कार्यकर्ता तान्ने होडमा अर्घाखाँचीका दल

| २०७८ माघ २३ गते १८: ३० मा प्रकाशित

बिरेन्द्र केसी ,अर्घाखाँची। जिल्लामा कांग्रेससहित सत्ताधारी दल र प्रतिपक्ष एमालेका नेताहरू निर्वाचन केन्द्रित गतिविधिमा आक्रामक ढंगले जुटेका छन् । अहिले उनीहरू घरदैलो गर्दै एकले अर्काका कार्यकर्तालाई तान्ने होडबाजीमा छन् ।

पहिलो संविधानसभादेखि लगातार चुनाव जित्दै आएका एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी आफ्नो विरासत जोगाउन दुई सातादेखि घरदैलो गर्दै हिँडेका छन् । कांग्रेससहित ५ दलीय गठबन्धनका नेताहरू विरासत तोड्ने कसरतमा छन् । माओवादीबाट चुनाव जित्दै आएका रायमाझी नेकपा विभाजनपछि एमालेतिर लागे । रायमाझीतिर जिल्ला नेता चन्द्रबहादुर खड्कासहित केही नेता लागे पनि कार्यकर्ताले माओवादी छाड्न मानेनन् । जनयुद्धदेखि लामो समय आफूलाई साथ दिएका गाउँका माओवादी कार्यकर्ता फकाउन उनी अहिले गाउँ डुलेका हुन् । माओवादी नेतृत्वमा राजनीतिक विचलन आएको, अब माओवादी पार्टीको भविष्य नरहेकाले आफू एमालेतिर लागेको भन्दै एमालेमा आएर आफूलाई साथ दिन उनले अनुरोध गर्दै छन् ।


धारापानीमा माओवादी र राजमोका कार्यकर्ता एमालेमा भित्राउदै एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य चन्दबहादुर खड्क, जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायत ।

मालारानी गाउँपालिका–३ का रोमाहर्ष खनालसहित ४५ जना, धारापानी ढाकावाङमा जनमोर्चा र माओवादी कार्यकर्ता गरी ९० जनालाई रायमाझीले एमालेमा भित्र्याएका छन् । गठबन्धन कायम रहेमा जित्न कठिन हुने भन्दै मन्त्री भएका बेला विकास निर्माणका काम गरेको बताउँदै चुनावमा सहयोग गर्न उनले स्थानीयलाई अनुरोध गरेका छन् । यतिबेला जिल्लामा पार्टी प्रवेश गराउने र आफूतिर तान्ने लहड नै चलेको छ । एमाले र कांग्रेसका नेताहरू गाउँ डुल्दै स्थानीयलाई आफूतिर आउन आग्रह गरिरहेका छन् ।

गठबन्धन कायम रहेमा एक निर्वाचन क्षेत्र रहेको संघीय उम्मेदवारको भाग आफूलाई पर्नेमा कांग्रेस ढुक्क छ । गठबन्धन नभए पनि यसपालिको चुनावमा रायमाझीलाई जित्नुपर्ने भन्दै गाउँमा पुगेर टोल समिति गठन, विकासका गुनासा सुन्ने, छलफल गर्ने काम कांग्रेस कार्यकर्ताले गरिरहेका छन् । ‘कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ता एमालेतिर प्रवेश गर्नेको लहर नै चलेको छ,’ एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज चेतनारायण आचार्यले भने, ‘संघीय सांसदको उम्मेदवार एमालेबाट रायमाझी हुन् । गठबन्धन भए पनि चुनाव सजिलै जित्छौं ।’

एमालेबाट निर्वाचित पाणिनि गाउपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई कांग्रेसमा भित्राउदै केन्द्रीय महामन्त्री गगन थापा, जिल्ला सचिव अच्युत गौतम लगायत ।
रायमाझी ०७४ सालको संसदीय निर्वाचनमा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको ‘वाम गठबन्धन’ हुँदा कांग्रेसका डा. रामबहादुर बीसीलाई १८ हजार ४ सय ४४ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । समानुपातिकमा एमाले पहिलो दल बनेको थियो । एमालेले ३० हजार ४ सय १७, कांग्रेसले २८ हजार ३ सय ६९, माओवादीले १४ हजार ९ सय ६२ र राजमोले ४ हजार ७१ मत पाएका थिए ।

रायमाझी, खड्कासहितका पूर्वमाओवादी नेताहरू वर्तमान माओवादी कार्यकर्ता तान्न र एमाले नेताहरू समाजवादीमा जानबाट रोक्न सक्रिय छन् । ‘अब माओवादीको कुनै भविष्य छैन, खुद्रा पसल धेरै दिन टिक्दैन,’ धारापानीको पार्टी प्रवेश कार्यक्रममा रायमाझीले भने, ‘कम्युनिस्ट पार्टीको मूल नेतृत्व एमालेले नै गर्छ । अन्य कम्युनिस्ट पार्टीका सबै कार्यकर्ता एमालेमा आउनूस् ।’

महिना दिनअघि कांग्रेसले केन्द्रीय महामन्त्री गगन थापालाई बोलाएर एमालेबाट निर्वाचित पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित ५ सय कम्युनिस्ट कार्यकर्तालाई कांग्रेसमा भित्र्याएपछि रायमाझी झस्किएका छन् । यतिबेला कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णुप्रसाद खनाल, जिल्ला सभापति केशव श्रेष्ठसहितका कांग्रेस नेता गाउँ डुल्दै पार्टी प्रवेश गराउने काम गरिरहेका छन् ।

 कांग्रेसका तर्फबाट खनाललाई रायमाझीसँग भिड्ने उम्मेदवारका रूपमा अधिकांश कांग्रेस कार्यकर्ताले हेरेका छन् । उनी कार्यकर्ता र जिल्लावासीमा लोकप्रिय छन् । सह–महामन्त्री खनालले संघीय निर्वाचनमा पार्टीले अघि सारे आफू चुनाव लड्ने बताए । ‘गठबन्धन भएमा भारी मत हुन्छ,’ उनले भने, ‘नभए पनि कांग्रेसले एक्लै चुनाव जित्छ ।’ केन्द्रीय सदस्य पुष्पा भुसाल र नेता रेवतीप्रसाद भुसाल, डा. रामबहादुर बिसीले उम्मेदवारबारे मुख खोलेका छैनन् ।

संसदीय चुनाव जित्न जेठमा हुने भनिएको स्थानीय तहको चुनावमा पालिका र वडा तहमा आफ्नो उपस्थिति बलियो देखाउन कांग्रेस र एमाले आक्रामक रूपमा लागेका छन् । गत स्थानीय चुनावमा जिल्लाका ६ स्थानीय तहमध्ये चारमा कांग्रेस र माओवादी तालमेल गरेर लडेका थिए । मालारानी गाउँपालिकामा एमालेले जितेको थियो । सन्धिखर्क, भूमिकास्थान र सितगंगा नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनले चुनाव जितेको थियो ।

पाँच दलीय शीर्ष नेताले गठबन्धन चुनावसम्मै कायम रहने भन्ने उद्घोष गरेकाले जिल्लाका स्थानीय तहमा गठबन्धन हुनेमा सत्ताधारी दलका कार्यकर्ता विश्वस्त छन् । माओवादी, राजमो र नेकपा एस संघीय सांसदको उम्मेदवार कांग्रेसकै हुनेमा सहमत छन् । ‘गठबन्धन कायम गरेर जिल्लामा एमालेको विपक्षमा सबै एक भएर चुनाव लड्नुपर्छ,’ माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुरकुमार विकले भने, ‘केन्द्रमा कांग्रेस र प्रदेशमा हामी मिलेरै चुनाव लड्ने हो । धोका दिएर प्रतिगमनतिर लागेका रायमाझीलाई हराउन हामी सबै एकढिक्का हुनुपर्छ ।’

नेकपा एसका जिल्ला अध्यक्ष रामबहादुर चौहानले ६ वटै पालिकाको वडा तहसम्मै कमिटी गठन गर्दै एमाले कार्यकर्तालाई आफूतिर तान्ने कसरत गरिरहेको बताए । माओवादी भने आन्दोलनलाई धोका दिएर एमालेतिर गएका रायमाझीतिर जानबाट आफ्ना कार्यकर्तालाई जोगाउने दौडधुपमा छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्