Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लघुकथा: पछुतो,यादव पौडेल

   
247   पटक पढिएको

"म नुहाएर छिट्टै सदरमुकाम जानुछ, तपाईंले अहिले भर्नुहोला।" उपेन्द्रले झ्वाट्ट पाईप तानेर पानी आफ्नोतर्फ जोड्यो।

धनमायाँ रिसले आगो हुँदै भनिन् "केही गर्न नसकेर आमाको धोती धोएर बसेओछस्, अझै ठूलो हुन्छस्।" उपेन्द्र केही बोलेन। उमेरले २५/२६ बर्षको उ जापान जाने कोशिस गर्दागर्दै हार खाएर बसेको हो। अहिले घरमा बस्नैपर्दा १५/२० वटा लोकल कुखुरा र ४/५ वटाजती बाख्रा पालेको छ। अब गाउँमै व्यावसायिक तरकारी खेती गर्ने उसको योजना छ।

धनमायाँको छुद्र वचन उसको हृदयमा निकै बिझेको थियो। "आखिर महिलालाई होच्याउने र कमजोर बनाउने काम महिलाले नै गरिरहेका छन्। के आफ्नो आमाको लुगा धुनु अपराध हो?" उसले मनमनै सोचिरह्यो।

धनमाँया धनको निकै फुर्ती गर्छिन्, ३ छोरा बुहारी र २ छोरी ज्वाइँ सबै युरोप अमेरिका छन्। बुढाबुढी गाउँमा एक्लै, बुढा उमेरले करिब ७० र बुढी ६३/६४ जति छन्।

करिब १ हप्ता पछि रातको ११ बजे धनमायाँको घरबाट बेस्सरी रोएको आवाज आयो "आम्मा! मरेनी बरै।" उपेन्द्रले सुनेर दगुर्दै त्यहीँ पुग्यो, चिच्याएरै बोलायो, धनमाँयाले बल्लतल्ल ढोका खोलिन्। पेट दुखेर मुर्छा परेकी उनी जोडजोडले रुन थालिन्।उनका श्रीमान हिजोमात्र उपचारको लागि राजधानी गका रैछन्।
उपेन्द्रले तुरुन्तै एम्बुलेन्स ड्राइभरलाई फोन लगायो अनि करिब डेढ घन्टामा उनलाई उ र उसको आमाले जिल्ला अस्पतालको बेडमा पुर्याए।

डाक्टरले केही औषधि खुवाएपछी उनलाई दुख्न अलिक कम भयो। दुखाई कम भएपछि धनमाँयाले निराश हुँदै भनिन्, "बाबु, मलाई माफ गर, मैले तिम्रो चित्त दुखाएँ, आखिर मसँग जे जति सम्पत्ति भएपनी आज अफ्ट्यारो पर्दा तिमिले नै बचायौँ, धेरै धेरै धन्यवाद बाबु।"

"ठिकै छ जेठियाँ मैले मन दुखाएको छैन, पैसा कमाउने सम्पत्ति जोर्ने रहर कस्लाई हुन्न र? अब गाउँमै केही गरम कि भन्ने सोच्दै छु।" उपेन्द्रले परिपक्क जवाफ दियो।

"आखिर हाम्रा यस्तै बोली व्यबहारले गर्दा त युवाहरू गाउँ छोड्न मरिहत्ते गर्छन्।" धनमायाँले मनमनै सोचिन्। उपेन्द्रको मन दुखाएको वचन सम्झेर धनमायाँ भित्रभित्रै दु:खिन्।।।

अस्तु......

यादव पौडेल सन्धिखर्क ७ डिहिडाँडा अर्घाखाँची

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया