अर्घाखाँचीका किसान सुन्तला खेतीमा आकर्षित :गत वर्षमात्रै ३४ करोड रुपैयाँको सुन्तला उत्पादन

| २०७८ सावन १६ गते २०: २३ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीका किसान सुन्तला खेतीमा आकर्षित भएका छ्न। पछिल्लो समय अर्घाखाँची व्यावसायिक सुन्तला खेतीको ‘पकेट’ क्षेत्रको रुपमा विकास हुँदै गएको छ । अनुकूल वातावरण रहेकाले सुन्तला खेतीमा लागेका कृषकहरुको जीवनस्तर नै माथि उठ्न थालेको हो । 

यसअघि खाद्यान्न बालीमा मात्रै जोड दिँदै आएका अर्घाखाँचीका कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका हुन् । कम मिहिनेतमै अधिक उत्पादन गर्न सकिने भएपछि सुन्तला खेती किसानहरुको रोजाइमा पर्दै गएको हो । जिल्लामा कुल १६ सय हेक्टरमा खेती गरिएकामा गत वर्षमात्रै ३४ करोड रुपैयाँको सुन्तला उत्पादन भएको थियो । यो बर्ष झनै उत्पादन वृद्धि हुने किसानहरु बताउँछन्। जिल्लाको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिकाको पणेना हो । पणेनासँगै पटौटी, खिदिम, अर्घातोष, भगवती मरेङ, हंसपुरका साकिन्धारा, ढिकुरा, खाँचीकोटलाई सुन्तला खेतीको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ । ६ मुरी मकै पनि उत्पादन नहुने बारीमा अहिले सुन्तला खेती गर्दा ६ लाख रुपैयाँभन्दा बढीको आम्दानी गर्न सफल भएको पाणिनी गाउँपालिका सिम्लेक नारायणप्रसाद पौडेलको भनाइ छ ।
स्रोत - कृषि प्रेस वाट तस्बिर तथा जानकारी  - संजय गौतम,अर्घाखाँची

प्रतिक्रिया दिनुहोस्