सरकारले जनअपेक्षा अनुसार काम गर्न सक्दैन :एमाले नेता रायमाझी

| २०७८ भदौ १३ गते १७: ५६ मा प्रकाशित

शोभाखर पन्थी,अर्घाखाँची।पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने बताएका छन् । नेकपा एमाले सन्धिखर्कका उपलब्ध कार्यकर्तालाई सनिवार चुत्राबेसीमा सम्बोधन गर्दै उनले प्रमादेशबाट निर्मित वर्तमान सरकार अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप समेत लगाए । उनले अदालतले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत देउवालाई प्रधानमन्त्री बनाएर व्यवस्थापिका र कार्यपालिका माथि ठाडो हस्तक्षेप गरेको बताए । रायमाझीले अहिले मुलुकमा जनादेश माथि प्रमादेशले शासन गरेको भन्दै दलिय व्यवस्था माथि प्रहारगरी निर्दलिय व्यवस्थाको सुवात गरिएको धारणा समेत राखे ।

नेकपा एमाले स्थायी कमिटीका सदस्य समेत रहेका रायमाझीले नेकपा एमाले नफुटेको भन्दै केही साथीहरू चोईटिएर गएको बताए । लहलहैमा लागेर सिमित नेताहरू वाहिरीएको भएपनि आम कार्यकर्ता र जनताले नपत्याएको भन्दै उहाँले केही समयपछि पछुतो मान्दै पार्टीमा फर्कने दावी समेत गरे ।

अर्घाखाँची जिल्ला बाट लगातार ३ पटक सांसद जितेका पुर्व उपप्रधानमन्त्री रायमाझीले आफु मन्त्री , सांसद भएपनि नभए पनि जिल्लाको बिकासमा कमि आउन नदिने बताए । उनले अरुले ५० बर्षमा गर्न नसकेको काम १३ बर्षमा गरेर देखाएको दावी समेत गरे । उनले केही व्यक्तिहरुले कांग्रेसको सरकार आएपछि एयरपोर्टको कामले तिव्रता पाएको भन्दै जनतालाई दिग्भ्रमित पार्न खोजेको आरोप पनि लगाए । एयरपोर्ट निर्माणको लागि चैतमानै ठेक्का लागेको र नियमित प्रक्रिया अनुसार काम अगाडि बढेको उनको भनाई थियो । रायमाझीले कसैले चाहेर पनि जिल्लाको बिकास नरोकिने भन्दै आफुहरु निक्कै चनाखो भएर लाग्ने समेत बताए । जिल्लाको विकास रोक्ने ,बजेट कटौती गर्ने गरिए जनता चुप लागेर नबस्ने समेत चेतावनी समेत दिए ।

कार्यक्रममा प्रदेशसभाका सदस्य रामजी प्रसाद घिमिरे , नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जनार्दन खनाल,जिल्ला कमिटीका सहसंयोजक पिताम्वर भुसाल ,सन्धिखर्क नगरकमिटीका ईन्चार्ज युवराज श्रेष्ठ, नेकपा एमालेका युवा नेता लिला जिसीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्