिक कार्यदिशा, न्यूनतम् कम्युनिस्ट चरित्र र मूल्य–मान्यता, संगठनात्मक विधि र प्रक्रियामा नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीमा गम्भीर वैचारिक, राजनीतिक, सांस्कृतिक र सांगठनिक विचलनपछि नेकपा राजनीतिक दृष्टिले विभाजित भइसकेको छ। नेकपाका बहुमत नेता–कार्यकर्ता र जनता कम्युनिस्ट पार्टीमा विचार र विधिको सही र क्रान्तिकारी अन्तर्सम्बन्ध स्थापित हुनुपर्ने मान्यता राख्दछन्। तर, व्यवहारका दृष्टिले भने क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको सही बाटो पछ्याउन सकेका छैनन्।

सरकारको नेतृत्व गर्ने तरखरमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफ्ना कार्यकर्ता र जनतालाई आश्वस्त तुल्याउने गरी श्वेतपत्र जारी गर्ने तयारीमा छ। नेकपाको श्वेतपत्रमा के–कस्ता विषयहरु समेटिन्छन्, त्यो प्रतीक्षाको विषय नै छ। तर, हामीले साँच्चै समाजवादी क्रान्तिकै नेतृत्व गर्ने कम्युनिस्ट पार्टी चाहन्छौं भने नेकपाको नेतृत्वले तपसिलका विषयमा ध्यान दिनु बुद्धिमत्ता हुनेछ।

१. कम्युनिस्ट पार्टी निवर्गीय पार्टी होइन। पूँजीवादको चरित्रमा आएको गुणात्मक परिवर्तनका कारण वर्ग निर्माणको आधार र वर्गीय सन्तुलनमा फेरबदल अवश्य आएको छ। तर, यसको अर्थ कम्युनिस्ट पार्टी निवर्गीय हुन सक्दैन। कसैले मनोगत दृष्टिले निवर्गीय पार्टी बनाउन कोशिस गर्ला। तर, त्यो सम्भव हुँदैन। त्यसका लागि वर्ग विश्लेषणका आधारमा पार्टी सदस्यताका निम्ति निश्चित मापदण्ड बनाइनुपर्छ। शान्ति प्रक्रियाका पछिल्ला वर्षहरुमा नेकपाभित्र उद्योगको पूँजीपति र मजदूरलाई एउटा सेल कमिटीमा राखेर कम्युनिस्ट पार्टी बनाएको दाबी गर्न थालिएको छ। त्यस्तो तर्क बाघ र बाख्रालाई एउटै खोरमा हालेर प्रजातन्त्रको वकालत गर्नुजस्तै हुन्छ। त्यस्तो पार्टी कमिटी सर्वहारा/श्रमजीवी वर्गको मुक्तिदाता होइन, बरु उल्टो सर्वहारा/श्रमजीवी वर्गमाथि हिंसा थोपर्ने साधन बन्न जान्छ। नेकपाले सबैभन्दा पहिला कम्युनिस्ट पार्टीको वर्गीय चरित्र र संगठनात्मक नीति एकिन गरी सोहीअनुरुप संगठनको स्वरुप व्यवस्थित गर्नुपर्छ।

२. व्यवस्थित राज्यसत्ता विकासको इतिहास ५००० वर्षभन्दा पूरानो छ। तर, सर्वहारा÷श्रमजीवी वर्गले राज्यसत्ता सञ्चालन गरेको अनुभव डेढ शताब्दीभन्दा लामो छैन। राज्यसत्ता निर्माणको प्रक्रियामा स्वभावैले विचार, संगठन, संस्कृति र कार्यशैलीमा समेत एकरुपताको माग गर्दछ। बुर्जुवा वर्गले राज्यसत्ता सञ्चालनका क्रममा आफ्नै दृष्टिकोण, विचार, स्कुल र संस्कृति निर्माण गरेको छ, जुन कुरा विद्यालय र विश्वविद्यालयमा समेत पढाएर बुर्जुवा वर्गकै उत्तराधिकारी तयार गरिन्छ। तर, सर्वहारा/श्रमजीवी वर्गको स्कुल त्यति सजिलो र व्यवस्थित छैन। बुर्जुवा वर्गको स्कुल र संस्कृतिले उसको वैचारिक र सांस्कृतिक दृष्टिकोण पनि प्रभावित गर्दछ। त्यसका विरुद्ध जुध्न कम्युनिस्ट पार्टीसँग आफ्नै स्कुल चाहिन्छ। तसर्थ, नेकपाले स्कुलको विषय तपसिलमा राख्ने गल्ती गर्नु हुँदैन।

३. हामीकहाँ पार्टीमा प्रवेशको प्रक्रिया नै गलत छ। कम्युनिस्ट पार्टीमा कुनै व्यक्तिले सदस्यता प्राप्तिका निम्ति आवेदन दिएपछि ३ महिनादेखि १ वर्षसम्म परीक्षणकालमा राख्ने प्रचलन छ। तर, परीक्षणकाल राखिएको व्यक्तिको अनुगमन गर्ने कुनै प्रबन्ध छैन। व्यक्तिको वैचारिक, सांस्कृतिक अवस्था र वर्गप्रतिको निष्ठाबारे कुनै मूल्यांकन नहुने गरी तोकिने परीक्षणकाल ‘कर्मकाण्ड’भन्दा माथि उठ्न सकेको छैन। तसर्थ, नेकपाले सदस्यताका निम्ति आवेदन दिने व्यक्तिहरुको पृष्ठभूमि र वर्तमानबारे अनुगमन गर्न स्थायी संरचना निर्माण गर्न आवश्यक छ। अनि त्यस्तो संयन्त्रले दिएको सिफारिसका आधारमा पार्टी सदस्यता प्रदान गर्ने नीति लिनुपर्दछ।

४. दशकौंदेखि सरकारको नेतृत्व गरिसकेको कम्युनिस्ट पार्टीले केन्द्रमा समेत नियमित र व्यवस्थित कम्युनिस्ट स्कुल सञ्चालन नगर्नु/नसक्नु बिडम्वनाको कुरा हो। तसर्थ, नेकपाले सम्भव भए ७७ वटै जिल्ला र सम्भव नभए कम्तिमा ७ प्रदेशमा नियमित स्कूलहरु सञ्चालन गर्नुपर्दछ। कम्युनिस्ट पार्टीको सदस्य हुन चाहनेहरुलाई कम्युनिस्ट स्कुलको आधारभूत अध्ययन अनिवार्य गरी त्यही स्कुलको सिफारिसका आधारमा पूर्ण सदस्यता प्रदान गर्ने नीति लिएर मात्र नेकपाले आफूहरुलाई कम्युनिस्ट पार्टीका रुपमा रुपान्तरण गर्न सक्छ। अन्यथा, मार्क्सवादी विचार, दृष्टिकोण, समकालीन विश्वमा आएको परिवर्तन, विज्ञान–प्रविधिको विकास र त्यसबारे सही बुझाई एवं प्रयोग बिना मान्छेहरु पार्टीको माथिल्लो तहमा पुग्ने र कम्युनिस्ट आन्दोलनमा गद्दारी गरिरहने प्रवृत्तिको पुनरावृत्ति भइरहनेछ।

५. कम्युनिस्ट पार्टी अविछिन्न उत्तराधिकारीयुक्त, क्रान्तिकारी र जुझारु पार्टी हो। कम्युनिस्ट पार्टीलाई जुझारु र गतिशील बनाउन माओत्सेतुङले ‘तीन–एक’को अवधारणा प्रस्तुत गरेका थिए, जसलाई ‘थ्री इन वान’ पनि भन्ने गरिन्छ, जुन कुरा हाम्रो सन्दर्भमा पनि उत्तिकै वैज्ञानिक र महत्वपूर्ण देखिन्छ। पार्टीका हरेक कमिटीमा जेष्ठ, प्रौढ र युवाहरुको समान प्रतिनिधित्व र कमिटीहरु समावेशी लोकतन्त्रको मर्मवोध गर्नसक्ने हुनुपर्छ। तर, हामीकहाँ कम्युनिस्ट पार्टीको माथिल्लो जिम्मेवारीमा पुग्न बृद्ध हुनैपर्ने बिडम्बना देखिएको छ। जीवनको उर्जाशील समयभरि जिम्मेवारीबिहीन रहने र आराम गर्नुपर्ने उमेर र अवस्थामा क्षमताभन्दा ठूलो जिम्मेवारीको भारी बोक्नुपर्ने कारण कम्युनिस्ट पार्टी पनि गतिहीन बन्ने गरेका छन्। तसर्थ, नेकपाले आफूलाई जीवन्त र गतिशील बनाउने गरी नीति र विधि तय गर्नुपर्दछ।

६. नेकपामा सैद्धान्तिक, वैचारिक अध्ययनको विषयलाई उपेक्षाका दृष्टिले हेर्ने मनोविज्ञान झाङ्गिँदै गएको छ। अध्ययन व्यक्तिको व्यक्तित्व र क्षमता विकासका दृष्टिले मात्र नभएर आन्दोलनको गुणात्मक विकासका दृष्टिले पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। जसले विषयलाई जति गम्भीरतापूर्वक बुझेको छ, उसको प्रस्तुति र नतिजा पनि त्यति नै उचाइबाट हुने गर्दछ। २१ औं शताब्दीको डिजिटल युग आफैमा पनि ‘हार्ड वर्क्स’को जमाना होइन, ‘स्मार्ट वर्क्स’को जमाना हो। अध्ययन र अनुभवका आधारमा प्राप्त ज्ञानले मात्र कम्युनिस्ट पार्टीको नेता–कार्यकर्ताले थोरै परिश्रम र समयबाट सही र धेरै नतिजा दिन सक्दछ। तसर्थ, पार्टीले अध्ययन संस्कृतिलाई प्रोत्साहित हुने गरी नीति तय गर्न जरुरी छ।

७. कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हो। तर, जनवादी केन्द्रीयताको अभिव्यक्तिमा राष्ट्रिय मौलिकता हुने गर्दछ। हामीले अभ्यास गर्दै आएको महाधिवेशन र अधिवेशनहरुमा खुला चुनाव गर्ने र नेतृत्वले नै कमिटीका पदाधिकारी र सदस्यहरु मनोनित गर्ने दुवै प्रणालीले अन्तरपार्टी लोकतन्त्रको गुरुत्व बोक्न सक्दैनन्। तसर्थ, नेकपाले पार्टीका कमिटीहरुमा नेतृत्व छान्दा नयाँ संगठनात्मक विधि अपनाउन जरुरी छ। नेकपाका सबै तहका नेता–कार्यकर्ताका लागि, १. इतिहास र योगदान, २. रचनात्मक भूमिका र क्षमता, ३. वर्गप्रतिको निष्ठा र प्रतिवद्धता, ४. जेष्ठता र निरन्तरता, ५. सामयिक आवश्यकता, ६. समावेशी लोकतन्त्रको व्यवहारिक प्रयोग, ७. अनुशासन र नैतिक मर्यादा, ८. कार्यक्षेत्र र विभागीय प्रभावकारिता आदि, विषयलाई आधार बनाएर त्यसमा निश्चित अंक दिने प्रणालीलाई स्थापित गर्न सकिन्छ। त्यसरी कार्यसम्पादन मूल्यांकनका आधारमा छानिएका नेताहरुमध्येबाट नै अधिवेशनमा खुला निर्वाचन गराएर नेतृत्व छान्ने विधि वैज्ञानिक हुन सक्छ। यसले नेतृत्व छनोटमा वर्गीय दृष्टिकोण प्रतिविम्बित हुने र व्यक्तिको प्रतिस्पर्धाको स्वतन्त्रता पनि कायम रहन सक्दछ। नेकपाले यसरी निर्वाचनको मोडेल तयार पार्न सकेमा संस्थागत स्थायी गुट र निर्वाचनका नाममा देखिने विकृतिहरुलाई पनि अन्त्य गर्न सकिन्छ।

८. कम्युनिस्ट पार्टी जनताको स्वयंसेवक पार्टी हो। यसर्थ, कम्युनिस्ट पार्टीमा आवद्ध नेता–कार्यकर्ताको संगठनात्मक आवद्धता करकापको विषय हुँदैन। उसले वैचारिक पक्षधरताका आधारमा समकालीन पार्टीहरुमध्ये सबैभन्दा सही र वैज्ञानिक पार्टी छनोट गर्ने अधिकार राख्दछ। तर, हामीकहाँ स्वार्थका निम्ति पार्टी प्रवेश गर्ने र स्वार्थकै निम्ति पार्टी छोड्ने रोग भयावह बन्दै गएको छ। स्वार्थका लागि पार्टी प्रवेश–परित्याग गर्ने र त्यसलाई वैचारिक रङ् दिन प्रयत्न गर्ने प्रवृत्तिले कम्युनिस्ट पार्टीको राजनीतिक छवि र संगठनात्मक आधार ओरालो लागिरहेको छ। तसर्थ, नेकपाले निश्चित वैचारिक बहसका आधारमा पार्टी परित्याग गरेको परिस्थितिमा बाहेक स्वार्थकै निम्ति पार्टी परित्याग गर्नेहरुलाई पार्टीमा भित्र्याउँदा निश्चित मापदण्ड निर्माण गर्न जरुरी छ। अन्यथा, कम्युनिस्ट पार्टी व्यक्तिहरुका तुच्छ आकांक्षाहरु परिपूर्ति गर्ने बजारको रुपमा परिणत हुनेछ।

९. पार्टी प्रवेशबारे पनि नेकपामा कुनै ठोस मापदण्ड छैन। सामाजिक अपराधमा संलग्न र जनमतका दृष्टिले ऋणात्मक दिशातिर रहेका व्यक्तिहरुलाई नै बिना कुनै जाँचबुझ पार्टीमा भित्र्याउने, योग्यता र क्षमताभन्दा बढी जिम्मेवारी दिने प्रवृत्ति नेकपामा अहिले पनि विद्यमान छ। यसले कम्युनिस्ट पार्टीको हित गर्दैन। जनमत निर्माणका दृष्टिले पनि त्यस्तो प्रवेश पार्टीका निम्ति घातक हुन जान्छ। समाजमा कलंकित एउटा अनुहारलाई पार्टीमा भित्र्याउँदा सयौं अनुहारहरुमा निरासा र आक्रोश पैदा हुने र त्यसले पार्टीलाई उल्टो क्षति हुनेतर्फ पनि नेकपाले विचार गर्न जरुरी छ। तसर्थ, पार्टी प्रवेशपूर्व उनीहरुको पृष्ठभूमि र वर्तमान एवं राजनीतिक र सामाजिक निष्ठाको अध्ययन गर्न जरुरी छ।

१०. कम्युनिस्ट पार्टी निर्माणको सबैभन्दा ठूलो हतियार संघर्ष हो। वर्गसंघर्ष र पार्टी जीवनको अन्तर्संघर्षमा क्रान्तिकारी विचार र प्रवृत्तिको पक्षमा उभिएर मात्र हरेक सदस्यले आफूलाई नेतृत्वमा विकास गर्दछ। तसर्थ, पार्टी जिम्मेवारीका सन्दर्भमा पनि नेतृत्व र कमिटीले व्यक्तिको भूमिका र संघर्षमा योगदानलाई महत्वपूर्ण मापदण्ड बनाउन जरुरी छ। ‘माछा भेट्दा कुरभित्र हात, सर्प भेट्दा कुरबाहिर हात’ गर्ने अवसरवादीहरु नै संघर्ष र आन्दोलनमा विजयपछि पार्टी र सत्ताको नेतृत्वमा आउने परिस्थितिलाई नीतिगत रुपमै नियन्त्रण गर्न जरुरी छ।

नेकपा यतिबेला आफ्नो रणनीतिक योजनासहितको श्वेतपत्र निर्माणमा जुटेको छ। कम्युनिस्ट आन्दोलनप्रति जनतामा देखिएको निरासा र आक्रोशका सन्दर्भमा मात्र नभएर कम्युनिस्ट आन्दोलनको स्थायित्व र विकासका दृष्टिले पनि यो प्रयास महत्वपूर्ण छ। तर, सिद्धान्तका ठूलठूला बहस गर्ने तर व्यवहारमा रुपान्तरणको कुनै ठोस अनुभूति दिन नसक्ने बहसहरु बौद्धिक बिलासका साधन मात्र बन्न सक्छन्, त्यसैले नेकपाले ठूला कुरा गरेर काम नगर्ने होइन, साना कुरा गर्ने तर त्यो काम फत्ते गरिछोड्ने प्रवृत्तिलाई आफ्नो संस्कारका रुपमा स्थापित गर्न जरुरी छ।

अन्त्यमा, नेकपाले श्वेतपत्र फगत जनता–कार्यकर्ता अल्मल्याउने अस्त्रका रुपमा होइन, कम्युनिस्ट आन्दोलन र जनताको जीवनमा नयाँ उर्जा भर्ने गरी जारी गर्न जरुरी छ, ताकि केपी शर्मा ओली प्रवृत्ति नेकपाबाट बाहिरिए पनि हामीभित्र विद्यमान ‘ओलीवाद’लाई परास्त गर्न त्यसले शक्तिशाली हतियार प्रदान गर्न सकोस्, अस्तु !

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया