महिना दिन बितिसक्दा पनि अर्घाखाँची अस्पतालका दुईवटा भेन्टिलेट प्रयोगमा आउँन सकेनन :जनशक्ति नहुँदा थन्किए भेन्टिलेटर

| २०७८ सावन १९ गते १२: १५ मा प्रकाशित

अर्घाखाँची। संघ सरकारले अर्घाखाँची अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको महिना दिन बित्यो । तर, जनशक्ति अभावमा प्रयोगमा आउन सकेको छैन । भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमणका बिरामीलाई काठमाडौं र बुटवल पठाउनुपर्ने बाध्यता छ । 

केही दिनअघि अस्पतालमा भर्ना भएका संक्रमणबाट सिकिस्त बिरामी सन्धिखर्क नगरपालिका–८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसाललाई आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्थामा आयो । यहाँ भेन्टिलेटर नभएकाले हेलिकप्टरमार्फत काठमाडौं लगेको दुई दिनमा उनको निधन भयो ।

मालारानी गाउँपालिका–५ बाँगीका श्यामलाल भुसाललाई पनि आईसीयूमा उपचारका लागि बुटवल रेफर गरियो । दुई सातामा आईसीयूमा राखेर उपचार गर्नुपर्ने आठ जना बिरामीलाई अर्घाखाँची अस्पतालले बुटवल र काठमाडौंका अस्पतालमा रेफर गरेको छ ।

‘यहीं नै भेन्टिलेटर सञ्चालन भएको भए बिरामीलाई बाहिर पठाउनुपर्ने थिएन,’ अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमले भने, ‘संघ सरकारले दुईवटा भेन्टिलेटर पठायो । जनशक्ति पठाएन ।’ दुईवटा भेन्टिलेटर सञ्चालन आईसीयू बेडमा बिरामीलाई सेवा दिन विशेषज्ञसहित १० जना डाक्टर र १५ नर्सको जनशक्ति चाहिने उनले बताए ।

संघ र लुम्बिनी प्रदेश सरकारलाई जनशक्ति पठाइदिन भने पनि अहिलेसम्म कुनै चासो दिएको छैन । जनशक्ति नहुँदा भेन्टिलेटर यत्तिकै थन्किएका छन् । ‘तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाह समस्या भएको र भेन्टिलेटर कोठामा थन्काएर राख्नुपरेको छ,’ डा.गौतमले भने ।स्रोत - कान्तिपुर् अनलाइन

प्रतिक्रिया दिनुहोस्