अन्त्तरजातीय विवाहको परिणाम: अर्घाखाँचीकि एक चेलीले संसार त्यागिन्

| २०७८ सावन २३ गते १८: ०४ मा प्रकाशित

बुटवल। अर्घाखाँची शितगंगा नगरपालिका-२ झिर्राकी २१ वर्षीया सिर्जना सुनार घरकी काइली छोरी हुन्। सामान्य परिवारमा हुर्किएकी उनको सपना थियो, कक्षा १२ उत्तीर्ण गरेपछि जापान जाने। आर्थिक अवस्था कमजोर भएकाले जापानी भाषा सिकेर विदेश जाने अठोटसहित बुटवल झरिन् सिर्जना। गाउँमै छँदा शितगंगा-२ जिमाने टोलका २३ वर्षीय सुमन क्षेत्रीसँग उनको प्रेम सुरु भइसकेको थियो। जापानी भाषा अध्ययनका लागि बुटवल आएपछि प्रेम सम्बन्ध थप प्रगाढ बन्यो।

करिब २ वर्षसम्म प्रेम सम्बन्ध चल्यो। प्रेम सम्बन्ध कायम भएकै बेला गत वर्ष सिर्जना गर्भवती भइन्। विवाह नहुँदै गर्भ बसेपछि सुमनलाई विवाहका लागि अनुरोध गरिन्। तर, सुमन नेपाली सेनामा कार्यरत भएकाले हत्तपत्त छुट्टी मिल्दैन भन्ने बाहना बनाएर विवाह टार्दै गए। विवाहका लागि तयार भएनन्।

सिर्जना गर्भवती भएको ८ महिना पुगिसकेको थियो। तर सुमनले विवाह गर्न मानेनन्। यसले विमलालाई मानसिक तनाव हुन थाल्यो। परिवार र समाजलाई ढाँट्ने अवस्था भएन। समस्या कम हुने भन्दा पनि सिर्जनाका लागि झन् बोझिलो बन्दै गयो। जात नमिलेकै कारण प्रेम गरेपनि सुमन टाढिन अनेक बाहना बनाउँदै भाग्न खोजे।

पटकपटक विवाहका लागि अनुरोध गर्दा पनि सुमन नमानेपछि सिर्जनाले प्रहरीमा उजुरी गर्ने बताइन्। ‘प्रहरीमा उजुरी गर्छु भनेपछि विवाह गर्ने भन्दै सुमन सिर्जनालाई भेटन आए। भेट हुने बितिकै कुटपिट गरेछन्,’ सिर्जनासँगै कोठामा बस्ने नाताले ‘सोल्टिना’ पर्ने मञ्जु सुनारले भनिन्। विवाह गर्नुको साटो सुमनले उपचार गर्ने बाहनामा अस्पतालमा लगेर ८ महिनाको गर्भ तुहाइदिएको मञ्जुको भनाइ छ। ८ महिनाको गर्भ नै तुहाइदिएपछि सिर्जना मानसिक र शारीरिक रुपमा कमजोर बनिन्।

सँगै बाच्ने, सँगै जिउने कसम खाएको प्रेमीले उपचार गर्नुको सट्टा गर्भ नै तुहाइदिएपछि गत वर्ष फागुनमा अर्घाखाँची ठाडास्थित प्रहरीमा सुमनविरुद्ध उजुरी दिइन्। प्रहरीमा उजुरी परेपछि सुमनले विवाह गर्ने सर्तमा घटना मिलापत्रमा टुंगिएको मञ्जुले बताइन्।

फागुनको अन्तिममा प्रहरीसँगको मिलापत्रकै आधारमा चैत २ गते बुटवल मनकामना मन्दिरमा उनीहरूबीच विवाह भएको थियो। केटी पक्षबाट सिर्जनाकी सोल्टिना पर्ने मञ्जु मात्रै थिइन् भने केटाका तर्फबाट एक जना सुमनका साथी थिए। हिन्दूपरम्परा अनुसार नै विवाह भएको थियो।

 सुमन र सिर्जनाको विवाह।

विवाह भएपनि दलित भएका कारण उनले अर्घाखाँची घरमा भने लगनेन्। पहिल्यैदेखि सिर्जना बस्दै आएको बुटवल-६ पुरानो बसपार्क सौभाग्यनगरमै बस्ने निधो गरे। विवाह गरेकै भोलिपल्ट सुमन काठमाडौं गए। प्रहरीमा उजुरी परेकै कारण विवाहको नाटक मात्रै गरेको सिर्जनाका आफन्तको भनाइ छ। ‘बहिनीले पटकपटक घरमा लैजान भन्थिन्, तर ज्वाईं (सुमन)ले कहिल्यै लैजानुभएन,’ सिर्जनाकी दिदी दीपा सुनारले भनिन्। अन्तरजातीय प्रेमलाई सुमनले प्रहरीमा उजुरी परेकै कारण स्वीकार त गरे। तर, आत्मैदेखि भने स्वीकार गरेनन्।

सिर्जनाबाट अलग हुनकै लागि शारीरिक र मानसिक यातना दिएको ‘सुसाइड नोट’ लेख्दै २१ वर्षीय सिर्जनाले बिहीबार यो संसार त्यागिन्। बुटवल-६ पुरानो बसपार्क सौभाग्यनगरस्थित कोठा बन्द भएर चुन्नीको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

‘पटकपटक कुटपिट गर्ने, मानसिक र शारीरिक रूपमा यातना दिने गरेको सुसाइट नोटमा लेखिएको छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने। अन्तरजातीय विवाह भएको र केटाले घरसमेत नलगेकाले जातीय रूपमा केटा अलग हुन खोजेको देखिएको प्रहरीले जनाएको छ। ‘केही शंकास्पद र सुसाइड नोटसमेत देखिएकाले जातीय विभेद र आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको छ,’ प्रहरी नायब उपरीक्षक कुँवरले भने, ‘हामीले केटालाई नियन्त्रणमा लिइसकेका छौं। अनुसन्धान गरेर कारबाही गर्छौं।’

सुमनले दलित भएकै कारण स्वीकार गर्न नसक्दा विवाहपछि पनि ३ महिनाको गर्भ फेरि तुहाइदिएको मृतक सिर्जनाका दिदी दीपा सुनारले बताइन्। ‘विवाह भएपछि कहिल्यै बहिनीले सुख पाइन, सुमनले मरणासन्न हुने गरी कुटपिट गरेपछि एक महिनाअघि साइली बहिनीको घर बाँसगढी आएकी थिई,’ दिदी दीपाले भनिन्, ‘जातकै कारण सुमनले आफूबाट टाढा बनाउन बहिनीलाई मानसिक र शारीरिक यातना दियो। कानुन अनुसार कारबाही हुनुपर्छ।’

बहिनीलाई आत्महत्या गर्न बाध्य बनाएने सुमनमाथि हदैसम्मको कारबाही गर्न उनको माग छ। कपिलवस्तुस्थित नेपाली सेनामा कार्यरत आरोपित सुमन क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

सिर्जनाले अन्तरजातीय विवाहकै पृष्ठभूमिबाट शारीरिक र मानसिक यातना पाउदा ज्यान गुमाउनुपरेको संयुक्त दलित संघर्ष समितिका संयोजक हरिओम विश्वकर्माले बताए। उनले घटनाको अनुसन्धान गरी कारबाही गर्न माग गरे। ‘राजनीतिक परिवर्तन त भयो तर, सामाजिक परिवर्तन भएन,’ उनले भने।

सिर्जनाका दिदी रूपन्देही कञ्चन गाउँपालिका-१ कुचिरामा बस्ने दीपा सुनारले २३ वर्षीय सुमन क्षेत्रीविरुद्ध जातीय भेदभाव तथा आत्महत्या दुरुत्साहनको उजुरी दिएकी छन्। शुक्रबार उजुरी दर्ता गरेपछि शव पोस्टमार्टमपछि राती मात्रै अत्येष्टि गरिएको छ। मृतक सिर्जनाका ६ जना दिदीबहिनी छन्। बुवा भारत र आमा खाडीमा रोजगारीमा छन्।

यो समाचार नेपाल समयबाट सभार गरिएको हो 

प्रतिक्रिया दिनुहोस्