अर्घाखाँचीको छत्रदेव गाउँपालिका बोयर हबको रूपमा विकास हुँदै

| २०७८ असार १४ गते १९: ०८ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको छत्रदेव गाउँपालिका बोयर हबको रूपमा विकास हुँदै छ। छत्रदेव गाउँपालिका—४ बाट जिल्ला बाहिर बोयर बाख्रा निर्यात हुन थालेको छ। 

छत्रदेव गाउँपालिकको सिजनशील महिला घाँस तथा बाख्रापालन समूह केरुङगाले बोयर जातको बाख्रा रूपन्देही र पाल्पा पठाएको छ। करिब तीन वर्षको अवधिमा अर्घाखाँचीको शीतगंगा नगरपालिका, पाणिनि गाउँपालिका मात्र नभएर छिमेकी जिल्ला पाल्पा र रूपन्देहीमा बाख्रा निर्यात गरेका हुन्। 

बोयर जातका बाख्रा बिक्री गरेर समूहले २५ लाख आम्दानी गर्न सफल भएको सिर्जनशील महिला घाँस तथा बाख्रापालन समूह केरुङ्गाकी अध्यक्ष सावित्रा पन्थीले जानकारी दिइन्।

गाउँपालिकाले पहिला अनुदानमा बाख्रा दिएको थियो। त्यही बाख्रापालन गरेर  सहकारीमा आबद्ध किसानहरूले वार्षिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको किसान राधा सारूको भनाइ छ। उनले बाख्रा बेचेर घर खर्च चलाउन तथा छोराछोरी पढाउन आफूहरूलाई सजिलो भएको बताइन्। 

किसानहरूले उत्पादन गरेका बाख्रा बिक्री गर्नका लागि पनि कुनै समस्या छैन। बाहिरी जिल्लाबाट फोनमै कन्ट्याक गरेर बाख्रा खरिद गर्न आउने गरेका छन्। मनग्य आम्दानी हुने भएपछि अन्य व्यवसायहरूसमेत छाडेर बाख्रापालनमा लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेसराज पन्थले बताए।  

रूपन्देहीको कञ्चन गाउँपालिका पशु शाखा प्रमुख नेत्रप्रसाद अधिकारीलाई केरुङ्गामा किसानहरूले बिक्री गरेका बाख्रा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले किसानहरूको मनोबल बढाउन अनुदान दिन लागिएको बताए ।

बाख्रापालक किसानहरूलाई गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष पोख्रेलले बताए। कृषि र पशुपालनबाट मात्र गाउँपालिकावासीको आर्थिक समृद्धि हुने भएपछि कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताए। 

किसानहरूको मागका आधारमा कार्यक्रमहरू सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले बताए। उनले आगामी बर्वाको बजेटमा पनि कृषि क्षेत्रलाई  प्राथमिकतामा राखेको उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्