काठमाडौं, मंसिर २०-घरवरपर वा सडक सफा राख्न धेरैले जानेको काइदा हो, वरपरको फोहोर जम्मा गरेर बालिदिने। त्यसमा पनि चिसो बढेसंगै आगो ताप्न फोहोर बाल्ने क्रम बढ्छ। तर, यसले वातावरण प्रदूषित बनाई स्वास्थ्य समस्या निम्त्याउने क्रम पनि बढेको छ।
जनस्वास्थ्य तथा वातावरणविद्का अनुसार उपत्यकामा घरबाहिरका फोहोर बाल्ने यही प्रचलन वातावरण प्रदूषणको प्रमुख कारण बन्दै गएको छ।
चिसो बढेसँगै विभिन्न स्थानमा भेटिने फोहोरमा विशेषगरी प्लास्टिक वा जंकफुडका खोलदेखि टायरसमेत हुन्छन्, जसलाई बालेर ताप्ने प्रचलन बढ्दै गएको छ। यसो गर्दा निस्किने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहिरहन्छ, जसले स्वास्थ्यमा निकै हानि पुर्याउँछ।
जर्मनीस्थित इन्स्टिच्युट फर एड्भान्स सस्टेनेबिलिटी स्टडिज (आइएएसएस) का अनुसन्धान प्रमुख महेश्वर रुपाखेतीसहितको टोलीले गरेको काठमाडौं उपत्यकाको वायुको गुणस्तरसम्बन्धी अध्ययनले प्रदूषित वायु मध्याह्नपछि मात्रै घट्ने देखाएको थियो। मध्याह्नसंगै तातेर हलुंगो भएपछि मात्रै त्यो वायु बिस्तारै नगरकोटतिर लाग्ने र त्यहाँबाट बाहिरिने गरेको अध्ययनले देखाएको थियो, आजको नागरिक दैनिकमा समाचार छ ।
तपाईको प्रतिक्रिया