निषेधाज्ञाको कडा प्रभाव: अर्घाखाँची सुनसान

| २०७८ सावन १९ गते १५: ३० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीमा शनिबार रातिदेखि साउन ३० गतेसम्म निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञाको प्रभावले अर्घाखाँची सुनसानजस्तै भएको छ । जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि साउन १४ गते सर्वपक्षीयसहितको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो । 

निषेधाज्ञालाई थप कडाइ गर्न सन्धिखक, चुत्रावेसी बजार, जिल्लाका व्यस्त ठाउँहरुमा प्रहरी परिचालन गरिएको छ । निषेधाज्ञा लागु भएसँगै अत्यावश्यकका साधान बाहेक नीजि तथा सार्वजनिक सवारि साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला बाहिरबाट अत्यावश्यक काम लागि आउनेहरुले जिल्ला प्रशासनसँग सहजिकरण गरेर मात्र प्रवेश गर्न पाईने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । 

दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी तथा फलफुल, दुध डेरी, मासु पसल, कृषिजन्य पसल विहान ६ बजेदेखि विहान ९ बजेसम्म मात्र खोल्न दिईएको छ । औषधि पसल, क्लिनिक, डेन्टल क्लिनिक २४ सै घण्टा खुल्नेछन् । निषेधाज्ञा अवधिभर बैंक तथा वित्तिय संस्था, सभा–सम्मेलन, गोष्ठि, भोज भतेर गर्न पाईने छैन भने लोक सेवा आयोग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परिक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लगायत निकायका पुर्वनिर्धारित परिक्षा भने सञ्चालन हुनेछन् । मानिसहरु पनि अति आवश्यक काम परे मात्र घर बाहिर निस्केका छन् । 

श्रावण ३० गते राति १२ बजेसम्म लागू गरिएको निषेधाज्ञाको समयमा कोहि कसैले पनि अटेरी गरे कडाभन्दा कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मध्यरातदेखी लागू भएको निषेधाज्ञाको पुर्णरुपमा पालना गर्न र जिल्ला कोरोनाको अती उच्च जोखिममा रहेकाले नियमको पुर्ण पालना गर्दै स्वास्थ्य मापदण्ड अपनाउन कार्यालयले आग्रह गरेको छ ।

हाल अर्घाखाँची जिल्लामा ६ सय जना कोरोना भाईरसका सक्रिय संक्रमित रहेका छन् । कोरोनाका कारण हाल सम्म जिल्लामा ७४ जनाको ज्यान गएको छ । 
अर्घाखाँचीमा १८ वर्षभन्दा माथिका नागरिकहरु १ लाख १४ हजार ७ सय ५ जना रहेका छन् । ती मध्ये अहिलेसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप प्रमुख राधाराम आचार्यले बताए ।  

ती मध्ये कोभिशिल्ड पहिलो मात्रा १२ हजार ९ सय ३४ जनाले लगाए भने ३ हजार ८ सय ९ जनाले दोस्रो मात्रा लगाई सकेका छन् । कोभिशिल्ड पहिलो मात्रा लगाएका ९ हजार १ सय २५ जनाले ५ महिनादेखि दोस्रो मात्रा लगाउन पाएका छैनन् । 

यस्तै भेरोसेल १४ हजार ६ सय ३३ जनाले पहिलो मात्रा खोप लगाईसकेका छन् भने ३ हजार १ सय ३२ जनाले दोस्रो खोप पनि लगाएका छन् । ११ हजार ५ सय १ जनाले दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको छ । यस्तै जोन्सन एण्ड जोन्सनको पहिलो मात्रा खोप ९ हजार ५ सय ५० जनाले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्