प्रतियोगिताका अहिलेसम्मका उच्च स्कोरकर्ता विदेशी खेलाडीद्धय बाबर हयात र अंशुमन रथ तथा सर्वाधिक विकेट टेकर बसन्त रेग्मीको उत्कृष्ट प्रदर्शनले अपराजित रहँदै विराटनगर फाइनल प्रवेश गरेको छ।
एभरेष्ट प्रिमियर लिग(इपिएल) अन्तर्गत बुधबार भएको पहिलो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै अपराजित विराटनगर वारियर्सले फाइनलमा स्थान बनाएको छ।
फाइनल यात्रासम्म खेलेका ६ खेलमा विराटनगर अपराजित रह्यो। त्यसमा विदेशी खेलाडीद्धय बाबर हयात र अंशुमन रथ तथा बसन्त रेग्मीको भुमिका महत्वपुर्ण रह्यो।
इपिएलमा सर्वाधिक स्कोरकर्ताको सुचिको अग्रपंन्तिमा छन्, बाबर र अंशुमन।
हङकङका खेलाडीद्धय बाबरले ६ खेलबाट ३ सय २ रन जोडेका छन् भने अंशुमनले त्यति नै खेलबाट २ सय ३० रन बनाउँदै क्रमश: पहिलो र दोस्रो स्थानमा कब्जा जमाएका छन्।
त्यस्तै, विराटनगरका बसन्त रेग्मीले ६ खेलबाट १२ विकेट लिदै उच्च विकेट टेकरको पहिलो स्थान ओगट्न सफल छन्।
उति नै विकेट पोखरा इसारर उल्लाहले लिएपनि औषतमा भने बसन्तले उनलाई पछाडी पारेका छन्। बसन्तको औषत ८.४१ छ भने इसरार उल्लाहको ८.६६ छ।
विराटनगरलाई विदेशी खेलाडीको साथ
लिगचरणको पहिलो खेल देखि नै विराटनगरलाई अपराजित राख्न अंशुमन र बाबरले महत्वपुर्ण इनिङ्सहरु खेले।
पहिलो खेलमा विराटनगरले ललितपुरमाथि रोमाञ्चक ६ रनको जित निकाल्यो। अनिल साहले सर्वाधिक ४७ रन जोडको खेलमा बाबरले ३४ र अंशुमनले १४ रन जोड्दै टोलीलाई सुखद सुरुवात दिलाए।
दोस्रो खेलमा पोखरा राइनोजको सामना गरेको विराटनगरले २ बल बाँकी छदा ३ विकेटको जित निकाल्यो।
७ विकेट गुमाएर १२२ रनको लक्ष्य पछ्याउने क्रममा अंशुमन ६० रनको म्यान अफ द म्याच प्रदर्शन गरे भने बाबरले २२ रनको पारी खेले। उनीहरु टोलीमा पहिलो र दोस्रो उच्च स्कोरकर्ता थिए।
तेस्रो खेलमा बाबर र अंशुमनको पारीमा विराटनगर चितवन टाइर्गसमाथि आक्रामक बन्यो र प्रतियोगिताकै उच्च स्कोर खडा गर्यो।
उक्त खेलमा १ सय ७४ रन बनाएको विराटनगरले चितवनलाई १ सय ३ रनमा रोक्दै प्लेअफमा स्थान बनाएको थियो।
जसमा बाबर हयातको म्यान अफ द म्याच ८१ तथा अंशुमन राथको ४१ रनको योगदान दिए। यस खेलमा पनि उनीहरु नै टोलीका सर्वाधिक स्कोरर थिए।
विराटनगर
चौथो खेलमा भैरहवा ग्लाडियटर्सलाई ३५ रनले पराजित गर्दै क्वालिफायर्समा स्थान बनाएको विराटनगरका लागि पुनः अंशुमन राथले ५७ तथा बाबर हयातले ३६ रन बनाए।
लिग चरणको अन्तिम खेलमा काठमाडौं किंग्स एलेवेनलाई ८ रनले पराजित गर्दा पुनः बाबर र अंशुमन नै चम्के। जसमा बाबरले ६७ तथा अंशुमनले ३२ रनको योगदान दिए।
क्वालिफायर्समा बुधबार भैरहवालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दा उनीहरुले उत्कृष्ट प्रदर्शन कायम राखे। विराटनगरको फाइनलमा स्थान सुरक्षित गर्न बाबरले ६२ तथा अंशुमनले नटआउट २६ रनको पारी खेले।
एसोसियट क्रिकेटका चिनाइरहनु नपर्ने बाबर र अंशुमनले गत महिना सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पनि सर्वाधिक रन जोड्ने खेलाडीको सुचिमा शीर्ष तीन स्थान ओगटेका थिए।
कप्तान पारस खड्काको अनुरोधमा नेपाल आएका उनीहरुले यही प्रदर्शन जारी राखे २१ लाख प्रथम पुरस्कार रहेको प्रतियोगिताको उपाधि विराटनगरले जित्ने धेरैले आँकलन गरेका छन्।
तपाईको प्रतिक्रिया