राष्ट्रिय जनमोर्चाबारे एमालेले गर्यो अर्घाखाँचीमा झुटो प्रचार

| २०७८ माघ १६ गते १६: १६ मा प्रकाशित

सन्धिखर्क । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं. १ निवासी राष्ट्रिय जनमोर्चा नेता तथा समर्थकले आफूहरूलाई एमाले प्रवेश गरेको भनी गलत र तथ्यहीन प्रचार गरेको आरोप लगाउँदै आफूहरू जन्मदेखि नै राष्ट्रिय जनमोर्चाको नीतिलाई अङ्गिकार गर्दै आएको र भोलिका दिनमा पनि राष्ट्रिय जनमोर्चामा बसेर काम गर्ने बताएका छन् ।

‘माघ १५ गते मात्रै राष्ट्रिय जनमोर्चा परित्याग गरी एमालेमा प्रवेश गरेको हल्ला र विभिन्न अनलाइनमा आएको समाचारको खण्डन गर्दै यी भ्रामक र तथ्यहीन आरोपको पछि नलाग्न हामीहरू विनम्र अनुरोध गर्दछौँ’ उनीहरूले भनेका छन् ।

यसरी आफ्नो भनाइ प्रस्तुत गर्नेहरूमा भूमिकास्थान–१ राजिमे निवासी पदम राना, ओखटे निवासी ज्ञानप्रसाद खनाल, चेतनारायण खनाल, माधव खनाल र नारायण खनाल हुनुहुन्छ ।

गत तीन वर्षदेखि दुबईमा नोकरी गर्दै आउनुभएका अर्घाखाँची जिल्ला भूमिकास्थान–१ राजिमे निवासी पदम रानाका छोरा प्रकाश राना हाल पनि दुबईमा रहनुहुन्छ । उहाँलाई समेत उपस्थिति जनाई एमाले प्रवेश गरेको भनी झुट कुरा प्रस्तुत गरेको छ ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल र भूमिकास्थान नगर सदस्य भोजराज खनालले एमालेलाई राजनीतिक इमानदारिता देखाउन आग्रहसमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्