अर्घाखाँचीका गिरिधारीलाल ३० वर्ष मसाल, १० वर्ष माओवादी, बुढेसकालमा एमाले

| २०७८ माघ १० गते १४: ४१ मा प्रकाशित

अर्घाखाँची। नेपालमा कम्युनिस्ट पार्टी जन्मेको ७२ वर्ष पुगेको छ । अर्घाखाँचीमा जन्मेका गिरिधारीलाल न्यौपाने कम्युनिस्ट पार्टीमा लागेको चार दशक बितेको छ । यसबीचमा ३० वर्षसम्म नेकपा (मसाल) मा लागेर जीवनको आधा बसन्त बिताएका न्यौपाने मसालको पुरानो घर छाडेर १० वर्ष माओवादी बने ।

अहिले उनी केपी ओली नेतृत्वको नेकपा एमालेको केन्द्रीय कमिटीमा आवद्ध छन् । उनले लुम्बिनी प्रदेश एवं कपिलवस्तु जिल्लामा पार्टीको जिम्मेवारी सम्हालिरहेका छन् ।

किशोरावस्थामै न्यौपाने अर्घाचाँचीबाट भारततिर भासिए । महाजनका घरमा भाँडा माझेर, लुगा धोएर बसे । यही सिलसिलामा मोहन विक्रम सिंह नेतृत्वको प्रवासी संगठन ‘नेपाली एकता समाज’ सँग उनको सम्पर्क भयो । त्यसयता ३० वर्षसम्म उनले नेकपा मसालमा बिताए । मसाल छाडेर माओवादीमा लाग्दै गर्दा उनी चित्रबहादुर केसी नेतृत्वको पार्टीको पोलिटब्यूरो सदस्य थिए ।

४० वर्षमा न्यौपानेको जीवनमा धेरै परिवर्तन आयो । छोराछोरीले आफूलेजस्तो मजदुरी गर्नुपरेन । उनले आफूलाई डाक्टरका पिता भन्न पाएका छन् । चीन, अमेरिका लगायत विदेशतिरको विकास र समृद्धि आफ्नै आँखाले देख्न पाएका छन् ।

तर, बुढेसकालमा आफैंले ३० वर्षसम्म गोडमेल गरेको पार्टी छाड्दै ‘अरुका घरको तिहुन चाख्दै’ हिँड्नुपरेको छ । आखिर किन नेपालका कम्युनिस्ट नेताहरुले यसरी यसरी दल बदल गर्नुपरेको होला ?

न्यौपानेको समूहलाई अहिले नेकपा एमालेभित्र ‘पूर्वमाओवादी समूह’ भनेर चिनिन्छ । एमालेभित्रको यो समूहमा उनीसहित रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायत छन् । प्रभु साह भने एमाले छाड्ने तयारीमा छन् ।

माओ विचारधारा र माओवाद मान्ने चौथो महाधिवेशन (चौम) स्कुलिङका नेताहरु एमालेमा लाग्नु दक्षिणपन्थी रोजाइ भएन र ? यो प्रश्नमा एमाले नेता न्यौपानेको दाबी चाहिँ के छ भने प्रचण्डजसरी शेरबहादुर देउवातिर जानुभन्दा ओलीतिरै जानु ठीक छ । उनी भन्छन्– ओली र देउवाको तुलना हुन सक्दैन ।स्रोत - badimalika.com 

प्रतिक्रिया दिनुहोस्