मालारानी-४ को रोजगार कार्यक्रम काण्डमा पालिकाको ढाकछोप

| २०७८ सावन १९ गते ०२: ४४ मा प्रकाशित

अर्घाखाँची । मालारानी गाउँपालिकाले वडा नम्बर-४ मा भएको अनियमितता ढाकछोप गर्ने प्रयत्न गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाले कुनै अनियमितता नभएको जनाएको छ ।

तर, विज्ञप्तीमा भएको परिघटनाको एउटा पाटो मात्र केलाईएको र त्यसैको आधारमा अनियमितता नभएको दावी गरिएको छ । जहाँ १ सय १० जनाको रोजगारीको विषय मात्र अवगत गराईएको छ । ४ नम्बर वडा कार्यालयका वडाअध्यक्ष विष्णुप्रसाद पोख्रेलले स्वयंले आर्थिक वर्ष २०७७/०७८ मा ३६७ जनालाई रोजगारी दिईएको अभिव्यक्ती दिईसकेका छन् । बैशाखमा एक रेडियो अन्तरवार्तामा वडाअध्यक्षले एकपटक ३१० र एक पटक ३३० जनालाई रोजगारी दिईएको बताएका थिए । काम सम्पन्न भएपछी केही दिन अँघी उनले ३६७ जनालाई रोजगारी दिएको बताए । त्यसपछी विवाद उत्पन्न भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार भएको स्थानियवासीकै दावी छ । आफुहरुलाई समेत गुमराहमा राख्न खोजिएको उनीहरुले बताउँदै आएका छन् । स्थानिय युवाहरुले साविकका ९ वटै वडामा तथ्याङ्क संकलन गरेका थिए । ९ वटै वडामा खटिएका रोजगार कार्यक्रमका टिम लिडरबाट प्रत्यक्ष रूपमा त्यहाँ काम गर्ने श्रमिकको संख्या संकलन गरे । उनीहरुले टिम लिडरबाट लिएको तथ्याङ्क अनुसार वडा नम्बर-१ मा ४० जना, वडा नम्बर-२ मा ३० जना, वडा नम्बर-३ मा ३९ जना, वडा नम्बर-४ मा ३० जना, वडा नम्बर-५ मा ५५ जना, वडा नम्बर-६ मा १८ जना, वडा नम्बर-७ मा ३१ जना, वडा नम्बर-८ मा ३३ जना र वडा नम्बर-९ मा ३५ जना गरी कुल संख्या ३११ जनाले रोजगारी पाएको देखिन्छ ।

युवाहरुसंग भएको तथ्याङ्कलाई आधार मान्ने हो भने ३११ जनालाई १५ हजार ५ सयका दरले पैसा उपलब्ध गराईएको छ । यसरी कुल रकम ४८ लाख २० हजार पाँचसय हुन्छ । गाउँपालिकाबाट ५६ लाख भन्दा बढी रकम निकासा भएको छ । युवाहरुले बाँकी पैसाको हिसाब नआएको भन्दै भ्रष्टाचार भएको ठहर गरेका हुन् । प्रश्न सोध्दा वडाअध्यक्षले जवाफ नदिएको, भाग्ने गरेको, फोन अफ गरेर बसेको, भोली दिन्छु, पर्सी दिन्छु भन्दै ढाँटेको लगायतले पनी उनी चुकेको थाहा हुने स्थानिय विकास खनालले बताए ।

गाउँपालिकाले निकालेको विज्ञप्तीमा १ सय १० जनाको बैंक खातामा ५१ हजार १ सय ८३ का दरले रकम गएको प्रष्ट्याएको छ । यस हिसाबले ५६ लाख ३० हजार एकसय ३० रुपैया भुक्तानी भएको छ । श्रमिकको खातामा पैसा गईसकेपछी चलखेल भएको प्रष्ट छ । एकदुई जनाको नाममा श्रमिकको पैसा सबै झिकेर फेरी वितरण गरिएको श्रोतले बताएको छ । यस विषयमा पालिकाको विज्ञप्तीमा कुनै कुरा उल्लेख गरिएको छैन । पालिकाले निकालेको विज्ञप्तीले वडाअध्यक्ष पोख्रेलको बचाउ गरेको पाईन्छ ।

यता वडाअध्यक्ष विष्णुप्रसाद पोख्रेलले आफुले अनियमितता नगरेको बताउँदै आएका छन् । पालिकामा एकथोक सम्झौता भएपनी गाउँमा व्यवहारीक हिसाबले श्रमिकलाई काममा लगाईएको उनले बताए । एकसय १० जनालाई सम्झौता गराएपनि व्यवहारिक रुपमा वडा भित्र रहेका तीन सय ६७ जनालाई एक महिनाका दरले काम लगाएर १५ हजार ५ सयका दरले रकम दिएको वडा अध्यक्ष विष्णुप्रसाद पोख्रेलले बताए । उनले एक सय १० जनाबाट व्यवहारिक रुपमा सबैलाइ मिलाएर रकम दिएको बताएका छन् ।

अनियमितता सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको छ । सम्बन्धित कागजपत्र मगाएर छानबिन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

विज्ञप्ती

 

प्रतिक्रिया दिनुहोस्