पर्यटकीय स्थल बन्दै नरपानी

| २०७८ माघ १६ गते १६: ५० मा प्रकाशित

प्रेमनारायाण आचार्य,सन्धिखर्क। नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ। यहाँबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्यहरु देख्न पाइने हुँदा तराइबाट धेरै पर्यटक आउने गर्छन। यहाँ भारतबाट आउने पर्यटकको संख्यापनि बृद्धि भएको छ।  

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानीलाई प्रमुख पर्यटकीय स्थलकोरुपमा विकास गर्न सन्धिखर्क नगरपालिका लागि परेको छ। नरपानीमा गंगा सरोवर नामको पोखरीको मर्मत तथा सम्भार गरी डुंगा सञ्चालन तथा पर्यटकीय स्थलकोरुपमा विकास गर्न पूर्वाधार निर्माणका कार्यहरु भैरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए। 

पिकनिक स्थलकोरुपमा विकसित हुँदै गएको यस क्षेत्रमा कपिलबस्तु, रुपन्देही, दांग, नवलपरासी, बाके र बर्दियाबाट दैनिकरुपमा हजारौ मानिसहरु आउने गरेका छन्। गएको वर्ष देखि दैनिक रुपमा १० देखि ५० वटा ग्रुपहरु आउने गर्दछन। शनिबारको दिन यहाँ झण्डै २० देखि ६० समूहरु आउने गरेका छन्। महेन्द्र राजमार्गको कपिलबस्तु गोरुसिंगेबाट ५० किलोमिटरको दुरीमा नरपानीमा आउन सकिन्छ। गोरुसिंगे सनिधखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरु बढी आउने गरेका छन। यस क्षेत्रमा आउने पर्यटकहरुलाई डुंगा सवारकोसमेत ब्यबस्था मिलाउने गरी काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाई छ। 

सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठा, पाठी चढाउन आउने र देउरालीमा चढाएका पाठा, पाठीहरु लिएर नरपानीमा वनभोज जस्तै गरी खाने गर्दछन। यहाँ वरिपरि हरियाली डाँडा छ। बीचमा समथर भूभाग पनि रहेको छ। भविष्यमा पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको छ। 

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ। यहाँ राष्ट्रिय, अन्र्तराष्ट्रिय क्षेत्रमा ठूलो ओदामा पुगेका व्यक्ति समेतले दर्शन गर्छन। कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाक्कल गरे समस्या टर्ने विश्वास छ। त्यसैले यहाँ पाठी, बोका, भाकलगरी बलि चढाइन्छ। 

प्रतिक्रिया दिनुहोस्