अर्घाखाँचीमा आफन्तबाटै बालिका असुरक्षित

| २०७८ चैत १८ गते १३: ५३ मा प्रकाशित

प्रेमनारायाण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीको मालारानी गाउँपालिकामा आफ्नै विद्यार्थी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षकलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत अर्घाखाँचीले आदेश दिएको छ ।  मालारानी गाउँपालिकामा घर भएका २७ वर्षीय शिक्षकले आफ्नै विद्यार्थीलाई पटकपटक जबरजस्ती करणी गरेको उजुरी परेपछि शिक्षकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। 

यस आर्थिक वर्षमा जबरजस्ती रकणीका ३, जबरजस्ती करणी उद्योगका २, बाल यौन दुरुपयोगको १ गरी जम्मा ६ मुद्दा जबरजस्ती करणीसम्बन्धी दर्ता भएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जबरजस्ती करणीबाट गर्भ रहेपछि १४ हप्ताको गर्भपतन समेत गराएको अनुसन्धानबाट खुल्न आएपछि अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले बताए । गएको पुस १९ गते साँझ ६ बजेतिर घर नजिकैको जंगलमा नोट कपी दिने बहानामा बालिकालाई बोलाइ जबरजस्ती करणी गरेको र त्यसपछि पटकपटक करणी गर्ने गरेको बालिकाले बयानमा भनेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

यस्तै, जिल्लाकै पाणिनि गाउँपालिकामा आफ्नै बावुले १३ वर्षीय छोरीलाई जबरजस्ती करणी गरे । आफ्नै बावुले काखमा राखि स्तन समाउने, सुमसुमाउने, स्तन चुस्ने, योनी चलाउने, योनीभित्र औंला राख्ने जस्ता व्यवहोरा जाहेरी परेको प्रहरीको भनाइ छ । जाहेरी पछि निजका बावुलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीमा मुद्धा चलान गरी पुर्पक्षका लागि थुनामा छन् ।

यी त प्रतिनिधि घटना मात्र हुन्। पछिल्लो समय अर्घाखाँचीमा आफन्तबाट नै बालिकाहरु असुरक्षित हुने गरेको पाइएको छ। आफ्नै शिक्षक र आफ्नै बावुबाट उनीहरु बलात्कृत हुँदै आएका छन्।  विद्यालय पठाएका छोरीहरु  शिक्षक तथा गुरुहरुबाट असुरक्षित हुन थालेपछि अभिभावक चिन्तित छन्। कोही शिक्षकबाट त कोही जन्मे दिने बावुबाटै बलात्कार हुन थालेपछि किशोरीहरु असुरक्षित महशुस गर्न थालेका छन्।

यसै आर्थिक वर्षमा सन्धिखर्क नगरपालिकामा नाताले दाजु पर्ने १३ वर्षीय बालकले ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरे । हाडनाताभित्र जबरजस्ती करणी गरेको र जबरजस्ती करणी गर्ने बालक समेत नाबालक भएकाले जिल्ला अदालतमा मुद्धा दायर भएकोमा अदालतले संरक्षकको जिम्मा लगाइ तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । 

यस आर्थिक वर्षमा जबरजस्ती रकणीका ३, जबरजस्ती करणी उद्योगका २, बाल यौन दुरुपयोगको १ गरी जम्मा ६ मुद्दा जबरजस्ती करणीसम्बन्धी दर्ता भएको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। मुद्दा दर्ता संख्यामा कमी आएपनि जबरजस्ती करणीको प्रकृति अत्यन्तै भयानक रहेको प्रहरीले जनाएको छ । आफन्तबाटै असुरक्षित भएपछि बालिकाहरुको संरक्षण कसरी गर्ने भन्नेमा अभिभावकहरु चिन्तित छन् । 
विद्यालयमा पढ्ने बालिका घरमा रहेका छोरी मात्र हैनन् सुस्थमनस्थितिका बालिका समेत असुरक्षित रहेका छन् ।

मालारानी गाउँपालिकामा १७ वर्षीय सुस्थ मनस्थितिकी बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने ३० वर्षीय पुरुषलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीमा मुद्धा दायर भएकोमा पुर्पक्षका लागि थुनामा पठाउने फैसला गरेको छ । 

प्रतिक्रिया दिनुहोस्